नेपालको इतिहास, समाज र संस्कृति जति पुराना छन्, त्यति नै पुरानो छ, नेपाली जनताको कलात्मक अभिव्यक्तिको खोज । साहित्य, गीत सङ्गीत, नाटक हुँदै जब नेपाली चलचित्र जन्मियो; त्यो हाम्रो मौलिकताको चलचित्र क्यानभासमा ऐतिहासिक मोड साबित भयो । आज नेपाली चलचित्र उद्योग केवल मनोरञ्जनको साधन मात्रै होइन, अर्थतन्त्र, रोजगारी, संस्कृति र राष्ट्रिय पहिचानको एक स्तम्भ बन्दै गएको छ ।
नेपाली चलचित्रको इतिहासको सुरुवात २००९ सालमा प्रदर्शित ‘राजा हरिश्चन्द्र’ बाट भएको मानिन्छ । ‘राजा हरिश्चन्द्र’ भाषा मात्रै नेपाली भएको भारतीय चलचित्र हो । यद्यपि पूर्ण रूपमा नेपाली भाषामा निर्मित पहिलो चलचित्र ‘आमा’ (२०२१ साल) लाई औपचारिक सुरुवात मानिन्छ । ‘आमा’ प्रदर्शन मिति २०२२ असोज १५ गतेलाई नेपाल सरकारले राष्ट्रिय चलचित्र दिवस घोषणा गरेको छ । त्यसपछिका दशकहरूमा ‘मनको बाँध,’ ‘कुमारी’ जस्ता चलचित्रहरू आयो, जसले नेपाली दर्शकमा चलचित्रप्रतिको मोह र सांस्कृतिक चेतनालाई विस्तार गर्दै लग्यो ।
सुरुवाती दिनबाट अहिलेको यात्रासम्म आउँदा नेपाली चलचित्रमा व्यावसायिक रङ थपिएको छ । दर्शकले मौलिक विषय र परिवेशका सिनेमालाई आफ्नो कथा ठाने । कलाकारको स्टारडम बिस्तारै स्थापित हुन थाल्यो । २०५० तिर आएर तुलसी घिमिरे, दयाराम दाहाल, नीर शाह, शिव रेग्मी, उज्ज्वल घिमिरेलगायत निर्देशकहरूले सशक्त विषयवस्तु, प्राविधिक सुधार र मौलिकता ल्याउँदै नेपाली फिल्मलाई अगाडि बढाए । नेपाली चलचित्रको प्रारम्भिक चरणमा कथावस्तु सरल, पारिवारिक र सामाजिक हुन्थे । ‘आमा,’ ‘मनको बाँध,’ ‘कुमारी’ आदि चलचित्रहरूले पारिवारिक र राष्ट्र भावनालाई समेट्दै समाजमा चलचित्रप्रतिको रुचि विकास गरे । २०४० र २०५० को दशकसम्म आइपुग्दा चलचित्रमा रोमान्स, समाजशास्त्र र राष्ट्रियताको भाव बढ्यो । राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर जस्ता कलाकारले ‘स्टारडम’ स्थापित गर्नुभयो ।
सीमित बजारबाट उठेको नेपाली चलचित्रले आफ्नो बजारलाई विस्तार गरिरहेको छ । अब चलचित्र उद्योग पूर्ण व्यावसायिक सफलतातिर लम्किरहेको छ । नेपाली चलचित्र बजारले पछिल्ला केही वर्षमा चमत्कारी परिवर्तनको सङ्केत देखाएको छ । यो अवस्थाले नेपाली चलचित्रलाई केवल कला होइन, व्यापारको दृष्टिले पनि अब्बल बनाउने सङ्केत देखाएको छ । पछिल्लो समय प्रवासमा रहेका नेपालीले समेत नेपाली चलचित्र हेर्ने परम्परा फरक भएको देखिन्छ । सुरुवाती दिनमा नेपाली मिलेर चलचित्रको च्यारिटी गर्ने परम्परा थियो । अहिले अधिकांश देशमा सुविधासम्पन्न हलमै चलचित्र हेर्ने अभ्यासको सुरुवात भएको छ । कतिपय देशमा त नियमित प्रदर्शनमै नेपाली चलचित्र प्रदर्शन हुने गरेको छ । दुबई, मलेसिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके, जापान, दक्षिण कोरियालगायतका देशमा नेपाली फिल्मको सो हाउसफुल हुनुले यसले प्रवासी बजारमा ठुलो सम्भावना बोकेको छ भन्ने प्रस्ट हुन्छ ।
अर्कोतर्फ ओटिटी प्लेटफर्मको बढ्दो प्रयोगले बजार विस्तारको अर्को ढोका खोलिदिएको छ । अब चलचित्र निर्माणकर्ता ‘थिएटर रिलिज’ मात्र होइन, अनलाइन माध्यमबाट पनि लाखौँ दर्शकसम्म पुग्न सक्षम भएका छन् । २०८०/८१ सालमा १५ भन्दा बढी चलचित्रहरूले १० करोडमाथिको कारोबार गरे । तीमध्ये ‘पूर्णबहादुरको सारङ्गी’ ले ४७ करोडको कीर्तिमान बनायो । यो वर्षलाई व्यापारिक हिसाबले ‘नेपाली चलचित्रको स्वर्णिम वर्ष’ भनेर पनि चिनाउन थालिएको छ । सानो बजेटबाट सुरु भएको चलचित्र अहिले करोडौँको लगानीमा निर्माण हुन थालेको छ । अहिलेको अवस्थामा व्यापार गर्ने क्षमताको हिसाबले नेपाली चलचित्र बजार ३० करोडदेखि ५० करोडसम्मको एकल चलचित्र व्यापार गर्न सक्ने क्षमतामा प्रवेश गर्दै छ, जुन ऐतिहासिक प्रगतिका रूपमा लिन सकिन्छ । चलचित्र बजारलाई अझ बलियो बनाउनका लागि बक्स अफिस प्रणाली, मार्केटिङ अभियान, अन्तर्राष्ट्रिय फिल्म बजारसँगको समन्वय र डिजिटल वितरणको पूर्वाधार आवश्यक छ, जसमा हाल चलचित्र विकास बोर्ड अग्रसर देखिन्छ ।
नेपालमा चलचित्र उद्योगले वार्षिक झन्डै तीन अर्ब रुपियाँ बराबरको व्यापार गर्ने गरेको छ । यो नेपाली र नेपालमा प्रदर्शन हुने विदेशी चलचित्रको तथ्याङ्क हो । नेपाल सरकारले चलचित्र उद्योगबाट प्रत्यक्ष कर र अन्य राजस्वका रूपमा प्रतिवर्ष करिब ३५ करोड रुपियाँभन्दा बढी राजस्व उठाउने गरेको छ । यो कर रकम कर, भ्याट, मनोरञ्जन करलगायतका विभिन्न करमार्फत सङ्कलित हुन्छ । पुरानो समयको सीमित प्रविधिबाट आजको चलचित्र निर्माणमा उच्चस्तरको क्यामेरा, भिएफएक्स, कलर ग्रेडिङ, साउन्ड डिजाइन, प्रोफेसनल स्क्रिप्टिङ र उच्च प्रविधिको पोस्ट प्रोडक्सनको प्रयोग हुन थालेको छ । यो विकाससँगै निर्देशकीय दृष्टिकोण पनि सशक्त बनिरहेको छ । पछिल्लो समय नेपाली चलचित्रमा आदिवासी जनजातिका कला, भाषा, भेषभूषा, संस्कृति र कथाहरूको प्रभावशाली समावेश हुँदै गएको छ । उदाहरणका लागि कालो पोथी, सेतो सूर्य, त्यान्द्रो, भुइँमान्छे, फूलबारी, गाउँ आएको बाटो, जारी, कबड्डी सिरिज, छक्का पञ्जा सिरिज, चिसो मान्छे, पूर्णबहादुरको सारङ्गी, पशुपतिप्रसाद जस्ता चलचित्रले मौलिक जनजीवन, भाषा र पहिचानलाई सिनेमामा प्रस्तुत गरेको छ ।
जनजातिको भाषा, वेशभूषा, संस्कृति र जीवनशैलीलाई उजागर गर्ने प्रवृत्ति बढेको छ । चलचित्रले जातीय विविधता प्रस्तुत गर्दै मौलिकता, रैथानेपन र सामाजिक सचेतनालाई फिल्ममा जोड्न सफल भएका छन् । यसले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको सन्देश फैलाएको छ । यसरी रैथाने कथालाई समेटेर नेपाली फिल्महरूले मौलिकताको उचाइ छोएका छन् । यसले दर्शकमाझ थप आत्मीयता जगाएको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्रलाई उभ्याउन मद्दत पु¥याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चलचित्र उद्योगले पहिलो पटक राष्ट्रिय प्राथमिकता प्राप्त ग¥यो । प्रम ओलीले भारत भ्रमणमा नेपाली कलाकारलाई पहिलो पटक सरकारी टोलीमा सहभागी गराउनुभएको थियो, जसमा महानायक राजेश हमाल र निर्देशक दिनेश डिसी पनि हुनुहुन्थ्यो ।
त्यसपछिका दिनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विकास बोर्डको नेतृत्वमा दिनेश डिसीलाई कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्नुभएपछिको चरण विशेष उल्लेखनीय छ । बोर्डले संस्थागत सुधार, बजेट व्यवस्थापन, अनुदान प्रक्रिया पारदर्शी बनाउने र चलचित्र लक्षित कार्यक्रम सञ्चालन गर्न थालेको छ । यो पहिले पनि नभएको भने होइन तर क्रमशः सुधारोन्मुख आशा जाग्दो कार्यक्रमले अहिलेको अवस्था पहिलेको भन्दा सकारात्मक देखिन्छ । राष्ट्रिय चलचित्र नीति निर्माणदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली सहभागिता विस्तारसम्मको कार्ययोजना अगाडि बढेको छ । अहिलेकै बजेटमा नेपाली सिनेमालाई पर्यटनसँग जोडेर सरकारले सिनेमा पर्यटनको कार्यक्रमलाई अघि सारेको छ । अबका दिनमा नेपाली सिनेमामार्फत नेपालको पर्यटन प्रवर्धन गर्ने महìवपूर्ण लक्ष्य लिइएको छ ।
हाल २०२६ सालको चलचित्र ऐनलाई संशोधन गर्न बनेको प्रस्तावित चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेको छ । यसले चलचित्र क्षेत्रको सिर्जनात्मक स्वतन्त्रता, श्रमिक सुरक्षासम्बन्धी प्रावधान, डिजिटल वितरण, बौद्धिक सम्पत्ति अधिकार, विदेशी चलचित्रको नियमन र अनलाइन माध्यममार्फत वितरण प्रणालीको कानुनी मान्यता दिने छ । चलचित्र क्षेत्रको दिगो विकासका लागि यो विधेयक ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ । सञ्चारमन्त्री सङ्घीयताका पक्षधर तथा कार्यान्वयनका ज्ञाता हुनुहुन्छ । कानुन निर्माण उहाँको प्राथमिकता भएको कारण पनि चलचित्र विधेयक चाँडो टुङ्गोमा पुग्ने विश्वास छ । चलचित्र विधेयकपछिको यात्रा नेपाली चलचित्र उद्योगको स्वर्ण युग अर्थात् समृद्धिको खुड्किलो हुने निश्चित छ ।
अर्कोतर्फ चलचित्र उद्योग विकास र पूर्वाधार तयारको चरणमा प्रवेश गरेको छ । काभ्रेको बनेपामा निर्माणाधीन ‘इन्डोर फिल्म सिटी’ नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक उपलब्धि बन्न सक्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले यसको शिलान्यास गर्नुभएको थियो । ‘सिनेपा’ नाम दिइएको स्टुडियोमा सेट निर्माण, ‘पोस्ट–प्रोडक्सन’, भिएफएक्स, ध्वनि सम्पादन र प्राविधिक विकासका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिने छन् । एकै पटक धेरै चलचित्रको छायाङ्कन गर्न सकिने गरी स्टुडियो निर्माण हुने छ । साथै चलचित्र निर्माण गर्ने कम्पनीले स्टुडियोमै निर्माण समयावधिभर प्रशासनिक कार्यालय सञ्चालन तथा ‘पोस्ट प्रोडक्सन’ को कामसमेत गर्न सक्ने गरी यो स्टुडियो निर्माण गरिने छ । ‘इन्डोर स्टुडियो’ भने पनि यसको बाहिरी संरचनासमेत ‘आउटडोर सुटिङ’ का लागि प्रभावकारी रहने छ । यो निर्माणपछि चलचित्र निर्माण प्रव्रिmया मौसम र स्थल सिमाबाट स्वतन्त्र बन्ने छ । तत्पश्चात् दशकौँदेखि चलचित्रकर्मीले अगाडि सार्दै आएका पूर्वाधार अभावको समस्या समाधान गर्ने दिशामा महत्वपूर्ण कदम साबित हुने छ ।
चलचित्र उद्योगलाई समृद्धिको बाटोमा अगाडि बढाउने अर्को महत्वपूर्ण विषय बक्स अफिस प्रणाली हो । बक्स अफिस अर्थात् सिनेमाको पारदर्शी बजार । इन्टरनेट र डिजिटल प्रविधिको उच्चतम प्रयोगका साथ हरेक निर्माताहरूले आफ्नो चलचित्रले कुन हलबाट कति कारोबार गरिरहेको छ भनेर ‘रियल टाइम डाटा’ हेर्न पाउने गरी बक्स अफिस प्रणालीको सुरुवात भएको छ । नेपालभरका सिनेमा हलहरूमा सर्भर र इन्कोड प्रणाली जडान गरी चलचित्र विकास बोर्डले पारदर्शी बक्स अफिस प्रणाली सुरु गरिएको हो । यसबाट चलचित्रको आम्दानी विश्वसनीय तथ्याङ्कसहित सार्वजनिक गर्न सकिने छ । अब निर्माता, वितरक र सिनेमा हल सञ्चालकबिचको विश्वास अभिवृद्धि हुने छ । बक्स अफिस नेपालमा १५ वर्षदेखिको माग हो । हरेक पटक चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्त हुँदा बक्स अफिस पनि प्रमुख एजेन्डामा रहँदै आएको छ । केही वर्षदेखि ‘ई टिकेटिङ’ सुरु हुँदै आए पनि बक्स अफिस प्रणाली कार्यान्वयन भएको थिएन । बोर्डले असार १६ गते रजत समारोह मनाएसँगै बक्स अफिसको औपचारिक सुरुवात गरिएको हो ।
बक्स अफिसमा वास्तविक आम्दानी देखिन थालेपछि लगानीकर्ताहरू थप उत्साहित हुने, विदेशी लगानीको सम्भावना पनि बढ्ने छ । बक्स अफिसका दैनिक, साप्ताहिक, मासिक कारोबार सार्वजनिक गर्न सके चलचित्र व्यवसायको पारदर्शिता र विश्वसनीयता बढाउने छ । आगामी वर्षमा यो प्रणालीले नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा थप प्रतिस्पर्धी र भरपर्दो बनाउने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डले सेवा प्रवाहमा आधुनिकीकरण गर्दै ‘सुटिङ परमिट,’ अन्तर्राष्ट्रिय फेस्टिभलमा सिफारिस, बजेटसम्बन्धी प्रक्रिया, प्रमाणपत्र वितरणलगायत ३३ वटा सेवा अनलाइनमार्फत दिइरहेको छ । यसले कार्यसम्पादन सहज बनाएको छ भने सेवाग्राहीलाई झन्झटबाट मुक्त बनाएको छ । बोर्डको स्वीकृति प्रक्रिया अब प्रस्ट र पारदर्शी हुँदै गएको छ । सरोकारवाला निकायसँगको समन्वय, डाटाबेस निर्माण, अनुसन्धानात्मक रिपोर्ट प्रकाशन, सिनेमाका लागि सहुलियत ऋण नीति जस्ता तयारी पनि बोर्डको कार्ययोजनामा समावेश गरेको छ । हेर्दा नियमित र सानो देखिने यी कार्यहरूलाई प्रविधिमैत्री र प्रभावकारी बनाउँदा चलचित्र उद्योगको परिवर्तनमा सकारात्मक प्रभाव परेको छ ।
नेपाली चलचित्र उद्योगको समृद्धि यात्रा अब सपना होइन, सम्भावनाको यथार्थ बनिरहेको छ । नेपाली चलचित्रले अब केवल मनोरञ्जन दिने होइन; नेपालको आत्माभिव्यक्ति, सांस्कृतिक संरक्षण, रोजगारी सिर्जना र अर्थतन्त्र सबल बनाउने एक उद्योगका रूपमा पहिचान पाएको छ । कानुनी सुधार, प्राविधिक विकास, बजार विस्तार र अन्तर्राष्ट्रिय पहुँचसँगै यो उद्योग समृद्धितर्फ डगमगाउँदै होइन; आत्मविश्वासपूर्वक अगाडि बढिरहेको छ । अब हाम्रो दायित्व नेपाली सिनेमा हेर्ने, प्रशंसा गर्ने मात्र होइन, साथ दिने र यसको समृद्धि यात्रामा सहभागी हुने पनि हो ।