काठमाडौँ, कात्तिक ९ गते । हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउन पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेटगरी दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
नाम्खा –६ स्थित लिमी क्षेत्र, नार्पा भूमि–१ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँलगायत स्थानमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेका छन् । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फू क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको छ ।
प्रतिनिधिमण्डलको ज्ञापनपत्र ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र ‘इन्टरनेट’ सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नार्पा भूमिका दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच पु¥याउन पहल गर्ने विश्वास दिलाउनुभयो । देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदान–प्रदान, ‘डिजिटल’ भुक्तानीलगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्य हो ।
सिमिकोटका राजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रका रुपमा स्थापित गर्न तथा सञ्चारको पहँुच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गरिएको बताउनुभयो । लिमी र लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । तर, त्यहाँ पुग्ने विभिन्न पदमार्गहरुमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ । पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । लिमीमा तीनवटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।
“हाम्रो मुख्य माग लिमी लाप्चालगायत क्षेत्रमा सञ्चारको उपयोग गर्न पाउनुपर्छ भन्ने हो”, उहाँले भन्नुभयो, “बर्सेनि हजारौँ पर्यटक भित्रिने क्षेत्रमा सञ्चारको पहुँच स्थापित गर्न हुम्लावासीले पहलकदमी लिएका हौँ । यसले स्थानीयवासी र पर्यटकलाई राहत मिल्नेछ ।”
नेपाल पत्रकार महासङ्घ हुम्लाका सदस्यसमेत रहनुभएका रावतले आफूहरुको मागलाई सञ्चारमन्त्रीले सकारात्मक लिनुभएको र आगामी दिनमा हुम्लालगायतका सबै ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ती क्षेत्रमा टेलिफोन र इन्टरनेटको सहजता भएमा पर्यटक लाभान्वित हुनेछन् । लिमी क्षेत्रमा झन्डै ६ महिना हिमपात हुनेगर्छ । बाक्लो हिमपातले स्थानीय र पर्यटकलाई सञ्चार सम्पर्कमा कठिन हुने गरेको छ ।
लिमीका फुन्जोक छोपेल तामाङका अनुसार कैलाश मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पर्क गर्न तथा समयमै अस्पताल लैजान समस्या भएको छ । टेलिफोन र इन्टरनेट सेवा सुरु भए स्थानीयलाई राहत मिल्नाका साथै पर्यटकलाई सञ्चार आदान–प्रदानमा सहज हुने तामाङले बताउनुभयो ।
लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडका अध्यक्ष छिरिङ नेक्याप लामाले भिसेट फोन सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित निकायमा ताकेता गरिदिन सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सुदूर उत्तर पश्चिममा अवस्थित नाम्खा पर्यटकीय गन्तव्य हो । स्थानीयका अनुसार लिमी क्षेत्रमा वार्षिक १५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।
यस्तै मनाङको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जिङ लामाले वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँमा दूरसञ्चार सेवालाई दिगो तथा गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चारमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँका अनुसार ती क्षेत्रमा एक÷एकवटा नेपाल टेलिकमका टावर रहेको र इन्टरनेट सेवाका लागि टेकमाइन्स नेटवर्क प्रालिसँग सम्झौता भएको छ । रासस