• १८ कात्तिक २०८१, आइतबार

हर्षोउल्लासका साथ मनाइयो ‘इन्द्रजात्रा’

blog

काठमाडौँ, असोज १२ गते । काठमाडौँ उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका ऐतिहासिक सहरमा हर्षोउल्लासका साथ बिहीबार इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन सहकाल र वर्षाका देवता इन्द्रको यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत अन्य स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

बिहीबार मुख्य रूपमा मनाइने इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरस्थित गद्दी बैठकअगाडि जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको दर्शन गरेपछि रथयात्रा सुरु गरिन्छ । जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दस अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रस्तुत गरिन्छ । 

यस दिन साँझपख घर घरमा बत्ती बाली समय्बजी राखी पूजा गरेपछि बाहिर आएर बाँड्ने चलन छ । गङ्गा क्लबका सदस्य दिनेशमान जोशीले टोलछिमेकका केटाकेटी ‘लाः छकु वय्क सम्य बजी’ भन्दै माग्न आउने गरेको बताउनुभयो । उहाँले यो उत्सव भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिनमा विभिन्न किसिमका सांस्कृतिक पक्षबिच मनाइने पनि जानकारी दिनुभयो । 

इन्द्रजात्रा (येयाँ पुन्ही) को दिन सम्य् नखः (विशेष प्रकारको चिउरालगायत बोडी, मासु, कालो भटमास, छोइला आदिको सम्मिश्रण) का रूपमा इन्द्रलाई चढाइने भएकाले यस पर्वलाई स्याः बजी नखः पनि भनिन्छ । घर घरमा समय्बजी राखेर परिवारसहित आफन्तहरू मिली भोज खाइन्छ । इन्द्रचोकको आजु द्यः (भैरव देवता) को अगाडि समय्बजी सजाउनुका साथै आजु द्यःको जाँड (थ्वँ) को माटोको जाँड राख्ने भाँडो तेप) मा पञ्चमकार विधिबाट पूजा गरिन्छ । वसन्तपुरको श्वेत भैरव (हाथु द्यः) लाई पनि पञ्चमकार पूजा गरी हाथु ह्याकी (रक्सी बाँड्ने) गरिने पुजारी राजन महर्जनले जानकारी दिनुभयो ।

रथ ल्याउने बाटोमा दि प्याखं (देवीको नाच) देखाइएको थियो । यसरी नाच भइरहेको दबु नजिकै पुगेपछि रथ एकछिन रोकी कुमारी माजुलाई नाच देखाइन्छ र कुमारी माजुबाट भेटी (पैसा) चढाइन्छ । यस अवसरमा घर घरबाट पनि कुमारी माजुलाई पूजा गरिन्छ ।

इन्द्रचोकमा रथ पुगेपछि आजु द्यः समूहबाट पूजाका साथै जाँड पनि चढाइएको थियो । वसन्तपुर दरबार क्षेत्रमा रथ पुगेपछि श्वेत भैरव खलकबाट पूजाका साथमा रक्सी चढाइन्छ । यसलाई नेपाल भाषामा हाथु ह्याकेगु भनिन्छ । यस अवसरमा समय्बजी र रक्सी बाँडिन्छ । यो प्रसाद खाएमा पेटको रोग निको हुन्छ भन्ने विश्वास गरिन्छ ।

लिच्छविकालदेखि प्रचलनमा आएको यस पर्वमा जयस्थिति मल्लको समय (विसं १८१२–१३) मा चलनमा रहेको गणेश, भैरव, कुमारीको रथ तान्ने प्रचलनले अझ उल्लासमय बनाएको छ । प्राचीनकालदेखि अस्तित्वमा रहेको यो पर्व राष्ट्रिय पर्वकै रूपमा मनाइँदै आइएको छ । साथसाथै यस चाडले संस्कृति र पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।