• १२ वैशाख २०८३, शनिबार

नवलपुरमा औलो नियन्त्रणमा चुनौती कायमै

blog

बोमलाल गिरी
नवलपुर, वैशाख १२ गते ।
नेपालमा औलो नियन्त्रण प्रयास सुरु भएको एक सय वर्ष पूरा भइसकेको छ । औलो रणनीतिक योजना २०१४/२०२५ अनुसार सन् २०२५ भित्र नेपाललाई औलोमुक्त बनाउने लक्ष्य राखिएको थियो । तर भारतलगायत छिमेकी देशबाट हुने आयातित संक्रमणका कारण उक्त लक्ष्य हासिल गर्न कठिन देखिएको छ । नवलपुरमा पछिल्ला वर्षहरूमा केस घटे पनि औलो पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन ।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा तीन जना औलोका बिरामी भेटिएकोमा चालु आर्थिक वर्षको नौ महिनामा सात जनामा संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ र ५ मा चार जना, गैँडाकोट–६ मा एक जना, हुप्सेकोट गाउँपालिका–४ मा एक जना र जिल्ला बाहिरबाट आएका एक जनामा औलो संक्रमण देखिएको हो । आर्थिक वर्ष २०८१/८२ मा भने १० जना बिरामी फेला परेका थिए ।

सूचना अधिकारी छविलाल सुवेदीका अनुसार फेला परेका सबै बिरामी पुरुष हुन् र सबैजसो आयातित संक्रमणका केस हुन् । उहाँका अनुसार नेपालमा देखिने औलो संक्रमणमध्ये ९५ प्रतिशतभन्दा बढी भारतलगायत देशबाट आउने गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा ६ जना र २०८०/८१ मा ४ जनामा औलो देखिएको कार्यालयले जनाएको छ ।

औलोका लक्षण
मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रमेशप्रसाद आचार्यका अनुसार औलो लाग्दा दिनहुँ वा एक दिन बिराएर ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, थकान महसुस हुने, जाडो लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, मांसपेशी तथा जोर्नी दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

यी लक्षण देखिए पनि नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने बिरामीको संख्या भने न्यून रहेको उहाँले बताउनुभयो । भारतसँगको खुला सीमाका कारण औलो उन्मूलनमा चुनौती थपिएको उहाँको भनाइ छ ।

औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । मानिसमा लाग्ने पाँच प्रकारका औलोमध्ये प्लाज्मोडियम फाल्सिपारम सबैभन्दा कडा प्रकार हो । समयमै उपचार नभए ज्यान जोखिममा पर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

बच्ने उपाय
प्रदेश स्वास्थ्य कार्यालयका अनुसार औलोबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्ने, लामखुट्टे धुप वा विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने तथा लामो बाहुला भएका कपडा लगाउनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।