अमरराज नहर्की
तनहुँ, वैशाख १२ गते । तनहुँको देवघाटमा वन्यजन्तुका अङ्ग (आखेटोपहार) र लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय ‘रोहित’ भन्ने कृष्ण तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा घरका विभिन्न कोठाबाट वन्यजन्तुका अवशेष, लागुऔषध र हतियार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार बिकका अनुसार तामाङको घर, पूजाकोठा र सुत्ने कोठाबाट उल्लेख्य मात्रामा अवैध सामग्री फेला परेको छ ।
विशेष सुराकीका आधारमा खानतलासी गर्दा निजको घरबाट जरायोको सिङ जस्तो देखिने दुई थान वस्तु, गैँडाको छाला जस्तो देखिने एक टुक्रा, पञ्चमुखे शङ्ख एक थान र जरायोको सिङका स–साना चारवटा टुप्पाहरू फेला परेका छन् ।
यस्तै प्रहरीले तामाङको घरबाट लागुऔषध ट्रामाडोल २४८ क्यापसुल, २०० ग्राम गाँजा र २५ पत्ता भोमिन (२५० क्यापसुल) समेत बरामद गरेको छ। प्रहरीका अनुसार तामाङको साथबाट एक थान नक, दाबसहितको सानो खुकुरी, एउटा चक्कु र रेडमी तथा क्यु टेल कम्पनीका दुई थान मोबाइल फोन फेला परेको छ ।
तामाङको घरबाट तीनकुने आकार भएका र ‘१’ लेखिएका छाला जस्ता देखिने चारवटा साना टुक्राहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनीमा राखिएको छ । तामाङ माथि अवैध वस्तु सञ्चय र लागुऔषधसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी बिकले जानकारी दिनुभयो ।