काठमाडौँ, फागुन ८ गते । नेपाल एपीएफ स्कुल कीर्तिपुरको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित तेस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८२ को उपाधि सैनिक आवासीय महाविद्यालय सल्लाघारीले जितेको छ । फाइनल खेलमा सैनिक आवासीय महाविद्यालयले आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुरलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले शुक्रबार आयोजित विशेष समारोहका बिच विजयी टोलीलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गर्नुका साथै विद्यालयलाई सहयोग पुर्याउने महानुभाव तथा सङ्घसंस्थालाई कदरपत्र प्रदान गर्नुभयो । विजेताले ६० हजारसहित ट्रफी पाएको छ । उपविजेताले २० हजार पाएको छ । तेस्रो भएको ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थले नगद १० हजार मेडल तथा ट्रफी प्राप्त गरेको छ । तेस्रो पुरस्कार सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नेपाल एपीएफ स्कुलले शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै राष्ट्रका लागि सक्षम, अनुशासित र नैतिकवान् नागरिक उत्पादन गर्ने दायित्व प्रभावकारी रूपमा वहन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततिलाई गुणस्तरीय एवं व्यावहारिक शिक्षा प्रदान गर्न स्कुल सफल हुँदै आएको चर्चा गर्नुभयो ।

बालबालिकामा अन्तर्निहित प्रतिभाको पहिचान र संरक्षण गर्नु राज्य तथा समाजको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यालय शैक्षिक विकासको मूल केन्द्र हो, जहाँ शिक्षकको लगनशीलता र समर्पण विद्यार्थीको सफलतामा प्रतिबिम्बित हुन्छ ।” खेलकुद केवल शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक दृढता, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने सशक्त माध्यम भएको उहाँको भनाइ थियो ।
महानिरीक्षक अर्यालले खेल मैदानमा हार र जितभन्दा पनि खेलाडीले देखाउने इमानदारी र अनुशासनले राष्ट्रको गरिमा बढाउने बताउनुभयो । विद्यार्थीले मार्चपास गरेको उक्त अवसरमा कला र प्रदर्शनीसमेत गरिएको थियो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, उपप्रमुख शुभलक्ष्मी शाक्य, एपीएफ स्कुल कीर्तिपुरका प्राचार्य युवराज पराजुलीलगायत स्थानीय अभिभावक तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
माघ १८ गते सुरु भएको प्रतियोगितामा १५ टिम सहभागी थिए। उपत्यकाका ११, काभ्रे, बाँके र सप्तरीका एक, एक गरेर १४ विद्यालयका १५ टिमबिच लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भएको हो ।

प्रतियागितामा नेपाल एपीएफ स्कुल कीर्तिपुरका रातो र निलो दुई टिम, नेपाल एपीएफ, कोहलपुर, नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत, सप्तरी, सैनिक आवासीय महाविद्यालय, भक्तपुर, नेपाल पुलिस स्कुल, साँगा, राई स्कुल, जेम्स, डिएभी, ब्राइट होराइजन चिल्ड्रेन्स होम, पिस प्वाइन्ट, ब्राइट एन्जल, पेगासस स्कुल, सन साइन स्कुल र बाघ भैरव स्कुल सहभागी थिए।
