• २६ मंसिर २०८१, बुधबार

मुगुका मुगाली

blog

कर्णाली अञ्चलको मुगु जिल्लाका केही स्थानमा बाक्लो बसोबास रहेकाले यिनीहरूलाई मुगाली भनिएको हुन सक्छ । जिल्लास्थित मुगुकरण/मुगुकरन भन्ने स्थानमा यिनीहरूको बाक्लो बसोबास रहेकाले पनि यिनीहरू मुगाली कहलाएका हुन सक्छन् । 

अर्कोतर मुगालीको बसोबास रहेको क्षेत्र मुगालबाट मुगुको नामकरण भएको पनि हुन सक्छ । नेपालमा कतिपय स्थानको नाम जाति, थर वा पद विशेषले रहेका छन् भने कतिपय जातिको नाम, थर, स्थान विशेषले रहेका अनेकौँ प्रमाण भेटिन्छन् । मुगालीलाई मुगाल वा मुगुम पनि भनिन्छ । उनीहरू आफूलाई मुकुम्पा वा मुकुम भन्छन् । 

मुगुको सदरमुकाम गमगढीको उत्तरपूर्वमा पर्ने सबैभन्दा ठूलो स्थानीय तह मुगुम कार्मारोङ गाउँपालिकामा मुगाल (मुगुम) समुदायको उल्लेख्य बसोबास छ । कतिपयले उनीहरूलाई तिब्बती, तामाङ वा भोटे पनि भन्छन् तर मुगाली यी जातिभन्दा भिन्न मानवशास्त्रीय अस्तित्वमा पाइन्छन् । मुगाल गाउँपालिका पूर्वमा डोल्पाको से–फोक्सुन्डो गाउँपालिका र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएकाले मुगालीको सामाजिक जनजीवनमा डोल्पो तथा तिब्बती जनसमुदायको प्रभाव परेको हुन सक्छ ।  

मुगुको मुगु, माङरी, दाउरा, बोङ्ग्री, कातिका, डोल्फु, मह, करन, ब्युते, कृमीलगायत १२ गाउँ क्षेत्र (करन/करण) र मुगु एक गाउँलाई मुगालीको आदि बसोबास मानिएको छ । यी गाउँमा बस्ने मुगालीलाई बाह्रकरण वा करन (बाह्रगाउँले) पनि भनिन्छ तर मुस्ताङका थकाली जातिमा प्रचलित आठगाउँले र बाह्रगाउँले भन्नेमा यिनीहरू पर्दैनन् । मुगु जिल्लाभित्र मुगु गाउँ रहेको छ । 

मुगुका अतिरिक्त कालीकोट, जुम्ला, दार्चुलातिर पनि मुगालीहरूको बसोबास पाइएको छ । यिनीहरूको अनुहारको बनोट, रङ, उचाइ तथा बाहिरी स्वरूप तिब्बतीको जस्तै देखिन्छ । बौद्ध धर्म मान्ने यिनीहरूले सोनाम ल्होसारलाई विशेष पर्वका रूपमा मान्छन् । मुगाली समाजमा लामाको निर्णयलाई आधिकारिक मानिन्थ्यो तर अहिले यस्तो जातीय प्रथा तथा संस्कारमा क्रमशः विघटन आउँदैछ । चाडपर्व, रीतिरिवाजमा लामाको विशेष मूल्य, मान्यता, हैसियत तथा भूमिका रहन्छ । परिवारमा महिलाको निर्णायक शक्ति छ । महिलाको दोस्रो विवाहलाई स्वाभाविक रूपमा लिइन्छ । 

व्यापार, चरिचरण र नियमित जनसम्पर्क रहेकाले मुगालीका सामाजिक रहनसहन, भाषा तिब्बतीसँग मिल्दोजुल्दो छ । जसलाई मर्दापर्दा, जुठोसुत्केरो विवाह, पारपाचुकेलगायत अन्य जातीय चाडपर्वमा लामा गुरुहरूको भूमिका निर्णायक हुन्छ । उनीहरूले भने अनुसार गर्नुपर्छ । जन्म, छेवर, विवाह, मृत्युलगायतका जातीय सांस्कृतिक विधि, विधानमा लामा गुरु अनिवार्य मानिन्छन् । मागी र स्वेच्छिक विवाह गरिन्छ तर यस्ता विवाहलाई लामाले विधिपूर्वक अनुमति दिनुपर्छ । 

लासलाई गाड्ने वा जलाउने गरिन्छ तर के गर्ने भनेर लामाले भने अनुसार हुन्छ । अन्तिम संस्कार गर्नुअघि शवलाई पितृको रूपमा  पूजा गरिन्छ । त्यसपछि जलाउनेलाई चिता बनाएर जलाइन्छ र जलाएर रहेको खरानीलाई जमिनमा गाडेर अन्तिम बिदाइ गरिन्छ । यी सबै कार्यमा बौद्ध विधि र लामाद्वारा गरिने प्रक्रिया अनिवार्य छन् । मुगालीमा प्रथाजन्य संस्था, कानुन र परम्परा थिए तर आधुनिकीकरणका कारणले यस्ता परम्परा तथा प्रचलन मासिँदै छन् । मुगाली समुदायमा चोवा (च्वोवा) र गोवा (ग्वोवा) को राजनीतिक भूमिका थियो तर गाउँपालिका जस्ता राजनीतिक तथा अन्य प्रशासनिक संरचनाका कारण एकातिर मुगालीहरूको मूल प्रवाहीकरण भएको छ भने अर्कोतिर जातीय परम्परा र संस्थाहरू कमजोर हुँदै गएका छन् । 

यिनीहरूको भाषा भोट चिनियाँ परिवारमा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुगाली भाषाका वक्ता दुई हजार ८३४ रहेका छन् । मुगाल भाषामा गोरखापत्रले सञ्चार सामग्री प्रकाशन गर्दै आएको छ । राष्ट्रिय जनगणना २०७८ मा मुगालको जनसङ्ख्या दुई हजार १२४ रहेको छ । २०५८ र २०६८ सालको जनगणनामा यिनलाई उल्लेख गरिएको थिएन । लामा, तामाङ, दावाजस्ता थर प्रयोग गर्नाले मुगालीको जनसङ्ख्या अन्य जातिमा मिसिएको हुन सक्छ । 

जातिको कुल जनसङ्ख्याभन्दा भाषाका वक्ता सङ्ख्या धेरै देखिएकाले पनि यो पक्ष विचारणीय छ । विगतमा नागरिकता प्रमाणपत्र वितरण टोलीमा खटिएका कतिपय सरकारी अधिकारीद्वारा मुगालीलाई ‘तामाङ’ थर लेखे नागरिकता दिने, सो नलेखे नदिने गरिएकाले पनि मुगालीको जनसङ्ख्या कम भएको हुन सक्छ ।  

यिनीहरूको मुख्य पेसा कृषि र पशुपालन हो तर यिनीहरू तिब्बत र भारततिरको व्यापारमा पोख्त छन् । नेपालको जडीबुटी, मुगा, छुर्पी, घिउ च्याङ्ग्रा, ऊनी सामग्री तिनीहरूले तिब्बत र भारततिर बिक्री गर्छन् भने उताबाट लत्ताकपडा र खाद्यान्न आयात गर्छन् । मुगाली गुरुहरूले बौद्ध धर्म पुस्तक तथा तिब्बती भाषामा पढ्ने पढाउने गरे पनि आम रूपमा यिनीहरू निरक्षर छन् । मूलतः बाह्रकरानका मुगाल खेती, किसानी, पशुपालन गर्छन्, मुगुका मुगालहरू व्यापारमा बढी केन्द्रित छन् । व्यापारको सिलसिलामा मुगालीहरू अन्य जिल्लामा पनि पुगेका छन् । सरकारी नोकरी तथा प्रशासनमा मुगालीको उपस्थिति न्यून छ । अल्पसङ्ख्यक यिनीहरूको राजनीतिक सहभागिता पनि कम छ । मुगा गाउँपालिकामा भने मुगाली समुदायबाट वडाध्यक्ष निर्वाचित भएका छन् । वि.सं. २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक कोटामा मुगाली समुदायबाट पहिलो पटक छिरिङ ल्हामु लामा (मुगाली) सांसद भएका छन् । 

नेपाल सरकारद्वारा आदिवासी जनजातिमा सूचीकृत मुगालीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सीमान्तीकृत समूहमा राखेको छ । 


–त्रिभुवनचन्द्र वाग्ले