• ९ फागुन २०८२, शनिबार

नेपाली कागज उद्योग : कच्चा पदार्थको उपयोगदेखि स्थानीयलाई रोजगारी

blog

घोराही, फागुन ९ गते । दाङको देउखुरीस्थित राप्ती नेपाली हाते कागज उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग गर्दै १५० भन्दा बढी स्थानीयलाई रोजगारी प्रदान गरेको छ । आर्थिक सङ्कटका कारण जिल्लामा साना तथा घरेलु उद्योग सञ्चालनमा चुनौती थपिइरहेका बेला राप्ती गाउँपालिका–४ पिपरखुटीमा सञ्चालित यस उद्योगले स्थानीयलाई आयआर्जनमा जोडेको हो ।

विगत तीन वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले प्रत्यक्ष रूपमा दैनिक २४ जनालाई रोजगारी दिएको छ भने १५० भन्दा बढी स्थानीयले बाबियो सङ्कलन गरी आम्दानी गरिरहेका छन् । स्थानीय नौवटा सामुदायिक वनबाट वार्षिक २० लाख रुपियाँ बराबरको बाबियो सङ्कलन गरी वार्षिक सवा करोड रुपियाँको नेपाली हाते कागज उत्पादन गर्दै आएको उद्योगका सञ्चालक डम्बरबहादुर जिसीले बताउनुभयो ।

उद्योगले मासिक १० लाख रुपियाँको कागज दाङसहित बुटवल, काठमाडौँ, पोखरा, वीरगन्ज र पश्चिम नेपालका विभिन्न जिल्लामा बिक्री गर्दै आएको छ । “अहिलेसम्म उत्पादन भएको कागज बिक्रीमा समस्या छैन,” जिसीले भन्नुभयो । उद्योगका लागि आवश्यक लोक्ता पाँचथर र ताप्लेजुङबाट तथा रसायन भैरहवाबाट ल्याउने गरिएको छ । लोक्ता सङ्कलनका लागि वार्षिक ३० लाख रुपियाँ खर्च हुने गरेको छ ।

दैनिक सातदेखि आठ सय कोरी कागज उत्पादन गर्ने यस उद्योगले पाँच प्रकारका कागज बजारमा पठाउँछ । प्रति कोरी एक हजार ६०० देखि दुई हजार २०० रुपियाँसम्म बिक्री हुने गरेको छ । ४० लाख रुपियाँबाट सुरु भएको उद्योगमा अहिले लगानी एक करोड नाघेको छ ।


जिल्लामै करोडौँको नेपाली कागज उत्पादन गरिरहेको यस उद्योगलाई लुम्बिनी प्रदेश सरकारबाट भने सहयोग प्राप्त हुन नसकेको सञ्चालक जिसीको गुनासो छ । दाङका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिकाले मात्रै यस उद्योगको कागज खरिद गर्ने गरेको छ । 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सरकारी कार्यालयले नेपाली कागज प्रयोग गरिदिए स्थानीय उद्यम प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने बताउनुभयो । पालिकाले स्थापनाकालमा उद्योगलाई दुई लाख रुपियाँ सहयोग गरेको जानकारी दिँदै अध्यक्ष विष्टले भन्नुभयो, “सबैले स्थानीय उत्पादन किन्ने हो भने उद्योग सञ्चालनमा समस्या हुँदैन ।”