• ९ फागुन २०८२, शनिबार

साइत–बेसाइत छुट्याउने कला

blog

भविष्यप्रति चिन्तित भएर कुनै पनि कार्य विघ्न नहोस् भनेर हामी साइतको खोजी गर्छौं । बिरालोले बाटो काट्दा वा बहिर निस्कने बेला कसैले हाच्छिउँ गर्दा हामी त्यसलाई अशुभ मान्छौँ । असल नियत र इमानदार प्रयास छ भने हरेक समय साइत नै साइत हुन्छ । महापुरुषलाई साइत/बेसाइतको अर्थ रहँदैन । जसलाई दुःखले छुँदैन उसलाई बेसाइत पर्दैन । जसरी उज्यालोमा अँध्यारो हुँदैन । बुद्धले तपस्या गरी बोधि ज्ञान प्राप्त गरेकाले हरेक क्षणलाई शुभमुहूर्त सम्झी दुःखलाई निवारण गर्नुभएको हो । 


दुःख भएर पनि सुख लिनेलाई दुःख हुँदैन ।

सुख भएर पनि दुःख लिनेलाई सुख हुँदैन ।। 

मानिसलाई कहिले कस्तो दुःख आइ पर्छ भन्न सकिँदैन । मनुष्यको चोला भोलि के होला भन्न सकिँदैन । भोलि जे होला त्यसको चिन्ता नलिई सन्तोष भई सत्कर्म गर्नु पर्छ । आफूसँग प्राप्त वस्तुले सन्तोष लिनु ठुलो कुरा हो । यति बुझ्न नसकेर मानिस दुःखी हुने हो । दुःख मानिसको स्वभाव र परिस्थिति अनुसार समयले ल्याउने कुरा हो । स्वभाव विचारमा भर पर्छ । विचारलाई ज्ञानले निर्देशन गरेको हुन्छ । ध्यान, सतसङ्गत, उपदेश र अध्ययन अनुसार ज्ञान प्राप्त हुने कुरा हो । इच्छाले मनलाई निर्देश गर्छ । मनले शान्ति खोज्छ । शरीरले सुख खोज्छ । आत्माले आनन्द खोज्छ । जब मनलाई संयम राखी समर्पण भावना हुन्छ, तब मन हलुका हुन्छ । अनेकौँ कुरा खेलाई भारी बनाउँदा मन गह्रौँ हुन्छ । जति मन गह्रौँ हुन्छ, त्यति मन तल खस्छ । समुद्रमा खसेको ढुङ्गा प्रलय भएर माथि आउने सम्भावना छ तर तल खसेको कुकर्मी मन माथि आउन सम्भावना हुँदैन । त्यसैले मनमा समर्पणको भावना राख्न सक्नु उत्कृष्ट मनुष्य हुनु हो । समर्पणले मन खाली हुन्छ । खाली मनले शरीर नै हल्का हुन्छ । 

ज्ञानीले केही भएर सुख मान्दैन ।

ज्ञानीले केही नभएर दुःख लिँदैन ।।

शीत, ताप, हावा, हुरी जस्ता गतिविधिलाई पनि चेष्टा नगरी तपस्वीहरू एकचित्त लगाई तपस्या गर्छन् । मनको दुःख टाढा नभएसम्म चित्त सुखी हुन सक्दैन । नत्र आनन्द हामीबाट ताराझैँ टाढा हुन्छ । चित्त शुद्ध गर्न सके आनन्द त्यसै प्राप्त गर्छ । आनन्दलाई आत्माज्ञान पनि आवश्यक हुन्छ । आत्मज्ञान कर्मनिष्ठा र ज्ञाननिष्ठाबाट पाइन्छ । कर्मनिष्ठा र ज्ञाननिष्ठाबाट ब्रह्मास्वरूप स्पष्ट गर्न सके दुःख, चिन्ता, भय सदाका लागि निर्मूल हुन्छ । जे भए पनि चित्त बुझाउन जानेपछि बेसाइत पनि साइत हुने स्वाभाविकै हो । जब मानिस दृढ सङ्कल्प गर्छ, तब बेसाइत स्वतः साइतमा परिणत हुन्छ । पाण्डवले दृढ सङ्कल्पद्वारा महाभारत युद्ध जित्न सफल भएका हुन । बुद्धिमानी र महान् व्यक्तिले आत्मविश्वास र साहसले उल्लेखनीय काम गर्न सक्छन् । इतिहासका सफल पात्र हुन सक्छन् । सम्राट् अशोकले आत्माविश्वास र साहसले गर्दा इतिहासमा नाम लेखाउन सके । मनलाई संयम राख्न सक्ने व्यक्तिले राम्रो नराम्रो जे भए पनि यो हुने कुरा हो भनेर सन्तोष मानेर चित्त बुझाउँछ । लागेको चोट सहनै पर्छ, हाँसेर सहे पनि रोएर सहे पनि दुःखाइ त्यति नै हुने हो । कसरी सहने भन्ने आफ्नै ज्ञानमा भर पर्छ । 

अज्ञानबाट लालच र अहङ्कार बढ्छ । लालच र अभिमानले दुष्कर्ममा प्रेरित गर्छ । दुष्कर्म गरेपछि व्यक्तिले दुःख पाउँछ । अरूलाई पनि दुःख हुन्छ । छोरा दुर्योधनको मोहमा धृतराष्ट्र लिप्त थिए, जसबाट महाभारत युद्ध भयो । दुर्योधनको मतिले धृतराष्ट्र लोभले लाभ लाभले विलापमा परे । धृतराष्ट्रका आफ्ना सय पुत्र सखाप भए । दुष्चेष्टा भएपछि हेराइको दृष्टिकोण पनि कुदृष्टि हुन्छ । यसबाट दुष्परिणाम नै निस्कन्छ । दुष्परिणामबाट बच्न सम्यक दृष्टि हुनु पर्छ । सम्यक दृष्टिले सबैलाई आफ्नो ठान्ने आफू नै सबैको भन्ने भावना जागृत हुन्छ । यसबाट कसैलाई राम्रो गर्न नसके पनि नराम्रो गर्ने मनसाय हुँदैन । यसले धर्मको कार्य नभए पनि अधर्मको कार्यबाट वञ्चित हुन्छ । समर्पणले सबै गुमाएर पाइन्छ । बुद्धले सबै त्यागेर सबैभन्दा महत्वपूर्ण ज्ञान पाए । ज्ञानले आनन्द दिन्छ । आनन्द भएपछि केही कुराको आवश्यक पर्दैन । बुद्धले इच्छालाई शेषरहित बनाएर आनन्दको मार्ग पहिल्याए । 


जित्नु नै छैन भने खेल किन खेल्नु ।

लक्ष्य नै छैन भने यात्रा किन गर्नु ।। 

तृष्णा नै छैन भने इच्छा कसरी हुन्छ ।

साइत नचाहनेलाई बेसाइत कसरी हुन्छ ।।

इच्छा नहुनेलाई दुःख हुँदैन । दुःख नहुनेलाई सुख हुने हो । सुख खोजी कुकर्म गर्नेलाई पाप धुरीबाट कराउँछ र कुकर्मले चिन्ता हुन्छ । जहाँ चिन्ता हुन्छ, त्यहाँ अनिद्रा हुन्छ  ।


अनिद्राले रोग लाग्छ । यही दुःखको कारण बन्छ । 

सुख खोजी खोजी दुःख बोकी बोकी हिँड्ने । 

दुःख बोकी बोकी सुख खोजी खोजी हिँड्ने ।। 

सम्पूर्ण जितेर पनि मनलाई हार्न सकिन्छ । सम्पूर्ण हारेर पनि मनलाई जित्न सकिन्छ । यो दुनियाँ नै मन हो । अबोध मनले दुःख पाउँछ भने बोध मनले सुख पाउँछ । बुझेर यो चित्तलाई बुझाउन नसक्नु नै अबोध हुनु हो । जो अबोध मन्दबुद्धिले केही कुरा थाहा नभए पनि सबै कुरा थाहा भएको महसुस गर्छ । उसले अरूको कुरा काटेर आफ्नो कुरा माथि पार्छ । ऊ तर्कमा जिते जस्तो भए पनि हारेको हुन्छ । ज्ञानी चुप लागेर बस्छ, ऊ हारेर पनि जितिरहेको हुन्छ ।

सबैभन्दा बढी मौन भएर बस्नु हुने, भगवान् बुद्धको वाक्यशक्ति सबैभन्दा बढी उनको वाणी उल्लेखनीय चर्चामा छ । भगवान् बुद्धको मुखबाट निस्केको शब्द ज्ञानको उपदेश थिए । त्यसैले भगवान् बुद्धको उपदेश, दुःख निवारणका लागि उपयोगी भई निर्वाण प्राप्तिका लागि महत्वपूर्ण भएको हो । मनोमानी प्रयोजनहीन कुरालाई कसैले सुन्दैन । त्यस्तो अभिप्राय नभएको निरर्थक कुरा अस्तित्वविहीन हुन्छ । ज्ञानको परिपूर्ण शब्दमा शक्तिको प्रभाव हुन्छ । परिपूर्ण ज्ञान प्रज्ञापारमिताले मात्र दिन सक्छ । पूर्ण ज्ञान अभिव्यक्तिको आशयमा शब्द र अर्थमा प्रभाव हुन्छ । यस्तो विशिष्ट ज्ञानलाई अरूले महत्व राख्छन् । ज्ञानीले गरेको कुशल कर्मको अभिव्यक्तिलाई समाजले चर्चा परिचर्चा गर्छन् । यसका लागि सत्य र निष्ठावान् हुन जरुरी छ । सत्य र निष्ठावान्बाट भावना जागरुकता हुन्छ । 

सत्य र निष्ठावान्बाट ईश्वर भक्त भए शान्ति पाइन्छ । शान्तिबाट मनमस्तिष्कमा ऊर्जा आउँछ । ऊर्जाबाट चेतना जगेर्ना हुन्छ । चेतना जागृत भएपछि आत्माबल बलियो हुन्छ । आत्माबल बलियो भएपछि जति ठुलो विपत् भए पनि मुहारमा चिन्ता झल्किँदैन । श्रीकृष्ण भगवान्ले महाभारत युद्धमा अजुर्नको रथ होइन, महाभारत युद्ध हाक्नुभएको थियो । श्रीकृष्ण भगवान्मा चेतना जागृत भएको हुनाले चिन्ता झल्केन । 

हामीले पनि चेतना जगेर्ना गर्न सके, भगवान् बुद्धको उपदेशलाई अनुसरण गरी मनमा शान्तिको दीप जलाई आनन्द लिन सकिन्छ । मैनबत्ती आफू जलेर अरूलाई प्रकाश दिए झैँ हामीले पनि आफ्नो मनलाई उजागर गरी लोककल्याणको भलो गर्न सकिन्छ । ज्ञानलाई मनन गरी अरूलाई पनि पे्ररणा दिन सकिन्छ । यस्तो मनसायले मात्र सत्कर्म गर्न सकिन्छ । सत्कर्म गरेर सत्कर्मकै बिउ रोप्न सकिन्छ । सत्कर्मबाट मात्र मानव जन्म सार्थक हुन्छ । ज्ञानी मनुष्य सत्कर्म गर्न तल्लीन भई लाग्छन्, जसले गर्दा मानिसमा आत्मीयता, हार्दिकता, सहृदयता हुन्छन् । झुपडीमा बसेर पनि सन्तुष्ट भएर आनन्द पनि लिन्छन् । असन्तोषीलाई साइत पनि बेसाइत हुन्छ । सन्तोषीलाई बेसाइत पनि साइत हुन्छ ।