राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख १२ गते । सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका क्षेत्रलाई व्यवस्थित बनाउने काम सुरु गरिएको छ । नगर क्षेत्रमा जथाभावी पार्किङ गर्न रोक लगाउनुका साथै व्यवसायिक सटर बाहिर बिक्रीका लागि राखिएका सामग्रीहरू हटाउने कार्य सुरु गरिएको हो ।
एक हप्ताको समय दिएर गरिएको सूचनापछि बिहीबारदेखि उक्त गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको वालिङ नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो ।
नगरपालिका, प्रहरी र उद्योग वाणिज्य संघसहितको टोलीले राजमार्गको बजार क्षेत्रमा निरन्तर अनुगमन गरिरहेको छ । टोलीले पहिलो चरणमा सटर बाहिर राखिएका सामग्री पसलभित्र राख्न अनुरोध गर्ने तथा सडकमा पार्किङ गरिएका सवारी साधनलाई तोकिएको स्थान वा वैकल्पिक स्थानमा पार्किङ गर्न आग्रह गर्ने कार्य गरिरहेको उपप्रमुख तिवारीले बताउनुभयो ।
दोस्रो चरणमा भने अटेरी गर्नेहरूलाई कारबाही गर्ने तयारी गरिएको पालिकाले जनाएको छ ।
यसैबीच, स्याङ्जा सडक खण्डमा पर्ने पालिकाहरूले सवारी व्यवस्थापनमा सक्रियता देखाउँदै आएका छन् । साँघुरो र घुम्ती भएको सडकमा जथाभावी पार्किङका कारण दुर्घटना बढेपछि स्थानीय तहहरूले व्यवस्थापन अभियान सुरु गरेका हुन् ।
जिल्लाका पुतलीबजार, वालिङ र गल्याङ नगरपालिकाले राजमार्ग व्यवस्थापनका लागि योजनाबद्ध रूपमा काम अघि बढाएका छन् । प्रशासन, प्रहरी तथा विभिन्न यातायात समितिको सहभागितामा पार्किङ तथा बजार व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ ।
स्याङ्जाको मध्यभागमा पर्ने सिद्धार्थ राजमार्ग फेदीखोला, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका हुँदै करिब ८२ किलोमिटर क्षेत्रमा फैलिएको छ ।