गुणबहादुर रोका
सुलीकोट, वैशाख १२ गते । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको आज ११ वर्ष पूरा भएको छ । वि.सं. २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले गोरखा जिल्लामा मात्र ४७१ जनाको ज्यान गएको थियो ।
उक्त विनाशकारी भूकम्पबाट गोरखासहित १४ जिल्लामा ठुलो क्षति पुगेको थियो । हजारौँ घर भत्किए, सयौँले ज्यान गुमाए भने बाँचेकाहरूको जीवनमा ठुलो परिवर्तन आयो । तर भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि बारपाक सुलीकोट गाउँपालिका–१, गैह्रागाउँस्थित दलित बस्तीका केही परिवार अझै अस्थायी टहरामै बस्न बाध्य छन् ।
भूकम्पपछि अधिकांश स्थानमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । पक्की घर, विद्यालय, स्वास्थ्य संस्था र सडक संरचना निर्माण भइसकेका छन् । तर दलित बस्तीका करिब १५ भन्दा बढी परिवार अझै स्थायी घरको प्रतीक्षामा छन् । पुरानो बस्ती जोखिमयुक्त भएकाले त्यहीँ घर बनाउन नपाइने र नयाँ स्थानमा बसोबासका लागि जग्गा नपाइने समस्याबिच उनीहरूको जीवन अल्झिएको छ ।
स्थानीय लक्ष्मी विकका अनुसार टहरोको जीवन उनीहरूका लागि केवल अस्थायी आश्रय मात्र होइन, कठिन दैनिकीको प्रतीक बनेको छ । उहाँले भन्नुभयो, “दलित बस्तीका १५ घरधुरीमा पानी चुहिने छाना, चिसो हावा छिर्ने भित्ताहरू र गर्मीयाममा असह्य तापजस्ता समस्या दैनिक रूपमा भोग्नुपरेको छ ।”
त्यस्तै, स्थानीय तुलबहादुर विकले भन्नुभयो, “वर्षा लाग्नेबित्तिकै टहरोभित्र पानी पस्छ, बालबालिका र वृद्धवृद्धालाई जोगाउँदै रात काट्नुपर्ने बाध्यता छ ।”
खिया लागेको टिनको छानाले बालबालिकाको पढाइमा समेत असर परेको छ । साँघुरा र असुरक्षित टहरामा बस्दा अध्ययनका लागि उपयुक्त वातावरण नहुँदा उनीहरू पछाडि परिरहेका छन् । स्वास्थ्य समस्या पनि उत्तिकै गम्भीर रहेको स्थानीयले बताएका छन् । अस्वच्छ वातावरणका कारण ज्वरो, रुघाखोकीलगायतका रोगले सताउने गरेको छ ।
वडा सदस्य लक्ष्मी विकका अनुसार सबैको चाहना घर बनाउने भए पनि जग्गा अभावले समस्या जटिल बनेको छ । केही परिवार पुरानै स्थानमा फर्कन चाहन्छन् भने केही सुरक्षित स्थानमा सारिन तयार छन्, तर दुवै अवस्थामा जग्गा व्यवस्थापन नहुँदा अन्योल कायम छ ।
भूकम्पपछि गैह्रागाउँलाई जीवित संग्रहालय बनाउने योजना अघि सारिएको थियो । तर स्थानीय सहमति नजुट्दा उक्त योजना कार्यान्वयन हुन सकेन, जसले बस्ती व्यवस्थापन प्रक्रिया अझै ढिलो भएको छ ।
बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टका अनुसार दलित बस्तीको समस्या समाधानका लागि जग्गा व्यवस्थापन मुख्य चुनौती बनेको छ । उहाँले भन्नुभयो, “हामी सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गर्न प्रयासरत छौँ, तर जग्गा अभावका कारण समस्या देखिएको छ । समाधानका लागि काम अघि बढाइएको छ ।”
उहाँले थप भन्नुभयो, भूकम्पपछि बारपाक गाउँ पहाडको नयाँ सहरका रूपमा विकसित हुँदै गएको छ । अहिले बारपाकमा पर्यटकको चहलपहल पनि बढ्दै गएको छ ।
११ वर्ष बितिसक्दा पनि बारपाक दलित बस्तीका बासिन्दाको पुनर्निर्माण अधुरै छ । उनीहरूको पीडा केवल घरको अभाव मात्र होइन, अवसर र समानताको अभाव पनि हो । टहरोमै सीमित उनीहरूको जीवनले अझै प्रश्न गरिरहेको छ—के विकास सबैका लागि समान छ ?