निशा राई
धरान, वैशाख ९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकोे अनुगमन गर्नुभएको छ ।
अनुगमनको क्रममा प्रतिष्ठानमा आयोजित छलफल कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूले शैक्षिक नीति, अनुसन्धानका गतिविधि तथा वर्तमान चुनौतीबारे जानकारी गराउनुभएको थियो ।
चिकित्सा शिक्षा आयोगको ऐनका कारण विद्यार्थी संख्या घट्दा उत्पन्न कठिनाइ, आर्थिक अभाव तथा सरकारबाट प्राप्त हुनुपर्ने बीमा भुक्तानी ढिलाइका कारण परेको आर्थिक संकटबारे मन्त्री पोखरेललाई प्रतिष्ठानका उपकुलपति प्रा.डा.विकम प्रसाद श्रेष्ठले अवगत गराउनुभएको थियो ।
शिक्षा मन्त्री पोखरेललाई आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन समेत प्रतिष्ठानका उपकुलपति प्रा.डा.श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो ।
छलफलका क्रममा प्रस्तुत विषयहरूमा चासो व्यक्त गर्दै सरकार प्रतिष्ठानका समस्या समाधानप्रति गम्भीर रहेको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले नीतिगत तथा आर्थिक जटिलता समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनुगमनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रृजना श्रेष्ठ, शिक्षा सचिव चूडामणि पौडेल लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा.शमशेर श्रेष्ठले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजीव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा.सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा.जगतनारायण प्रसाद, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, सहायक परीक्षा डीन डा.धनकेशर बड्का, मेट्रोन कला थापा तथा डेपुटी मेट्रोन विष्णुमाया तामाङ लगायतकोे समेत उपस्थिति रहेको थियो ।
यसैक्रममा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानकोसमेत अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा क्याम्पस प्रमुख काजीमान कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट लगायत क्याम्पसका अन्य समस्याहरु व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।
अनुगमन पश्चात शिक्षा मन्त्री पोखरेलले क्याम्पसको विस्तृत विवरण सहित क्याम्पस प्रमुखलाई मन्त्रालयमा आउन आग्रह गर्नुभएको छ ।