काठमाडौँ, चैत ३ गते । नेवार समुदायको ठुलो चाडमध्ये एक पाहाँचःह्रे मङ्गलबार हर्षोउल्लासका साथ मनाइने भएको छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँचःह्रे मनाउने परम्परा छ । स्थानीय नेवार समुदायको यो दसैँपछिको ठुलो पर्व हो । पाहाँ’ को अर्थ पाहुना हो भने ‘चह्रे’ को अर्थ चन्द्रमासको चौधौँ दिन हो । यो चाडलाई पासाचह्रे र पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।
विभिन्न नामले यो पर्व मनाइए पनि प्राकृतिक विपत्ति र रोगको महामारी सुरु भएको सङ्केत स्वरूप चैत चतुर्दशीका दिन काठमाडौँ उपत्यकामा पाहाँःचह्रे मनाइने गरेको संस्कृति अभियन्ता किशोर कायन्थले बताउनुभयो । पाहाँःचह्रेअघि घरको छाना बाँध्ने, फोहोर फ्याँक्ने, खाल्टाखुल्टी साःगाः सफाइ गर्ने र टोल टोलमा स्थापित आजु–अजिमाद्यः (पुर्खा देवता) लाई समयद्यो (समयबजी चिउरा, छोयला, माछा आदिको थुप्रो) प्रदर्शन गरी पूजा गर्ने गरिन्छ ।
यस दिन लुकुमाद्यः (लुकेको महादेव) पूजा पनि गरिन्छ । तीन दिनसम्म मनाइने यो चाडको पहिलो दिन चोक चोकमा रहेको लुकुमा द्यः अर्थात् लुकेको महादेवको पूजाआजा हुन्छ । स्थानीय पुजारी राजन महर्जन भन्नुहुन्छ, “पाहाँःचह्रे’ पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भस्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । महादेवको आकृति लुकु महाद्यःलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घर घरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ ।”
यस्तै कङ्केश्वरीदेवीलगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ । पाहाँःचह्रे पर्वको दोस्रो दिन घोडाजात्रामा दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ । मरःजा एक प्रकारको पवित्र भात हो । मरःजा काठमाडौँको कोहिटी, भीमसेनस्थान, लगन, ह्युमत आदि स्थानमा खुवाइन्छ ।
पाहाँःचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, निलो र पहेँलो गरी तीन वटा रङका टोपी र टिसर्ट लगाएका भक्तजन असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुन्डार कङ्ग अजिमा) को खट बोक्नेले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । पुजारी महर्जनले पहिले असनमा सात खट जात्रा गरि“द्य ल्वाकेगु जात्रा हुने गर्दथ्यो तर पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको जानकारी दिनुभयो । खट तीन वटा भए पनि दुई वटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुन्डार कङ्ग अजिमा) को हुन्छ ।
संस्कृतिविद् चुन्द्रा वज्राचार्यले काठमाडौँमा नेवार सम्प्रदायले दढण्सैँ र तिहारको चाड झैँ नै पाहाँःचह्रे मनाउने गरेको बताउनुभयो । पाहाँःचह्रेमा बालबालिका, युवकयुवती, बुढाबुढी आदि सबैले बिहान सबेरै सूर्योदयभन्दा अघिदेखि नै उठी त्यसैबेलादेखि मध्याह्नसम्म ठुलो हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि आआफ्ना पीठका देवी र भैरव, गणेश आदि देवताको दर्शन, पूजन गर्छन् । दिउँसोदेखि सायङ्सम्म आआफ्नो घरमा मानिसले आफ्ना परिवारसँग बसी विविध प्रकारका खानेकुरा खाई चाड मनाउने वज्राचार्यको भनाइ छ ।