बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख १२ गते । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को संयोजकत्वमा उच्चस्तरीय पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको धर्ना शुव्रmबार दिउँसोदेखि टुङ्गिएको छ ।
बलात्कार अभियोगमा पक्राउ परी प्रहरी
हिरासतमा नै ज्यान गुमाएका सिन्धुलीका एक युवकको न्यायको माग गर्दै रास्वपाका सांसद जिल्ला प्रशासन कार्यालयको मूल गेटमा बिहीबार राति ८ बजेदेखि धर्नामा बस्नुभएको थियो । घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले डिआइजी दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको पत्र प्राप्त भएकाले धर्ना टुङ्गिएको धर्नामा सहभागी सांसद आशिष गजुरेलले जानकारी दिनुभयो ।
सिन्धुलीबाट प्रतिनिधि सभामा निर्वाचित गजुरेलले भन्नुभयो, “समितिलाई आजकै मितिदेखि काम गर्ने गरी सात दिनको म्याद दिएको छ । अब उहाँहरूसँग बसरे कुराकानी गर्छौं । घटनाको निष्पक्ष छानबिन गर्ने कुरामा अगाडि बढ्छौँ ।” अब पीडितले न्याय पाउने र त्यो ग्यारेन्टी आफूहरूले लिने उहाँले बताउनुभयो ।
छानबिन समितिको सदस्यमा प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजित सुनार, प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा रहनुभएको सांसद गजुरेलले बताउनुभयो। सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतभित्र भएको मृत्यु प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको माग गदै रास्वपा सांसद बिहीबार राति ८ बजेदेखि अनिश्चितकालीन धर्नामा बसेका थिए । रास्वपाका सांसद खगेन्द्र सुनुवार, रिमा विश्वकर्मा, सुषमा स्वर्णकार, खिमा विश्वकर्मा, गणेश विक, आशिष गजुरेल कार्यालयको मूल गेटमा मृतकका परिवार, आफन्त र स्थानीयलाई लिएर धर्नामा बस्नुभएको थियो ।
घटनापछि मृतकका परिवार निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै चार दिनदेखि आन्दोलनरत छन् । स्थानीय प्रशासनले घटनाको छानबिन र वास्तविकता सार्वजनिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा मङ्गलबार सात सदस्यीय छानबिन समिति गठन गरे पनि सांसदको टोलीले उक्त समितिप्रति शङ्का गर्दै अस्वीकार गरी उच्चस्तरीय समिति गठनको माग गरेको थियो ।
विकको मृत्युलाई प्रहरीले आत्महत्या गरेको दाबी गरेको छ भने मृतकका परिवार तथा आफन्तले प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् । धर्नामा सहभागी सांसद खगेन्द्र सुनुवारले दलित युवक विकको प्रहरीको कुटाइबाट मृत्यु भएको दाबी गर्नुभएको छ । “घटनास्थल हेर्दा, झुन्डिएर आत्महत्या गर्ने अवस्था नै छैन,” उहाँले भन्नुभयो ।
मृतकका परिवारले न्यायको माग गर्दै हालसम्म शव बुझ्न र पोस्टमार्टम गर्न मानेका छैनन् । शवको सिन्धुलीमा पोस्टमार्टम गर्न शङ्का लागेकाले काठमाडौँ लैजाने सांसद सुनुवारले बताउनुभयो ।
मृतकका परिवारका अनुसार श्रीकृष्णको खोटाङकी १६ वर्षीय मगर थरकी एक किशोरीसँग दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । त्यसै व्रmममा उनीहरूले प्रेम विवाह गरेका थिए । विवाह सम्बन्ध छुटाउन केटी पक्षले सातदोबाटो प्रहरीमा बलात्कार आरोपमा मुद्दा दर्ता गराएका थिए । केटी पक्षको उक्त उजुरीपछि सातदोवाटो प्रहरीले वैशाख ३ गते पव्रmाउ गरी विकलाई इलाका प्रहरी कार्यालय खुर्कोट पठाएको थियो । विकले इलाका प्रहरी कार्यालयको शौचालयको झ्यालको डन्डीमा आफैँले लगाएको सर्टको पासो लगाई वैशाख ७ गते आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।