• १४ पुस २०८२, सोमबार

पाल्हीनन्दनमा सडक सञ्जाल विस्तार

blog

रणनीतिक सडक सञ्जाल विस्तारको कार्य हुँदै ।

पुरुषोत्तम सुवेदी              

पश्चिम्  नवलपरासी, पुस १४ गते। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै रणनीतिक सडक सञ्जाल विस्तार कार्यलाई तीव्रता दिएको छ। गाउँपालिका–५, सिसवामा निर्माणाधीन रणनीतिक बाटो र पक्की नाली निर्माणको काममा अहिले तीव्रता दिएको हो।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले सिसवाको सडक निर्माण गाउँपालिकाकै एउटा गौरवको योजना भएको बताउनु भयो। उहाँले विकास निर्माणमा गुणस्तर र पारदर्शिता आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्नु भयो।

पछिल्लो समय गाउँपालिकाले सुन्दर र समृद्ध पाल्हीनन्दनको नारालाई सार्थक बनाउन गाउँका मुख्य सडकलाई स्तरोन्नति गर्ने कार्यलाई योजनाबद्ध रूपमा अगाडि बढाएको छ । सिसवा खण्डको यो निर्माणले स्थानीयको जनजीवन सहज बनाउनुका साथै गाउँको स्वरूप बदल्ने अपेक्षा गरिएको छ।

निर्माणका मुख्य विशेषतामा आधुनिक नालीतर्फ वर्षाको पानी सजिलै निकास हुनेगरी दुवैतर्फ पक्की ड्रेन, रणनीतिक सडकतर्फ गाउँलाई मुख्य राजमार्ग र बजारसँग जोड्ने फराकिलो बाटो विस्तार गर्ने लक्ष्य राखेको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले यो सडक खण्डले पालिकाको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताउनु भयो।

बजारमा पहुँच सहज

सिसवा क्षेत्र कृषि र व्यापारका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। यसअघि नालीको उचित व्यवस्था नहुँदा सामान्य वर्षामा पनि सडक जलमग्न हुने र स्थानीयको घरमा पानी पस्ने समस्या थियो। अहिले आधुनिक पक्की नाली निर्माण भएपछि पानीको निकास व्यवस्थित हुने भएको छ।

यस सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सिसवा मात्र नभई आसपासका वडाका बासिन्दालाई समेत सदरमुकाम परासी र अन्य छिमेकी पालिकासम्म पुग्न सहज हुने छ। गाउँपालिकाले यस आर्थिक वर्षभित्र अन्य वडामा पनि यस्तै रणनीतिक सडक विस्तार गर्ने लक्ष्य राखेको छ।