• ८ माघ २०८२, बिहिबार

चुनावी मैदानमा खेलकर्मी

blog

काठमाडौँ, माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको माहोल तातेका बेला खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । आगामी चुनावका लागि सङ्घका अध्यक्ष, प्रशिक्षक, खेलाडी, कमेन्टेटरलगायतले उम्मेदवारी दिएका छन् ।

जेनजी आन्दोलनपछि गठित सरकारले नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ताले सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिनुभएको छ । खेलकुदमन्त्रीको पदबाट राजीनामा दिएर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सानो क्षेत्रको मात्र नभएर सम्पूर्ण क्षेत्रको विकास गर्नुपर्ने सोचाइ अनुरूप उम्मेदवारी दिएको बताउनुभएको छ ।  

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराउनुभयो । नेपाली कांग्रेसका चन्दले बैतडीबाट चुनाव लड्नुहुने छ । उहाँले देशले परिवर्तन खोजेको समय हो र जनताले नयाँ नेतृत्व खोजेको छ, भन्नुभयो । क्यान अध्यक्ष चन्दले खेलकुद क्षेत्रमा कुनै जिम्मेवारी पायो भने खेल क्षेत्रको बेथिति व्यवस्थापन गर्न अन्यलाई घच्घचाउनु नपर्ने भनाइ पनि राख्नुभयो ।

यसै गरी बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहा बारा जिल्लाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट बास्केटबल खेलाडी तथा युवा नेता अजयलाई प्रतिनिध सभा चुनावका लागि उम्मेदवार बनाएको हो । उहाँले आफ्नो मेरो प्रमुख एजेन्डा बारा क्षेत्रमा कृषिको विकास गर्ने र दोस्रो एजेन्डा आफैँ खेलकुद पृष्ठभूमिबाट आएको हुनाले खेल क्षेत्रलाई विकास गर्ने हो भन्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समानुपातिक उम्मेदवार बनाएको । उहाँ आदिवासी जनजातितर्फ पाँचौँ नम्बरमा हुनुहुन्छ । उहाँले पछिल्लो समय राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी समाल्दै आउनुभएको छ । मल्लले यस विषयमा आफ्नो धारणा पत्रकार सम्मेलन गरेर नै सबैलाई दिने बताउनुभयो । क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिनाले नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं. ४ मा उम्मेदवारी दिनुभएको छ । 

विश्व मानचित्रमा हेर्ने हो भने खेलकर्मीहरू राजनीतिमा लागेको उदाहरण धेरै छ । छिमेकी देश भारतमै क्रिकेटर सचिन तेन्दुल्कर, नवजोत सिंह सिद्दु, मोहम्मद अजहरुद्दिन, गौतम गम्भीर, मन्सुर अली खान, कीर्ति आजाद, मनोज तिवारी र मोहम्मद कैफ जस्ता खेलाडी आफ्नो लोकप्रियताको फाइदा उठाउँदै राजनीतिमा पनि सक्रिय बन्नुभएको थियो । यसै गरी बेलायतका धावक सेवास्टिन को, लाइबेरियाका फुटबल खेलाडी जर्ज वेले, रुसी चेस खेलाडी गेरी कास्पारोभ, फिलिपिन्सका स्टार मुक्केवाज मेनी पाक्वियो पनि खेलाडी जीवनपछि राजनीतिमा सफल व्यक्तिका रूपमा चर्चित हुनुहुन्छ । पछिल्लो पटक पाकिस्तानको प्रधानमन्त्रीबाट हटाइएका इमरान खान खेलकुद र राजनीतिमा सफल संसारका बिरलै व्यक्तिमा पर्नुहुन्छ ।

   

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।