• २८ असार २०८२, शनिबार

पथरी–११ फुटबल क्लवको आफ्नै कार्यालय

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी,  असार २८ गते । पूर्व युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले १६ करोड रुपियाँ विनियोजन गरेको बताउनुभएको छ । 

मोरङको पथरीशनिश्चरे १ मा पथरी–११ फुटबल क्लबको कार्यालय उद्घाटनका अवसरमा शनिवार यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री भएको बेला राष्ट्रिय गौरवको योजनाका रुपमा क्रिकेट रङ्गशालालाई निर्माण गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो । 

दुनियाका ठूला र शक्तिशाली राष्ट्रलाई हराउन सक्ने माध्यम भनेको खेलकुद मात्र भएकोले राज्यका तीनै तहले खेलकुदमा लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

लिम्बूले नेपाललाई खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सकिने सम्भावना रहेको बताउँदै खेलाडीलाई प्रोत्साहन गर्न तिनै तहका सरकारले स्पष्ट कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । 

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापोले कुनै पनि क्लब संस्थागत भएर सञ्चालन हुनु नगरका लागि गौरवको विषय भएको बताउनुभयो । 

नगरपालिकाले फुटबलसँगै अरु खेलको विकासमा पनि सहयोग गर्नुपर्ने बताउँदै फुलबल खेल दुनियाँको सबैभन्दा लोकप्रिय खेल भएकोले यसको विकास र खेलाडीको क्षमता वृद्धिका लागि नगरले बढी नै लगानी गरिरहेको बताउनुभयो ।

उहाँले गाउँ, नगर भनेको खेलाडी जन्माउने ठाउँ भएको बताउँदै उहाँले खेल्न इच्छुक खेलाडीलाई अवसर दिने, प्रशिक्षणको व्यवस्था गर्ने जिम्मेवारी नगरले लिने उल्लेख गर्नुभयो ।

क्लबका अध्यक्ष सुमन विकको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरी ११ फुटबल क्लबका फुटबल प्रशिक्षक अर्जुन बस्नेतले स्वागत भाषण गर्नुभएको थियो ।

क्लबले एक वर्षको बिचमा देशका विभिन्न स्थानमा भएका गोल्डकपमा सहभागी भएर पाँच वटा उपाधि जितिसकेको छ ।