• २९ मङ्सिर २०८२, सोमबार

एपिएफको जितमा रश्मिको गोल निर्णायक

blog

काठमाडौँ, मङ्सिर २९ गते । स्ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि नेपाल एपिएफ क्लबले आइतबार दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा रश्मिले ५२ औँ मिनेटमा गरेको गोलले जितहारको छिनोफानो गरेको हो ।  मिडफिल्डर रेनुका नगरकोटीले मैदानको दायाँबाट भागबाट गरेको क्रसलाई डिबक्समा रहेकी रश्मिले हेडमार्फत सदुपयोग गर्नुभएको हो । चालु प्रतियोगितामा रश्मिको यो तेस्रो गोल हो । यस जितसँगै एपिएफको तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अङ्क भएको छ । पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । पाकिस्तानको च्याम्पियन कराँची भने हारपछि प्रतियोगिताबाट बिदा भएको छ । कराँची चार खेलमा दुई हार र दुई बराबरीमा खेलेर दुई अङ्क बनायो । यस प्रतियोगितामा कराँचीले एक गोल पनि गर्न सकेन । यसअघि ट्रान्सपार्ट युनाइटेड र नासरिनसँग गोलरहित बराबरीमा खेलेको कराँची इस्ट बङ्गालसँग २–० ले पराजित भएको थियो ।

एपिएफका प्रमुख प्रशिक्षक जीवेशकुमार पाण्डेले आफ्नो टिमले गोल गर्ने धेरै अवसर गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो खेलमा ४–० को अन्तरमा जितेको एपिएफ अहिले गोल हान्नु नसक्नुको प्रमुख कारण खेलाडी शतप्रतिशत दुरुस्त नभएर हो तर कराँचीविरुद्ध तीन अङ्क प्राप्त गर्ने लक्ष्य सफल भएको छ । इस्ट बङ्गालको खेलमा पनि यसरी नै आक्रामक रणनीतिमा खेल्ने छौँ ।”

खेलको ६५ औँ मिनेटमा रश्मिले पाकिस्तानी गोलपिकर जियानासँग ‘वन भर्सेस वन’ मा गोल गर्न सक्नुभएन । पाँच मिनेटपछि रश्मिको प्रयास खेर गएको थियो । यसै गरी खेलको सुरुवातमै कप्तान अनिता बस्नेतको कर्नर प्रहारमा निशा थोकरले हेड गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो ।

कराँची सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक अदिल मिर्जा रिज्कीले साफ महिला क्लब च्याम्पियनसिपबाट आफ्ना खेलाडीले धेरै सिकेको भनाइ राख्नुभयो । उहाँले प्रत्येक खेलमा आफ्नो टिमले सुधारिएको प्रदर्शन गरेको छ पनि भन्नुभयो । “हामी यस प्रतियोगितामा कम तयारीका बिच आएका हौँ, त्यसैले पनि यत्तिको प्रदर्शनमा म खुसी छ,” उहाँले भन्नुभयो । साफले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा पाँच सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।