• १२ वैशाख २०८३, शनिबार

सिरुवा मेलामा मालामाल फूलघोडा

blog

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका गाउँवस्तीमा सिरुवा पावनीको उत्सव चलि नै रहेको छ । वैशाख १ गतेदेखि १५ दिनसम्म लगातार मनाइने सिरुवा खास गरी राजवंशी, ताजपुरिया, गनगाई जातिको बाहुल्य बस्तीमा उत्साहबर्धक रूपमा मनाइन्छ । सुनसरी र मोरङका चौधरी, विश्वास, थारूले पनि सिरुवा पावनी उत्तिकै सहभागिता साथ मनाउँछन् । कसैले जुडशीतलका नाममा यो पर्व मनाउने गरिएको पनि पाइन्छ । तथापि, भूगोल अनुसार सिरुवा पावनी मनाउने तौरतरिका केही फरक देखिन्छ ।

सिरुवामा फूलघोडा

मेला र पर्वमा मिठाई, खाना, खेल्ने खेलौना, नानाको चर्चा बढी भए पनि सिरुवा मेलामा सबैले खोज्ने वस्तु हो– फूलघोडा । अर्थात् घोडाको आकृति भएको खेलौना तर देवीदेवतालाई चढाउने । कतिपयले फूलघडा पनि भन्छन् । कागजको जस्तो देखिने यो फूलघोडा, कागज नभई वनस्पतिको हो । तराईका दह, पोखरी र सिमसार क्षेत्रमा पाइने झार प्रजातिको वनस्पति पाइन्छ– कोडेला  तर यो जलकुम्भीचाहिँ होइन । यो वनस्पतिको मोटा डाँठबाट फूल घडा बनाइन्छ ।

सिरुवा पावनीमा आफ्ना इष्ट देवदेवतालाई भाकल गरी फूलघोडा चढाउने चलन छ । देवीदेवताका वाहन बनाएर भाकल बुझाउने, चढाउने चलन अनुसार माटोका घोडा, हात्ती, बाघ, सिंह बनाएर चढाइने गरिएको बताइन्छ । पछि कोडेलाको फूलबाट यस्ता वस्तु बनाउन थालिएको भनाइ पाइन्छ । पोखरीमा बास हुने नाग देवताले कोडेलालाई दैवीशक्ति दिने र सोही वनस्पतिबाट बनेको फूलघोडा चढाए वर्षभरि रोग नलाग्ने, बाढी र जङ्गली जनावरले दुःख नदिने, अन्न उत्पादन राम्रो हुने जनविश्वास पाइन्छ । त्यसैले पनि सिरुवानी पावनी मेलामा फूलघोडाको बेजोड व्यापार देखिन्छ । 

तराईका सिमसार, दह, पोखरीमा पहिला प्रसस्त कोडेला पाइन्थ्यो । छिप्पेको कोडेलाका डाँठ खोजेर ल्याई घाममा सुकाइन्छ । त्यसलाई चिरेर विभिन्न आकारको टुक्रा बनाइन्छ । यो काममा घरका महिला बढी सव्रिmय भएको पाइन्छ । जुन टुक्रा जोडेर घोडा, बाघ, हात्तीलगायत देवीदेवताका वाहन बनाउने गरिन्छ । त्यस्ता आकृतिमा विभिन्न रङ्ग लगाइन्छ र एउटा बाँसको सिन्कामा उनेपछि फूलघोडा तयार हुन्छ । इटहरीको खनार, दुहबीलगायत गाउँमा घरेलु रूपमा अहिले पनि फूलघोडा बनाउने गरिएको पाइन्छ । थारूको विवाहमा लगाउने शिर मोर पनि कोडेलाको डाँठबाटै बनाइन्छ । भगवान्लाई चढाउने अन्य सामग्री पनि कोडेलाबाटै तयार पार्ने गरिन्छ । 

फूलघोडाका व्यापारी

राजवंशी बुढापाकाहरूका अनुसार भूमि सुधार लागु हुनुअघिसम्म झापा र मोरङमा राजवंशी र ताजपुरियाको जग्गा जमीनमा एकछत्र स्वामित्व थियो । हात्ती घोडा पाल्ने, बन्दुक राख्ने, रेडियो राख्ने र बजाउने, साइकल चढ्ने वर्गमा उनीहरूको साम्राज्य थियो । त्यतिबेला राजवंशी र ताजपुरियाहरू केही काम गर्दैन थिए, हली गोठाला राखेर खेती गर्ने चलन थियो । त्यसबेलादेखि नै भारतीय मालाकार नेपालमा फूलघोडा बिक्री गर्न आउन थालेका हुन ।

उसबेला फूलघोडा व्यापारमा मालाकार एकलौटी व्यापार थियो । अरू कुनै समुदाय यस्तो काम गर्दैन थिए । उतिबेला अहिले जस्तो यातायात र सञ्चारको पहुँच सहज थिएन । भारतको विहारस्थित किसनगन्ज जिल्लाको मटियारी गाउँबाट मालाकारहरू गोरु गाडा चढेर तीन दिन लगाई मेलास्थल आइपुग्थे । गाडामा आफूले खाने खाद्यान्य, ओड्ने ओछ्याउने लुगाफाटो सँगै ल्याउँथे । चैत मसान्तमा आइपुग्ने उनीहरू सुनवर्षी आएर खेतमा पाल टाङ्थे । उसबेला अहिले जस्तो घरहरू थिएनन् । गोरुलाई घाँसपराल माग्दा नै पाइन्थ्यो । ७३ वर्षीय घेसुलाल मालाकार हजुरबुबाको पालामा गोरुगाडा चढेर फूलघोडाको व्यापार गर्न नेपाल आएको सम्झिनुहुन्छ । घेसुलाललाई ५ पैसामा ३ वटा फूलघोडा बिक्री गरेको सम्झाना ताजै छ । मालाकारहरूको पुख्र्याैली पेसा नै माला, फूलघोडा, सौन्दर्यका सामग्री बनाउने हो । सुनवर्षीबाट ५३ किलोमिटर दक्षिणबाट आउने उनीहरू अचेल मोटरसाइकलमा आउँछन् । फूलघोडा बेच्छन्, अनि फर्कन्छन् । 


दल, पोखरी र सिमसारमा कोडेला (कुण्ठिला) पाइन छाडेपछि फूलघोडामा अचेल थर्माकोलले प्रवेश पाएको छ । विद्युतीय सामग्री सुरक्षाका लागि प्रयोग गरिने थर्माकोलमा रङ्ग दलेर फूलघोडा बनाइन्छ र बाँसको सिन्कामा उनिन्छ । यस्ता थर्माकोल खोज्न सिमसार होइन बजारतिर गए पाइन्छ– सित्तैमा । फूलघोडा बनाउने भारतीय मालाकार व्यापारीले पनि कुण्ठिलाको सट्टा थर्माकोलमा फूलघोडा बनाउँछन् । त्यही बेचेर एक जनाले खर्च कटाएर दैनिक एक हजारसम्म बचाउँछन् । कतिपय मालाकार व्यापारी त नेपालमै आएर एक घना बाँस किनेर, थर्माकोल सित्तैमा बटुलेर फूलघोडा बनाउँछन । एक किलो मैदाको गम बनायो । १५ दिनजतिको सिरुवा पावनी मेलामा एक परिवारले फूलघोडा बेचेर १५/२० हजार रुपियाँ कमाउँछन् ।

करको डर

नेपालमा लाग्ने सिरुवा मेलामा फूलघोडा बेच्न कर तिर्नु पर्छ । भारतीय व्यापारीले आयोजक र मेलाका ठेकेदारलाई पैसा बुझाए पनि नेपाली केही व्यवसायी त्यसको मारमा परेको पाइन्छ । त्यसमा पनि राजवंशी थारू समुदायका महिलाले पूजा गर्ने महाराजथानको छेउमै बसेर फूलघोडा बिक्री गर्न पाइन्न । आफ्नो गाउँमा लाग्ने मेला बजारमा कुण्ठिलाको फूलघोडा बेच्न नपाउँदा स्थानीय महिला निराश पनि छन् तर ललिता राजवंशी, दानी चौधरी र शीतली राजवंशीको साझा बुझाइ छ– हाम्रो सांस्कृतिक मेलामा फूलघोडा बेच्न बस्दा हामीले नै पैसा तिर्नुपर्ने ?