२०८३ वैशाख १ मङ्गलबार
बिहान ३ः०० बजे निद्रा खुल्यो । एकछिन अझै सुतूँ जस्तो पनि लागेको थियो तर मन मानेन । हाम्रो यात्रादलका संयोजक इन्द्रविलास अधिकारीले अघिल्लो साँझ ६ः०० बजेतिर फोन गरेर “भोलि बिहान सबेरै ५ः०० बजे हिँड्ने हो, तयार भएर बस्नुहोला” भन्ने सूचना गर्नुभएको थियो । कतै जानु छ भनेपछि मन यसै पनि आत्तिन्छ । तसर्थ उठेँ र विजयालाई पनि उठाएँ । त्यसपछि हामी तयारीमा जुट्न थाल्यौँ । ४ः१५ मा इन्द्रजीको फोन आयो । “हामी उठिसक्यौँ, समयमै तयार भएर बस्छौँ,” मैले उत्तर दिएँ ।
“सवारीसाधन समयमै आइनपुगेको हुनाले थोरै ढिलो हुन गयो,” आउँदाआउँदै सुप्रभाती अभिवादनसँगै इन्द्रजीले भन्नुभयो । उहाँकी जहान मुमिना अधिकारीसँगै हुनुहुन्थ्यो । हामी घरबाट निस्कँदा धरतीमा उज्यालो खसिसकेको थियो । बाहिर चोकमा पुगेपछि सहयात्री साथीहरू सञ्जीव ढकाल र कल्पना ढकालसित भेट भयो । अभिवादन साटासाटपछि हामी चढेको स्कोर्पियोे बिस्तारै अघि बढ्यो । राममन्दिर कटेपछि हाम्रा अर्का सहयात्री चण्डीराज ढकाल र सावित्री ढकालसमेत आएपछि आठ जनाको यात्रादलले पूर्णता पायो । यसरी नयाँ वर्ष–२०८३ लाई स्वागत गर्दै हामी गन्तव्य गोर्खा दरबार हुँदै घलेगाउँको यात्रातर्फ रमाना भयौँ ।
हाम्रा सारथि प्रेम मगरले सीतापाइलाबाट स्टेरिङ दाहिने मोडेर भीमढुङ्गा हुँदै रामकोटतिर उकालो लैजानुभयो । स्विट्जरल्यान्ड पार्कलाई बायाँतिर पारेर दहचोकको घाँचैघाँच अनेक कुइनेटा र खोल्साखोल्सी पार गर्दै भुवनेश्वरी माध्यमिक विद्यालय धुनीबेँसीको पुछारतिरबाट अगाडि बढेपछि पुरानो धार्केको कुइनेटोमा एकछिन राकियौँ । त्यहाँ दीपक सुवाल नाम गरेका एक जना स्थानीय युवकसित भेट भयो । मलाई उहाँसित एकछिन कुरा गर्ने संयोग मिल्यो । उहाँले यो ठाउँ बागलुङ, पर्वत, स्याङ्जा, कास्की, तनहुँ, मनाङ, गोर्खा, धादिङ आदि पश्चिमका पहाडी जिल्लाबाट काठमाडौँ ओहोरदोहोर गर्ने पुरानो बाटो रहेको बताउनुभयो ।
पारि इँटा कारखानाका अग्ला चिम्नी र तिनबाट अविरल गतिमा बाहिर निस्किइरहेको कालो धुवाँले धुनिबेँसीको आकाशलाई प्रदूषित गरिरहेको सहजै देख्न सकिन्थ्यो । पुरानो नाकाको यस कुइनेटोमा पाँच÷सात मिनेट समय बिताएपछि हामी नौबिसेखोलाको पुल तरेर नयाँ धार्के निस्कियौँ । त्यसपछि हाम्रो वाहन फराकिलो निर्माणाधीन राजमार्गमा तीव्र गतिमा लगातार गुड्न थाल्यो । गल्छी पुगेपछि ‘टी ब्रेक’ का लागि आधा घण्टा जति समय त्यहाँ रोकियौँ । यसो हेर्दा मामुली जस्तो देखिने पसलका साहुले निकै मेहनत गरेर मसिनले पेलेको निकै मिठो चिया र कफी खुवाउनुभयो तर त्यहाँको ट्वाइलेटको दुर्दशा चाहिँ बयान गरिनसक्नु रहेछ । लघुशङ्का निवारण गर्न निस्केका चण्डीराज र मैले जङ्गलमुनि रहेको खोलाकिनारमा नलुकी सुखै पाएनौँ ।
यात्रामा समय कटाउन र चालक ननिदाऊन् भन्ने हेतुले सजग गराउन हामीले अनेक तरहका फुर्का जोड्दै निरन्तर गफ गरिरह्यौँ । यसरी रफ्तारमा कुदेको हाम्रो वाहनले हामीलाई पौने १२ बजेतिर गोर्खा दरबारको फेदीमा पुर्याएर उतार्यो । त्यसपछि सुरु भए हाम्रा सकसका घडी । ठाडो उकालो, कतै बाक्ला ढुङ्गा र कतै सिमेन्टका ढलाने सिँढी, माथि कालिका मन्दिर र पुरानो दरबार पुग्नै लाग्दा त लिस्नु चढे जस्तो लाग्यो । छेउतिर स्टिलको रेलिङ भएको हुनाले अशक्तलाई केही राहत पनि दिएको थियो त्यसले ।
आफ्ना लागि सडक किनारका पसलमा भनेर मैले एउटा लौरोको व्यवस्था मिलाएँ र विस्तारै कदम अघि बढाएँ । सञ्जीव ढकाल, चण्डीराज ढकाल र इन्द्रविलास अधिकारी अघि गइसक्नुभएको थियो । म मन्द गतिमा कदम चाल्दै माथितिर लागिरहेको थिएँ । एउटा फराकिलो सिँढीमा उभिएर माथितिर हेरेँ, लाइन निकै तलदेखि माथिसम्मै अटुट देखियो ।
लौरोको सहारामा म विस्तारै अघि बढिरहेको देखेपछि माथि पुगिसकेका इन्द्रविलासजी पुनः फर्केर आउनुभयो र मसँगै विस्तारै हिँड्नुभयो । मानिसको लामो लस्कर भए पनि कुनै अवरोध बिना सरासर उकालो लाग्यौँ । हातको लौरो र मेरो अनुहारमा झल्केको उमेरको पदचापले हाम्रो सोझो बाटो निर्माण गरेका थिए । माथि गोर्खा दरबारपरिसरमा पश्चिमतिर गोर्खाकालिका मन्दिर र पूर्वतिर पृथ्वीनारायण शाह जन्मेको घर छ । दुवै ठाउँमा त्यहाँ ड्युटीमा तैनाथ सुरक्षाकर्मीले पनि “यता आउनोस् बुवा, विस्तारै आउनोस्” भनेर हामीप्रति सद्भाव देखाइरहनुभएको थियो । अरू यात्रीले पनि हामीप्रति त्यसरी नै आदरभाव प्रदर्शन गरिरहेको पाइन्थ्यो । यस्तो आत्मीयतापूर्ण हाम्रो संस्कृतिको सुन्दर पक्ष देखेर म आफैँ प्रफुल्ल भएको थिएँ ।
इन्द्रजी र म फर्केर आउँदै गर्दा हाम्रा सहयात्री साथीहरू लाइन लागेर माथितिर जान प्रयत्न गरिरहेको देखियो । जुत्ता राखेको ठाउँमा पुगेर मलाई “जाँदै गर्नोस्, म साथीलाई लिएर आउँछु” भन्दै उहाँ फेरि उकालो लाग्नुभयो । “हुन्छ” भनेर म बिस्तारै हिँड्न थालेँ । समय घर्कन लागेकाले अब बाटामा आउने र जाने मानिसको पातलो आवादी मात्र थियो । माथिबाट देखिने गोर्खा बजारको दृश्य हेर्दै म तल झर्दै थिएँ, साथीहरूले मलाई केही बेरमै भेट्टाइहाल्नुभयो । साढे १ बजेतिर हामी होटेल गोर्खा बिसौनीमा पुग्यौँ । आधा घण्टाजति रोकिएपछि त्यहाँ खाना खाएर लमजुङ जाने बाटोतिर सोझियौँ ।
बाह्रकिलो भन्ने स्थानमा पुगेपछि हाम्रो वाहनका चालक प्रेम मगरले स्थानीय पसलेहरूसित बाटाका विषयमा सोधपुछ गर्नुभयो । त्यहाँबाट फर्केपछि हाम्रो गाडी दाहिनेतिर मोडिएर दरौँदी कोरिडोरबाट अघि बढ्यो । प्रकृतिमा हरियाली छाएको छ । ठाउँ ठाउँमा सानाठुला सुन्दर घरखेत, बारीबगैँचा, स्वास्थ्य केन्द्र, व्यापारिक केन्द्र र पार्क हेर्दै आनन्द मुद्रामा हामी यसै प्रफुल्ल भएका छौँ । एकछिनपछि गोर्खाको विशाल अन्नभण्डार छेपेटार कटेर माथितिर लाग्यौँ । दरौँदी पुल तरेपछि अलिकति उकालो चढेर फेरि सरल र सहज बाटोबाट लुइँटेलगाउँ, ठाँटीपोखरी, पालुङटार आदि हुँदै चेपे नदीमाथिको पुल तरेपछि लमजुङतिर लाग्यौँ ।
धमिलीकुवा, गौलीटार हर्राबोट, पाउँदी, बलथुम, उदीपुर आदि गाउँका सुन्दर हराभरा दृश्य अवलोकन गर्दै भोटेओडारतिर लागेर हामीले बेँसीसहरको बाटो समात्यौँ । आज बेलुकीको हाम्रो बास घलेगाउँको एक होटेलमा तय भएको थियो । दिउँसो ‘घलेगाउँ कटेज रिसोर्ट’ का सञ्चालक मखबहादुर गुरुङलाई फोन गरेर बासको व्यवस्था मिलाइसकेका थियौँ । बेँसीसहरबाट मोडिएर घलेगाउँको तेर्पाएँ उकालो बाटो समातेपछि हामीले होटेलवाला साहुलाई फेरि फोन सम्पर्क ग-यौँ । “छिटो गरेर आउनुहोला । तपाईंहरूलाई यस्तै डेढ घण्टाजति लाग्छ,” उहाँ भन्दै हुनुहुन्थ्यो । हामी बेँसीसहरबाट घलेगाउँतिर उकालो लाग्दा मैले हातको घडी हेरेँ, त्यतिबेला अपराह्न सवा ५ बजेको थियो ।
बेँसीसहरलाई दाहिनेतिर छाडेर हाम्रो स्कोर्पियो देब्रे मोडियो र भर्खरै फिनिसिङ पूरा भए जस्तो लाग्ने कालो नागबेली सडकका साँगुरा घुम्ती र मोड पार गर्दै निरन्तर अघि बढ्न थाल्यो । १५/२० मिनेटजति पर पुगिसकेपछि हामीमध्येकै एक सहयात्रीले भनेको सुनियो, “आहा ! क्या राम्रो सडक रहेछ ।” आवाज मुखबाट खस्न पाउँदानपाउँदै पिच सडक तुरियो र हामी फेरि ग्राभेल सडकमा घन्च्याङमन्च्याङ गर्दै अगाडि घस्रन थाल्यौँ । दाहिनेतिर किञ्चित भिरालोमा फैलिएको बेँसीसहरको दृश्य पहाडको छाती खोपेर निर्माण गरिएको जङ्गलबिचको यो बाटोबाट निकै सुन्दर र मनमोहक देखिन्थ्यो । अगाडितिर जङ्गलको बिचबाट पहराका छेउ छेउ खोल्साखोल्सीका सानाठुला घुम्ती र मोड छिचोलेर धरतीमा अँध्यारो खस्ने बेलामा हामीले यो साहसी यात्राको तीन चौथाइ भाग पार गरिसकेका थियौँ । जति जति साँझ छिप्पिँदै गयो, त्यति त्यति पानी पर्ने क्रम पनि बढ्न थाल्यो । हामी घलेगाउँको प्रवेशद्वारभित्र पुग्दा ठिक पौने ७ बजेको थियो ।
घलेगाउँ होमस्टेको कार्यालय खुलै थियो । हामी त्यहीँ गएर आफूहरूले ‘बुकिङ’ गरेको होटेलबारे सोधपुछ गर्यौँ । त्यहीबिचमा हाम्रा घरबेटी मखबहादुर हामीलाई खोज्दै अफिसमा आइपुग्नुभयो । बल्ल हामी ढुक्क भएर उहाँको अगुवाइमा घरतिर लाग्यौँ । अघि मैले होटेल भने पनि खासमा यो होटेलको रूपमा ढालिएको उहाँको घर रहेछ । मूलबाटोबाट यस्तै पाँच मिटर जति यामानका ढुङ्गा चिढेर निर्माण गरिएको अपरिष्कृत ठाडो सिँढीको बाटोबाट माथि डिलमा पुगेपछि नकुँदिएका ढुङ्गा बिछ्याइएको बाटो पार गरेर माथितिर लाग्दै वासस्थानको आँगन टेक्न पुग्यौँ । फराकिलो आँगनको दाहिनेतिर एउटा दुईपाखे सानो घर र उत्तरतिर बिचमा कोरिडोर भएको अर्को ठुलो घर । हाम्रा घरधनी मखबहादुरले हामीलाई त्यही ठुलो घरतिर लिएर जानुभयो ।
बिचमा बैठक कम डाइनिङ कोठा, सोझै अगाडि भान्सा । दायाँबायाँ जोडिएको बाथरुमसहितका चार कोठा । हामीले आआफ्ना कोठामा लगेज थन्क्यायौँ र फ्रेस भइवरि बैठकमा जम्मा भयौँ । बाहिर सिमसिम पानी परिरहेको थियो र अगाडिपट्टि समुद्री सतहबाट २१ सय मिटरको उचाइमा अवस्थित स्मार्ट घलेगाउँ होमस्टे झिलिमिली बिजुलीबत्तीको उज्यालोमा नुहाएर रातको मधुरो प्रकाशमा मुस्कुराइरहेको थियो । त्यसपछि हाम्रा घरबेटीले हामीलाई घलेगाउँ होमस्टेको कथा सङ्क्षेपमा सुनाउनुभयो । अहिले आधुनिक सुखसुविधाले सम्पन्न यस कार्यका स्वप्नद्रष्टा हुनुहुन्थ्यो– प्रेम घले । उहाँकै अगुवाइमा सर्वप्रथम २०५६ साल चैत २० देखि छ वटा घरबाट सुरु गरिएको होमस्टे यतिबेला यहाँका लगभग सबै जसो घरमा सञ्चालित छ ।
२०८३ वैशाख २ बुधबार
बिहान सदा झैँ सबेरै निद्राले छोड्यो । तातोपानी लिन मझेरीमा गएँ र गिलासमा तातोपानी भरेर फर्किएँ । ६ बजेसम्म त हामी सबै पूर्ण रूपमा तयार भइसकेका थियौँ । कालो चिया पिएर घुमफिरका लागि बाहिरतिर निस्कियौँ । मैले देखेँ– उत्तरतिर बादलको पछ्यौरी पन्छाएर अन्नपूर्णा हिमाल भर्खरै त्यसको चुचुरामा परेको सूर्यको पहिलो प्रकाशमा नुहाएर मुस्कुराइरहेको छ । म सानो छँदा त्यो मेरो जन्मभूमि फल्याङकोटबाट पनि बिहान सबेरै घामको पहिलो झुल्कोमा ठिक यस्तै आजको जस्तै स्निग्ध, सफा र सुन्दर देखिन्थ्यो । विगततिर फर्केर हेर्दा बालककालको स्मृतिमा डुबेर त्यसैको नोस्टाल्जियाले वशीभूत भएको म, अहिले पनि त्यसको त्यो सुन्दर रूपमा मुग्ध हुँदै एकछिनसम्म यत्तिकै कतै हराउन पुगेछु ।
हाम्रा टोली संयोजक इन्द्रविलास अधिकारीले तल सडकमा पुगेपछि भुजुङ जाने प्रस्ताव राख्नुभयो । त्यसपछि चालकलाई बोलाएर भुजुङका लागि प्रस्थान ग-यौँ । घलेगाउँबाट उत्तरतिर पर्ने भुजुङ जान निर्माणाधीन सडक समातेर प्रस्थान गर्यौँ । घलेगाउँबाट उत्तरतिर पर्ने यो गाउँ, धेरै उचाइमा रहेको घलेगाउँको थुम्कोबाट निकै तल तेर्पाएँ ओरालो झर्दै गएपछि लगभग ४५ मिनेटको दुरीमा गाउँको सिरानमा निर्मित सानो बसपार्कमा पुगिने रहेछ । प्रस्थान गर्नुअघि मैले घडी हेर्दा पौने ७ भएको थियो । साढे ७ मा त अनेक खोला र चट्टानी पहाडका पहिराहरू पार गर्दै ७ः३० मा बसपार्कमा उत्रिएका थियौँ ।
पहाडको फेदीनजिकै भित्तामा मिलाएर राखिएका एकैनासका सलाईका बट्टा जस्ता गुजुमुज्ज परेका घरहरू, निश्छल मन र बोलीवचन भएका सोझा जनजातिका भद्र नरनारी र परापूर्वकालमा निर्माण भएका जस्ता गाउँघर, भुजुङको सुन्दरता वर्णन गर्न जोकोहीका लागि सहज विषय होइन भन्ने ठान्दछु म । यो अर्गानिक गाउँको अलिकति हिस्सा घुमेर फर्केपछि त्यहाँको सानो बसपार्कमा भेटिएका दुई साना किशोरलाई मैले प्रेमपूर्वक उनीहरूको नाम सोधेँ । यस्तै ११ वर्ष जतिको ठुलो चाहिँ किशोरले सगर्व हाँसेर भन्नुभो, “रोनाल्डो ।” उहाँले लगाइराखेको ज्याकेट खोलेर भित्रपट्टिको रोनाल्डो लेखिएको टिसर्ट देखाइदिनुभयो । उहाँको कुरा सुनेर मैले हल्का हाँस्दै भनेँ, “अनि मेसी खोइ नि ?”
“यी यहाँ छ मेसी,” अर्को नौ वर्ष जतिको सानो किशोरको बाहिरी लुगा खोलेर उहाँले पनि ज्याकेट देखाउनुभयो । नभन्दै उहाँको भेस्टमा पनि ‘मेसी’ छापिएको रहेछ । विकटको यो कुनाको एकान्त गाउँलाई पनि खेलकुद जगत्का विश्वविख्यात सुपरस्टारहरूको प्रभावले स्पर्श गरेको देखेर म दङ्ग परेँ ।
करिब ८ बजेतिर भुजुङलाई बिदाइका हात हल्लाउँदै घलेगाउँतिर फर्कियौँ । अहिले बाटो निकै छोटो भए जस्तो लाग्यो । हामी लगभग ४५ मिनेटमा यताको बसपार्क टेक्न आइपुग्यौँ । हाम्रो आँखैअगाडिको भ्यु टावरबाट दृश्यावलोकन गर्न बाँकी नै थियो । सबै साथी उकालो चढ्दै थिए । मैले पनि लौराको सहायताले बिस्तारै उकालोका खुट्किलाहरू नाप्न थालेँ । माथि पुगेपछि पो थाहा पाइयो, घलेगाउँको मुख्य अवलोकनको विन्दु त यही रहेछ । मानिसको आवतजावत बाक्लै थियो । तिनीहरू सबै विविध पोजमा आफ्ना मोबाइलका क्यामरामा तस्बिर कैद गर्न व्यस्त थिए । मैले पनि त्यो आनन्ददायक क्षणको भरपूर प्रयोग गरेँ । त्यसपछि वासस्थानतिर फर्कियौँ ।
कोदोका तात्ताता सेलरोटी, उसिनेको अन्डा र तरकारी; हाम्रो ब्रेकफास्ट येथेष्ट र खुबै राम्रो थियो । अब हामी फर्कने सिलसिलामा तयार भएर बाहिर निस्कन लागेको देखी घरबेटी बहिनी किस्तीमा फूलअक्षता लिएर निस्कनुभयो । हामीलाई शुभयात्राको मङ्गलमय शुभकामनाका आशीर्वचनले मुग्ध पार्दै क्रमशः जेठो जोडीबाट टीका लगाउन सुरु गर्नुभयो । हामी पनि उहाँहरूको आतिथ्यप्रति धन्यवादका शब्दले जवाफ फर्काउँदै बिदाबारी भएर त्यहाँबाट प्रस्थान ग-यौँ । घर फर्कने क्रममा हामीले घलेगाउँको बसपार्क छोड्दा बिहानको १० बजेको थियो ।
अनेक धुम्ती र मोड पार गर्दै करिब आधा घण्टापछि जङ्गलको बिचमा रहेको एउटा विशालकाय सुन्दर स्कुलको प्राङ्गणमा पुग्यौँ । त्यो थियो, लमजुङको बागलुङपानी डाँडामा अवस्थित जनज्योति माध्यमिक विद्यालय । कुनै समय यस स्कुलका प्रधानाध्यापक रहेका हाम्रा टोली संयोजक इन्द्रविलास अधिकारीले यहाँ २०३३ देखि २०४१ सम्म आठ वर्ष अध्यापन गरेर बस्नुभएको रहेछ । टाढाको बाटो, यसरी भुलेर हुँदैन भन्ने ठानेर म उहाँलाई लिन कम्पाउन्डभित्र पसेपछि त उहाँलाई बडो प्रसन्न मुद्रामा त्यस विद्यालयका प्रधानाध्यापक कृष्ण खनिया र अरू शिक्षकहरूसित गफ गरेर बसिरहेको देखेँ । त्यो अपूर्र्व किसिमको पुनर्मिलनलाई त्यसै धुजा पारेर च्यात्न पनि मन लागेन मलाई । अनि मैले एउटा जुक्ति निकालेर सबैलाई सामूहिक तस्बिरका लागि विद्यालयको अग्रभागको प्राङ्गणमा लहरै उभिन लगाएँ । आफ्नो मोबाइलले दुईचार स्न्याप फोटो लिइदिएँ । त्यसपछि बिदाइका हात हल्लाउँदै हामी बाटो लाग्यौँ ।
हामी ११ बजेतिर बेँसीसहर झर्न सफल भयौँ । जाँदाभन्दा फर्कंदा बाटो केही सुगम र सहज भएको अनुभूति ग-यौँ हामीले । हामी कतै नरोकिईकन भन्सारको मनोरम मार्ग हुँदै डुम्रेको बाटो सोझियौँ । भन्सारको बाटो ठुलै राजमार्ग जस्तो रहेछ । डुम्रे पुगेपछि त आधुनिक विकसित सहरको राजमार्गको झल्को दिने फराकिलो चार लेनको सडकमा गाडी सलल बग्न थाल्यो ।
मुग्लिङपारि नदीकिनारमा ढेपेर बनाइएको होटेलमा खाना खाएपछि २ बजेतिर, अहिले हेर्दा सानो सङ्लो कञ्चन पानी बगिरहेको देखिने त्रिशूली नदीमाथिको पुल तरेर काठमाडौँको गन्तव्यलाई उज्यालोमै भेट्ने आकाङ्क्षासहित रफ्तारमा अघि बढ्यौँ । राजमार्गमा आउजाउ गर्ने वाहनको बाक्लै भिड थियो । ती सबैलाई चिर्दै अगाडि बढेको गाडीलाई नयाँ धार्केमा पुगेपछि प्रेम मगरले फेरि पुरानो धार्केतिर मोड्दै हिजो आएको बाटो समातेर माथितिर उकाल्नुभयो । ६ बजे त हामीलाई सीतापाइलाबाट
रिङरोडको प्रदूषणयुक्त बाटोमा कुदाउन थालिहाल्नुभो । यसरी दुईदिने पहाडी यात्राबाट थकित शरीर र प्रफुल्ल मन लिएर फर्केका हामी ६ः३० बजेतिर राम्ररी साँझ पनि नपर्दै आआफ्ना घरका ढोका खेलेर भित्र पसिसकेका थियौँ ।