सिराज खान
नेपालगन्ज, असार २८ गते । नेपालमा राति आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ लाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ ।
‘नेपालगन्ज नाइट रन’ लाई एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध गरिएको जानकारी नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरीले दिनुभयो ।
उहाँले संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने सो प्रतियोगितालाई एम्समा आबद्ध गरिएसँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको बताउनुभयो ।
एम्सका नेपाल प्रतिनिधि ठकुरीले भन्नुभयो, ‘नेपालगन्ज नेपालकै पहिलो सहर बनेको छ जहाँ एम्सद्वारा मान्यता प्राप्त दुई इभेन्टहरु धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन सञ्चालन हुनेछन्।’
नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ । एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले सहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउनेछ ।
ठकुरीका अनुसार नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन् । उहाँले यी दौडहरूलाई पनि क्रमशः एम्समा मान्यता दिलाउने तयारी भइरहेको जनाउँदै गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको बताउनुभयो ।
सोही अवसर पारेर एम्सका अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओले नेपालगन्ज म्याराथनको रुट अवलोकन गर्नुका साथै बर्दिया राष्ट्रिय निकुञ्जको समेत भ्रमण गर्नुभएको थियो ।