• २१ असोज २०८२, मङ्गलबार

कहीँ नभएको जात्रा मनाउने तयारी

blog

काठमाडौँ, असोज २१ गते । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखान नसुन्ने सायदै होलान् । कसैले नगरेको काम वा अनौठो काम गर्दा होच्याएर अथवा प्रोत्साहन दिन यो उखान भन्ने गरिन्छ । हाँडीगाउँमा मनाइने जात्रा भने देशभर मनाइने अन्य जात्राभन्दा भिन्न भएकै कारण ‘कहीँ नभएको’ भनिएको हो । 

कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदाका दिन हरेक वर्ष काठमाडौँ महानगरपालिका–५, हाँडीगाउँमा मनाइने यो जात्राको तयारीमा अहिले स्थानीय जुटिरहेका छन् । काठमाडौँ महानगरपालिका–५, हाँडीगाउँका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जात्राका लागि चाहिने मैनको फूल बनिसकेको र रथ निर्माण भइरहेको बताउनुभयो । “रथमा किला प्रयोग हुँदैन भने रथ भङ्गी बेत र बाँसको मान्द्रा (चित्रा) ले बेरेर बनाइएको हुन्छ,” प्रजापतिले भन्नुभयो । 

उहाँका अनुसार दसैँ र तिहारको बिचमा हुने हाँडीगाउँ जात्रा अन्य जात्रा जस्तो नहुनुमा चार कारण छन् । “अन्य जात्रामा देवता मन्दिरमा राखिन्छ भने भक्तजनले निहुरिएर ढोग्ने र पुज्ने गर्छन् । हाँडीगाउँ जात्रामा रथको करिब २५ फिट उचाइमा देवता राखिन्छ,” उहाँले भन्नुभयो, “अन्य देवताको रथ बोकेर लगिन्छ तर हाँडीगाउँ जात्रामा खट सिलिङको पङ्खा जस्तो फनफनी घुमाउँदै टोल परिक्रमा गराइन्छ ।”

उहाँका अनुसार देवता राखिएको अग्लो घुम्ने गोलो भाग भङ्गीवरिपरि मैनको फूल (पानीमा पकाएर थासामा चोबेर एक साताअघि बनाइने) राखिन्छ; जुन अन्य खटमा हुँदैन । प्रजापतिले थप्नुभयो, “कहीँ नभएको जात्रा भन्नुको चौथो कारण जात्रा नै उल्टो हुन्छ । प्रायः मन्दिरमा गजुर माथि र मूर्ति तल हुन्छ । यहाँ गजुर तल र मूर्ति सबैभन्दा माथि राखेर परिक्रमा गराइन्छ ।” तीन दिनसम्म मनाइने जात्रामा निकालिएका तीन रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । यसै गरी रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्ने होडबाजी हुने गर्छ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सँुघाउँदा वा टाउकोमा राखिदिँदा पीडा कम हुने विश्वास गरिन्छ । सबै उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्रा भन्ने गरिएको उहाँको भनाइ छ । बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि यहाँका बासिन्दाले यस जात्रालाई ‘चोक्टेनारायणको जात्रा’ भन्छन् ।

ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाएर हाँडीगाउँको जात्रा मनाइन्छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । 

कोजाग्रत पूर्णिमाका दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुन्छ । टङ्गाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटालटोलबाट ब्रह्माको रथ र बिच भागको डठु (न्याल्म) टोलबाट विष्णु (नारायण) को रथ तानेर तल्लोटोल कोटालटोलमा बनाइने महेश्वर (लक्ष्मी) को रथ रहेको ठाउँमा ल्याएपछि हाँडीगाउँको जात्रा सुरु हुन्छ ।  जात्राको दिन दर्शन र पूजाका लागि तीन रथ तीन भिन्न चोकमा राख्ने र घर घरबाट आएर पूजा गर्ने चलन छ । 

संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार किंवदन्तीमा एउटी महिला गर्भधारण गरेर पनि १२ वर्षसम्म सुत्केरी नभएपछि हिमालय पर्वतमा गई नारायणको आराधना गरिछन् । नारायणलाई आफूले कहीँ नभएको जात्रा देखाउने भनेर खुसी पारी सुत्केरी पनि भइन् । त्यसपछि यो जात्रा मनाउन थालिएको हो । ती महिलाले नारायणलाई खुसी पारी आफ्नो मनोकामना पूरा गरेपछि काठमाडौँको हरिगाउँ (हाँडीगाउँ) मा आएर यो जात्रा सुरु गरिएको विश्वास छ । 

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।