कलाले सौन्दर्यानुभूतिका साथै चेतना पनि झकझकाउँछ । कुनै कला देखेर यो फलानो कलाकारको कला हो वा यो देशका विषयमा बनाइएको कला हो भनेर चिन्न अलिक जटिल हुन्छ । जब अध्ययनको दायरामा कला आउँछ अनि कलाको सो विषय र परिस्थितिमा चर्चा हुने गर्छ । यसैकारण ह्वाइट प्यागोडा, मोनालिसा, दी लास्ट सपर, ग्वेर्निका आदि कलाले त्यस समयको सामाजिक, आर्थिक वा सांस्कृतिक विषयलाई आजपर्यन्त बोकिरहेका छन् ।
प्रस्तुत चित्र कलाकार उमेश श्रेष्ठको स्तरीय कलात्मक चेत र आफ्नो माटोको विषयमा बनाइएको छ । प्रख्यात कलाकार गुस्ताभ क्लिम्प्टको ‘दी किस’ नामक विश्वप्रसिद्ध चित्रबाट यो चित्र प्रभावित छ । चित्रको मुख्य विषय १३ औँ शताब्दीमा बनेको भारतीय कलाबाट लिइएको छ । जहाँ एक युगल जोडी काम मुद्रामा छन् । चित्रको यस विषयलाई कलाकारले एक रङ्गीय चित्रण प्रविधिबाट चित्रण गरेको देखिन्छ । चित्रको माथि गाढा निलो पृष्ठभूमि छ भने तल्लो भागमा हिमाल र नेपाली मठमन्दिर तथा नेपाली शैलीका घर रहेका छन् । यसलाई सुन्तला र कलेजी रङले देखाइएको छ । साथै बादललाई ज्यामितीय आकारमा देखाइएको छ । श्रेष्ठले चित्रको माथि भागमा पूर्ण चन्द्र बनाउँदै साना साना उज्यालो आकृति सिर्जना गरेका छन् । जसलाई कलाकारले तारापुञ्जका रूपमा देखाउने प्रयास गरेको देखिन्छ ।
विशेष गरी नेपाली घण्टी, मठ, मन्दिरका साथै नेपाली विम्बलाई चित्रमा उतार्न रुचाउने श्रेष्ठले क्लिम्प्टको ‘दी किस’ लाई नेपाली लोककलाको चुम्बनलाई होली किसका रूपमा उतारेका छन् । यो चित्र कलाकारले हालै काठमाडौँमा सम्पन्न हिमालयन नाउँ कला प्रदर्शनीमा राखेका थिए ।
केशवराज खनाल
–युवामञ्च