• २४ वैशाख २०८१, सोमबार

मध्यपूर्वको गहिरो सङ्कट

blog

रामप्रसाद आचार्य

इजरायल र हमासबीचको जारी युद्धले मध्यपूर्वको शान्ति प्रक्रिया गम्भीर सङ्कटमा परेको छ । यो युद्ध लम्बिँदै जाँदा क्षेत्रीय युद्ध हुने खतरासमेत बढेको छ । प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकुको आक्रमणमा करिब १२ सय इजरायली मारिएपछि इजरायल हमास समाप्त पार्न युद्धमा होमिएको छ । 

गाजा क्षेत्रभित्रका अधिकांश बासिन्दाको घरमुनि बङ्कर बनाएर बसेका हमासका लडाकुलाई समाप्त पार्न अत्यन्तै कठिन छ । हमासका लडाकुलाई मार्न खोज्दा गाजा क्षेत्रका निहत्था तथा निर्दोष मानिससमेत मरिरहेका छन् । इजरायली सैन्य कारबाहीमा २१ हजारभन्दा बढी मानिस मारिएको दाबी गरिएको छ । मारिनेमध्येमा आठ हजारभन्दा बढी बालबालिका छन् । २० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् । युद्धले गाजा क्षेत्र ध्वस्त भएको छ ।

इजरायल सरकारले हमासलाई समाप्त पार्ने भन्दै खाद्यान्न आपूर्ति बन्द गर्दै गाजा क्षेत्रमा भीषण कारबाही जारी राख्दा त्यहाँ चरम मानवीय सङ्कट देखा परेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा अहिले दस जनामध्ये नौ जनाले दुई छाक खान पाएका छैनन् अर्थात् लाखौँ गाजावासी चरम खाद्यान्न सङ्कटमा छन् । बालबालिकाले पेटभरी खान पाएका छैनन् । उनीहरू विद्यालय जानबाटसमेत वञ्चित भएका छन् । 

यतिखेर गाजा क्षेत्र नर्कतुल्य बनेको छ । त्यहाँ चरम आतङ्कपूर्ण अवस्था छ । आमनागरिक मृत्यु कुरेर बसिरहेका छन् । कति बेला को कहाँ मारिने हुन् भन्ने चिन्ता र त्रास छ । संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले इजरायल र हमास दुवैले युद्ध अपराध गरेको बताएका छन् तर उनीहरूलाई कारबाहीको दायरामा कसले ल्याउने ? अमेरिका खुलेरै इजरायलको रक्षाकवच बनेको छ । इजरायललाई आत्मरक्षाको अधिकार भन्दै अमेरिकाले राष्ट्रसङ्घमा इजरायली कारबाहीविरुद्ध ल्याइएको प्रस्तावमाथि भिटो प्रयोग गरेर विफल तुल्याइदिएको छ । अमेरिकाको आडमा इजरायल थप आक्रामक बनी हमास समाप्त पार्ने भन्दै क्रुर कारबाही गरिरहेको छ । 

इजरायलले आक्रमणकारी हमास लडाकुविरुद्ध मात्र प्रत्याक्रमण केन्द्रित गर्न नसक्दा गैरसैनिक हताहती अत्यधिक बढेको हो । यो कुरा स्वयं इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि स्वीकारेका छन् । सबै क्षेत्रबाट गैरसैनिक  हतहती बढेको भन्दै चिन्ता र चासो व्यक्त गरिए पनि इजरालले हमास समाप्त नपारेसम्म कारबाही नरोकिने बताएको छ । हमासको पक्षमा ठूलो क्षति नभएको र सर्वसाधारण नै धेरै मारिएकाले हमास नेतृत्व तत्काल युद्धबाट पछि हट्ने वा आत्मसमर्पण गर्ने पक्षमा देखिएको छैन । जसले गर्दा गाजा क्षेत्रलगायत सम्पूर्ण प्यालेस्टिनी भूमिमा अझ ठूलो रक्तपात हुने खतरा बढेको छ । 

यस्तो खतरा देखेर नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र अमेरिका विरोधमा हुँदाहुँदै पनि गाजा क्षेत्रमा मानवीय उद्धारका लागि बडापत्रको धारा ९९ लागू गरे । इजरायल भने महासचिव गुटेर्रेसको यो कदमप्रति रुष्ट बन्यो । उसले यो कदम स्वीकार नगर्ने भन्दै महासचिवको राजीनामा माग गर्‍यो । बडापत्रको धारा ९९ लागू गरेपछि बसेको राष्ट्रसङ्घको बैठकले युद्ध रोक्ने पक्षमा मतदान गर्‍यो तर युद्ध रोकिएन ।

तत्कालीन प्यालेस्टिनी नेता यासेर अराफातलाई कमजोर बनाउन अमेरिकाकै डिजाइनमा हमास समूह गठन भएको मानिन्छ तर अहिले यो समूह नै टाउको दुःखाइ बनेको छ । हमासलाई इजरायल, अमेरिका र युरोपेली सङ्घले आतङ्कवादी समूह भन्छन् । सन् २००६ मा फताहलाई हराएर गाजा क्षेत्रमा हमासले प्रशासन चलाउँदै आएको छ । 

इजरायल र प्यालेस्टाइन विवाद आजको होइन, धेरै वर्षदेखिको हो । सन् १९४८ को मे १४ मा इजरायल स्थापना भयो । यो कदमलाई प्यालेस्टाइन र अरबले स्वीकार गरेनन् । फलस्वरूप सन् १९४९ मा अरब र इजरायलबीच युद्ध भयो । युद्ध इजरायलले जित्यो । सात लाख पचास हजार प्यालेस्टिनी विस्थापित भए । सन् १९५६ मा अरब र इजरायलबीच  दोस्रो युद्ध भयो । यो युद्धमा इजरायलले इजिप्टको सिनाई प्रान्त कब्जा गर्‍यो । 

सन् १९६७ मा इजरायलमाथि इजिप्ट, जोर्डन र सिरियाले आक्रमण गरे । छ दिन युद्ध भयो । इजरायलले सिरियाको गोलान हाइट नियन्त्रणमा लियो । सन् १९७९ मा क्याम्प डेभिड सम्झौता भयो तर कार्यान्वयन भएन । सन् १९८७ मा प्यालेस्टिनीहरूले ठूलो विद्रोह गरे । इजरायलका प्रधानमन्त्री यित्ज्याक रविन र प्यालेस्टिनी नेता यासेर अराफातबीच सन् १९९३ मा ओस्लो सम्झौता भयो । यो सम्झौता अनुसार पश्चिमी किनारा र गाजा क्षेत्रमा प्यालेस्टिनीको स्वशासन कायम हुने सहमति भयो । यसमा फताह समूह सहमत भएन र उसले विद्रोह गर्‍यो । 

सन् २००६ को चुनावमा गाजा क्षेत्रमा फताह हार्‍यो र हमासले जित्यो । गाजा क्षेत्रबाट इजरायलले सेना फिर्ता गर्‍यो । सेना फिर्ता गरेपछि पनि परिस्थिति सहज भएन । इजरायल र हमासबीच सम्बन्ध राम्रो भएन । इजरायल र हमासबीच पटक पटक युद्ध भयो । युद्धमा पराजित भए पनि हमासले बेला बेलामा इजरायलमाथि  आक्रमण गरी इजरायली सुरक्षामाथि चुनौती दिन छाडेन ।

गत अक्टोबर ७ मा इजरायलको इतिहासमै नभएको ठूलो आतङ्कवादी आक्रमण भयो । हमासका लडाकुले गाजा क्षेत्रबाट पाँच हजारभन्दा बढी रकेट प्रहार गर्दै इजरायलको सुरक्षा घेरा नाघेर प्यारासुटमार्फत इजरायल प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरे । इजरायली सुरक्षा व्यवस्थालाई अस्तव्यस्त बनाई हमासका लडाकुले करिब १२ सय जनाको हत्या गर्नुका साथै २४० जनालाई बन्धक बनायो । त्यसपछि आक्रोशित इजरायल सरकारले गाजा क्षेत्रमा खाद्यान्न, औषधि, पानी, विद्युत् बन्द गर्दै प्रत्याक्रमण सुरु गर्‍यो ।   

इजरायल र प्यालेस्टिनी हमासबीच यस पटक इतिहासमै नभएको क्रुर र अमानवीय युद्ध भएको छ । दुवै पक्षले युद्धको नियम र सीमा पालना गरेनन् । युद्धमा निहत्था महिला, बालबालिका, वृद्धवृद्धा, बिरामी, चिकित्सक, पत्रकार, विदेशी नागरिकको बीभत्स हत्या भएको छ । 

युद्धरत दुवै पक्षबीच युद्धविराम गराउन पटक पटक प्रयास भएको छ  । पछिल्लो पटक कतारको मध्यस्थतामा सात दिनका लागि युद्धविराम भयो र इजरायल र हमास दुवैले केही बन्धक मुक्त गरे तर युद्धविरामले निरन्तरता पाएन । फेरि युद्ध चर्कियो ।

झुक्याएर आक्रमण गरी इजरायलभित्र क्षति पुर्‍याए पनि शक्तिशाली इजरायलसँग कमजोर हमासले युद्ध जित्न सक्दैन । तैपनि इरान, सिरिया, लेवनानलगायतबाट सहयोग जुटाएर हमासले इजरायलविरुद्ध बेला बेलामा आक्रमण गरी इजरायली सुरक्षामाथि चुनौती दिँदै आएको छ ।

सन् १९४८ मा इजरायल स्थापना हुनुअघि यहुदीहरू राज्यविहीन थिए भने त्यसयता आफ्नै भूमिमा प्यालेस्टिनीहरू राज्यविहीन बनेका छन् । राज्यविहीन हुँदाको पीडा भोगिसकेका यहुदीले अहिले प्यालेस्टिनीहरूलाई राज्यविहीन नबनाउनुपर्ने हो । गाजा क्षेत्र, पूर्वी जेरुसेलम र पश्चिमी किनारालगायतको प्यालेस्टिनी भूमि इजरायल अधीनस्थ छ । अधिकारकै विषयमा विगत सय वर्षदेखि दुवै पक्षबीच द्वन्द्व जारी छ । द्वन्द्व समाधान गर्न अहिलेसम्म भएका प्रयास सार्थक हुन सकेका छैनन् ।

अमेरिका र बेलायतको सहयोगमा इजरायल मध्यपूर्वकै शक्तिशाली राष्ट्र बनेको हो तर प्यालेस्टिनीहरूसँगको अन्त्यहीन विवादले इजरायल सुरक्षित छैन । हरेक पटक युद्ध जिते पनि इजरायल सुरक्षित हुन सकेन । मध्यपूर्वका अधिकांश मुस्लिम देश इजरायलको विरोधमा छन् । प्यालेस्टिनीमाथि बारम्बार भइरहेको इजरायली दमनप्रति उनीहरू रुष्ट छन् । 

इजरायलमा सबैभन्दा लामो समय शासन गर्दै अहिले छैटौँ पटक प्रधानमन्त्री बनेका ७४ वर्षीय  बेन्यामिन नेतान्याहु दमन गरेरै प्यालेस्टिनीलाई तह लगाउने पक्षमा छन् । नेतान्याहुको यसअघिको १२ वर्षे शासनकालमा दुई पटक भीषण युद्ध भयो । सन् २०१२ को अन्त्य र सन् २०१३ को सुरुमा भएको इजरायल र प्यालेस्टाइनबीचको युद्धले चर्को रूप लिएको थियो । यस युद्धमा प्यालेस्टाइन पक्षमा ठूलो क्षति भयो । त्यसै गरी गत सन् २०२१ को मेमा भएको ११ दिने युद्धले पनि नराम्रो रूप लियो । यस ११ दिने युद्धमा १२ इजरायली र दुई सय ३० प्यालेस्टिनीको मृत्यु भएको थियो । 

सन् २०१२ को नोभेम्बरमा इजरायल र प्यालेस्टाइनबीच आठदिने भीषण युद्ध भयो । इजरायली सेनाले गरेको हवाई कारबाहीमा प्यालेस्टिनी हमासका सैन्य प्रमुख अहमद जावरी मारिएपछि सुरु भएको युद्धमा एक सय ६५ प्यालेस्टिनीको ज्यान गयो भने एक हजारभन्दा बढी घाइते भए । इजरायली सेनाको भीषण बमवर्षा र क्षेप्यास्त्र आक्रमणबाट गाजा क्षेत्रस्थित हमासको प्रशासनिक मुख्यालयदेखि थुप्रै भौतिक संरचना क्षतिग्रस्त भएका थिए ।