• २८ असार २०८२, शनिबार

भूमिगत जलको सङ्कट समाधानका लागि तिनै तहका सरकारले ध्यान दिनुपर्छ : काँग्रेस नेता निधि

blog

श्री धर्म संस्थाको १२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै काँग्रेस नेता विमलेन्द्र निधि तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, असार २८ गते। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गर्मी याममा तराई मधेश क्षेत्रमा देखिएको भूमिगत जलको सङ्कट समाधानका लागि तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामस्वरुप साह र रामसागर साहद्वारा २००१ सालमा स्थापना गरिएको श्री धर्म संस्थाको १२ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले तराई मधेशको २२ जिल्लामा भूमिगत जलको सङ्कट देखिएको जसकारण गर्मी याममा चप्पाकल सुक्न थालेर खानेपानीको हाहाकार हुने गरेकोले तिनै तहको सरकारले यस क्षेत्रमा पानी पुनर्भरणको साथै चुरे क्षेत्रको संरक्षण र वृक्षरोपणको कामकाजलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले तिनै तहका सरकारले खानेपानीको अभाव भएको ठाउँमा तत्काल समस्या समाधान गरी यस समस्याको निदानका लागि दीर्घकालीन योजना निमार्ण गर्नुपर्ने बताउनुभयो।उहाँले समाज रुपान्तरणको कामकाजमा सङ्घ संस्थाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मधेश प्रदेशको शिक्षा क्षेत्रको उत्थानका लागि रामस्वरुप साह र रामसागर साहले दिनुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले पर्यटन प्रवर्धनका लागि भारतको अयोध्याधाम र जनकपुरधाम बिचको कनेक्टीभिटी भएमा भारतीय पर्यटक नेपाल आउने र यसले नेपालको अर्थतन्त्रमा मद्दत पुग्ने बताउनुभयो।श्री धर्म संस्थाका सभापति ताराचन्द्र साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कमला बचाऊ अभियानका संयोजक विक्रम यादवलाई सम्मान गरिएको थियो।