मस्को, असार, २८ गते । युक्रेनी सेनाद्वारा खेरसोन क्षेत्रको आलेश्की शहरमा गरिएको हवाई आक्रमणका कारण एक आवासीय भवन पूर्ण रूपमा भत्किएको छ, जसमा दर्जनौं मानिस भग्नावशेषमा फसेका छन् । उक्त जानकारी खेरसोनका गभर्नर भ्लादिमिर साल्दोले शुक्रबार टेलिग्राममार्फत दिनुभयो ।
उहाँका अनुसार, मस्को समयअनुसार दिउँसो ४ बजे तिर भवनमा दुई वटा हवाई बम प्रहार गरिएको थियो, जसका कारण भवन भत्किँदै ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, हालसम्म यकिन सङ्ख्या खुल्न बाँकी छ । घटनास्थलमाथि युक्रेनी ड्रोन निरन्तर गस्ती गरिरहेकाले उद्धारकर्मी तथा स्थानीय निकायका कर्मचारीहरूले सुरक्षित रूपमा भग्नावशेष हटाउने काम सुरु गर्न नसकेको साल्दोले जानकारी दिनुभयो । उक्त क्षेत्रको सुरक्षास्थितिका कारण उद्धार कार्यमा गम्भीर चुनौती आएको जनाइएको छ । रासस/सिन्ह्वा