• १२ वैशाख २०८३, शनिबार

सरसफाइकर्मीको सुरक्षा चिन्ता

blog

सहर बिहानै सफा भएको हुन्छ । फोहोरका थुप्रा हराएका हुन्छन्, ढलका मुख खुलेका हुन्छन्, सडक स्वच्छ देखिन्छन् । यो ‘सहरको शृङ्गार’ गर्ने मानिसको कथा भने प्रायः सहरको कोलाहलभन्दा टाढा, चुपचाप निकै कष्टकर बाँचिरहेको हुँदो रहेछ । सहर सफाइको पछाडि कसैको पसिना, जोखिम र कहिलेकाहीँ ज्यानकै मूल्य जोडिएको हुन्छ । तपाईंहरूको घरको सेफ्टी ट्याङ्की वा ढल सफा कसले गर्छ ? कहिल्यै सोच्नुभएको छ–त्यो दुर्गन्धित, अँध्यारो र जोखिमले भरिएको ठाउँमा पस्ने मानिसको जीवन कस्तो हुन्छ ? हो, तीनै हुन तपाईं हामी बसिरहेको सहर सफा गर्ने सरसफाइकर्मी । 

सेफ्टी ट्याङ्की वा ढल खोलेर भित्र पसेर फोहोर निकालिरहेका सरसफाइकर्मी देख्दा हामी कति गम्भीर भएर सोच्छौँ ? उनीहरू बाँचिरहेको जीवनलाई भित्र पसेर छाम्दा निकै भयावह छ । उनीहरूसँग न पर्याप्त सुरक्षात्मक सामग्री छ, न स्पष्ट सरकारी संरक्षण, न त समाजले नै सम्मानजनक व्यवहार गर्छ । ठुला सहरका मुख्य सडकमा मेसिन प्रयोग हुन थाले पनि साँघुरा गल्ली र अव्यवस्थित बस्तीमा आज पनि मानिसले नै ढल र सेफ्टी ट्याङ्की सफा गर्नुपर्ने बाध्यता छ । यो केवल श्रम होइन– यो जीवनसँगको जोखिमपूर्ण सम्झौता हो । 

सहर सफा गर्ने यिनै हातहरूको जीवन सुरक्षा र मर्यादाको प्रश्न आज पनि सार्वजनिक बहसको केन्द्रमा आउन सकेको छैन । फोहोरसँग खेल्ने तर फोहोरकै कारण जोखिममा पर्ने यी कर्मवीरको अवस्था बुझ्न ललितपुरको वडा नम्बर ८ मा भेटिए ५२ वर्षीय रामबहादुर विश्वकर्मालाई भेटे पुग्छ ।  बिहानैदेखि साँझ अबेरसम्म उहाँको दिनचर्या सेफ्टी ट्याङ्की र ढलको दुर्गन्धसँगै बित्छ । कहिले अँध्यारो खाडलभित्र पसेर लेदो निकाल्दै, कहिले ग्यासको जोखिमबिच सास रोकेर काम गर्दैगर्दा कतिखेर फेरिरहेका श्वास रोकिने हो, उनलाई पत्तो छैन । 

रामबहादुरको शरीरमा लागेको फोहोरभन्दा गहिरो पीडा भने मनभित्र छ, असुरक्षा, अनिश्चितता र समाजको बेवास्ता ।  “काम नगरे खान पाइँदैन, गरे ज्यान जाने डर,” उनी भन्छन्, “हातमा पन्जा छैन, अनुहारमा मास्क छैन तर परिवार पाल्ने जिम्मेवारी छ । कहिलेकाहीँ ट्याङ्कीभित्र पस्दा निसास्सिएर फर्किन नपाउने डरले मन काँप्छ तर विकल्प नहुँदा फेरि त्यही खाडलमा पस्नै पर्छ ।” दिनभर फोहोरसँग जुधेर फर्किंदा पनि समाजले रामबहादुर जस्तै सयौँ सुरक्षाकर्मीलाई सम्मान होइन, टाढै राख्ने दृष्टिले हेर्छ । त्यसैले सरसफाइकर्मी आफ्नो पेसा लुकाएर बाँच्न बाध्य छन् । 

तथ्याङ्कै छैन

सरकारसँग यस्ता सरसफाइकर्मीको यकिन तथ्याङ्कसमेत छैन । युएन ह्याबिटाट र इकोनको तथ्याङ्क अनुसार नेपालमा करिब १५ हजारदेखि २० हजारसम्म व्यक्ति सरसफाइ सेवामा संलग्न छन् । दिसाजन्य लेदो व्यवस्थापनमा संलग्न ६० प्रतिशत सरसफाइकर्मी दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित छन् । अझै पनि ६० प्रतिशतभन्दा बढी सरसफाइकर्मीले पन्जा, मास्क, जुत्ता जस्ता आधारभूत सुरक्षा उपकरणबिना काम गरिरहेका छन् । भयावह तथ्याङ्क के छ भने २८ प्रतिशत अझै पनि हातैले दिसाजन्य लेदो सफा गर्न बाध्य छन् । कति मान्छे ग्यासका कारण मृत्यु भयो ? त्यसको तथ्याङ्क पनि कसैले राखेको छैन् । यी तथ्याङ्क केवल सङ्ख्या होइनन्, यी त राज्यको प्राथमिकतामा उनीहरू कहाँ छन् भन्ने प्रश्नका प्रतिविम्ब हुन् । 

सहरी क्षेत्रमा दैनिक करिब एक हजार चार सय टनभन्दा बढी ठोस फोहोर उत्पादन हुने तथ्याङ्कले देखाउँछ, जसको व्यवस्थापनमा यी श्रमिकको भूमिका महìवपूर्ण छ । विश्व बैङ्कका अनुसार दक्षिण एसियामा काम गर्ने धेरै सरसफाइकर्मी अझै पनि असङ्गठित क्षेत्रमा कार्यरत छन्, जसले उनीहरूलाई कानुनी सुरक्षा र सामाजिक सुरक्षाबाट टाढा राखेको छ । स्वच्छता मानव जीवनको आधारभूत आवश्यकता मात्र होइन, सभ्य र दिगो समाज निर्माणको मेरुदण्ड हो । स्वस्थ जीवनशैली, सुरक्षित वातावरण र समुन्नत सहरको आधार सरसफाइमै निर्भर हुन्छ । घर, विद्यालय, अस्पतालदेखि सडक र सार्वजनिक स्थलसम्म सफा राख्न दिनरात खटिने सरसफाइकर्मी हाम्रो समाजका अदृश्य नायक हुन् । उनीहरूको श्रमकै कारण हामी स्वच्छ र सुरक्षित वातावरणमा बाँचिरहेका छौँ । विडम्बना, यति महìवपूर्ण भूमिका निर्वाह गर्ने यी श्रमिकको जीवन भने अझै असुरक्षित र उपेक्षित छ । 

संविधानकै उल्लङ्घन

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धी अधिकार (धारा ३५) र मर्यादित श्रमको अधिकार (धारा ३४) सुनिश्चित गरेको छ । यसले प्रत्येक श्रमिकलाई सुरक्षित कार्यस्थल, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ । व्यवहारमा सरसफाइकर्मी अझै पनि यी अधिकारबाट पूर्ण रूपमा वञ्चित छन् । सरसफाइसँग प्रत्यक्ष सम्बन्धित दिगो विकास लक्ष्य (६) ले सन् २०३० सम्म सबैका लागि सुरक्षित पानी र सरसफाइ सुनिश्चित गर्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य (८) ले सम्मानजनक रोजगारी र सुरक्षित कार्य वातावरणको प्रत्याभूति गर्ने लक्ष्य लिएको छ । यी दुवै लक्ष्य प्राप्तिमा सरसफाइकर्मीको योगदान अत्यन्त महìवपूर्ण छ ।

सरसफाइ क्षेत्रमा मुख्यतः दुई प्रकारका कामदार छन् । ठोस फोहोर व्यवस्थापन गर्ने र मानव मलमूत्र व्यवस्थापनमा काम गर्ने । विशेष गरी ढल र सेफ्टी ट्याङ्की सफा गर्ने कामदार जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार यस्ता कामदार रासायनिक ग्यास, सङ्व्रmमण र दुर्घटनाको उच्च जोखिममा रहने समूहमा पर्छन् । नेपालको श्रम ऐन, २०७३ ले श्रमिकको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षासम्बन्धी प्रावधान स्पष्ट रूपमा उल्लेख गरेको छ । यस कानुन अनुसार प्रत्येक रोजगारदाताले कामदारलाई आवश्यक सुरक्षात्मक सामग्री उपलब्ध गराउनुपर्ने, बिमा गर्नुपर्ने र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । व्यवहारमा धेरै सरसफाइकर्मी अझै पनि पन्जा, मास्क, बुट जस्ता आधारभूत सुरक्षा सामग्रीबिना नै काम गरिरहेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७३ ले नेपालले सरसफाइ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । धेरै स्थानीय तहमा स्रोत, प्रविधि र व्यवस्थापनको अभावका कारण सरसफाइकर्मीको सुरक्षा र व्यवस्थापनमा कमजोरी देखिएको छ । सामाजिक दृष्टिकोण पनि अर्को गम्भीर चुनौती हो । सरसफाइ पेसालाई हेर्ने दृष्टिकोण अझै सम्मानजनक बन्न सकेको छैन । जातीय विभेद र पेसागत पूर्वाग्रहका कारण धेरै सरसफाइकर्मी आफ्नो पहिचान लुकाउन बाध्य छन् । यसले उनीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ ।

समाधान के ? 

सबैभन्दा पहिले, सरसफाइकर्मीको कामलाई औपचारिक मान्यता दिँदै न्यूनतम पारिश्रमिक, बिमा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा अनिवार्य रूपमा लागु गरिनु पर्छ । जोखिमपूर्ण काममा संलग्न कामदारका लागि विशेष भत्ता र स्वास्थ्य बिमाको व्यवस्था आवश्यक छ । दोस्रो, ढल तथा सेफ्टी ट्याङ्की सफाइ जस्ता काममा मेसिनको प्रयोग अनिवार्य बनाउँदै मानव श्रमको जोखिम घटाउनु पर्छ । 

तेस्रो, स्थानीय तहले सरसफाइकर्मीका लागि नियमित तालिम, सुरक्षात्मक सामग्री र सुरक्षित कार्यप्रणाली सुनिश्चित गर्नु पर्छ । चौथो, समाजमा श्रमप्रतिको सम्मान बढाउन विद्यालय तहदेखि नै पाठ्यव्रmममा श्रमको मर्यादा र सरसफाइको महìव समावेश गरिनु पर्छ । सरसफाइकर्मीको जीवनसुरक्षा र गरिमा सुनिश्चित गर्नु केवल राज्यको दायित्व मात्र होइन–यो हाम्रो सामूहिक नैतिक जिम्मेवारी पनि हो । हामीले हिँड्ने सफा सडक, बस्ने स्वच्छ सहर र प्रयोग गर्ने सुरक्षित वातावरणको आधार उनीहरूको श्रम हो ।  उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु वास्तवमा, सभ्य समाजको पहिचान हो । सरसफाइकर्मीप्रति राज्यले जिम्मेवारीपूर्वक सोच्नु पर्छ र समाजले आफ्नो दृष्टिकोण बदल्नै पर्छ ।