काठमाडौँ, फागुन ९ गते । फागुन २१ को निर्वाचनलाई लक्ष्यित गरेर विभिन्न राजनीतिक दलले आआफ्ना घोषणापत्रमा खेलकुदलाई प्राथमिकतामा राखेका छन् । सार्वजनिक गरेका अधिकांश दलले घोषणापत्रमा खेलकुदको विकासको बुँदालाई समेटेका छन् । विगतमा प्रायः दलको चुनावी घोषणापत्रमा खेलकुद कम प्राथमिकतामा पर्दथ्यो ।
खेलकुदमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, पाठ्यक्रममा खेलकुद समावेश, विभिन्न पदक विजेतालाई पुरस्कारको व्यवस्था नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबैजसो दलको घोषणापत्रमा उल्लेख गरिएको छ । प्याराग्लाइडिङ, ¥याफ्टिङ, कायकिङ, क्यानोनिङ, रक क्लाइम्बिङ र जिप–लाइनिङ जस्ता साहसिक खेलको विकास गरी पर्यटन क्षेत्रलाई टेवा पुग्ने गरी ‘स्पोर्टस टुरिजम’ को अवधारणा पनि सबै दलको प्राथमिकतामा रहेको छ ।
नेकपा (एमाले) ले ‘ऊर्जावान् खेलाडी, देशको सान’ भन्ने नाराका साथ खेलकुदको घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन आवश्यक सबै प्रबन्ध मिलाउने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आकर्षक पुरस्कार र सम्मान उपलब्ध गराउने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसले खेलाडीको वृत्तिविकास, खेल अर्थतन्त्र र खेल कूटनीतिलाई राज्यको नयाँ प्राथमिकताका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । खेलकुदलाई मानव विकास, राष्ट्रिय गौरव र उद्योगका रूपमा स्थापित गर्न छ महिनाभित्र ‘खेलकुद ऐन’ परिमार्जन गर्ने भनिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक वर्षभित्र पुनर्संरचना गरी संस्थाको नेतृत्व खुला र पारदर्शी प्रतिस्पर्धाबाट छानिएका खेल क्षेत्रका योग्य व्यक्तिले मात्र नेतृत्व गर्ने सुनिश्चित गरिने बुँदा पनि छ । विश्व एन्टी डोपिङ संहिताको मापदण्ड र धारा १८ को मर्म अनुरूप अविलम्ब छुट्टै ‘एन्टी डोपिङ ऐन’ जारी गरी ‘नेपाल एन्टी डोपिङ एजेन्सी’ लाई पूर्ण स्वायत्त, शक्तिशाली र पर्याप्त बजेटयुक्त निकायका रूपमा स्थापित गरिने कुरा पनि कांगे्रसको घोषणापत्रमा रहेको छ । फुटबल, क्रिकेट, राष्ट्रिय खेल भलिबल, बास्केटबल जस्ता खेलमा निजी क्षेत्रको लगानीलाई विशेष सहुलियत दिँदै फ्रेन्चाइज लिग र व्यावसायिक क्लबलाई प्रोत्साहित गरिने भनिएको छ । सो घोषणापत्रमा खेलाडी खेलबाट पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्ने साथै ‘खेलाडी सुरक्षा कोष’ खडा गरेर आधुनिक तालिम केन्द्रमार्फत सन्तुलित आहार र खेल विज्ञानमा आधारित प्रशिक्षण सुविधा उपलब्ध गराइने बुँदा पनि उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसले इस्पोर्ट्समा व्यावसायिक भविष्यः इस्पोर्ट्सलाई आधिकारिक मान्यता दिँदै गेमरलाई ‘प्रोफेसनल खेलाडी’ का रूपमा पहिचान गरिने भनेको छ । डन्डीबियो र बाघचाल जस्ता परम्परागत एवं मौलिक खेलको संरक्षण, प्रवर्धन र विस्तार गर्दै यसलाई नेपाली संस्कृतिको अभिन्न अङ्ग र पर्यटकीय आकर्षणका रूपमा स्थापित गरिने घोषणा पनि गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणापत्र अनुसार खेलकुदलाई मनोरञ्जन र भर्ती केन्द्रबाट मुक्त गरी राष्ट्रिय एकता र आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गरिने छ । रास्वपाको घोषणापत्र खेलाडीको डाइट, प्रशिक्षण र प्रविधिमा पनि केन्द्रित छ । पदक विजेता खेलाडीका लागि ‘खेलाडी पेन्सन कोष’, स्वास्थ्य बिमा र रोजगारीको विशेष ग्यारेन्टी गरिने पनि भनिएको छ । रास्वपाको घोषणापत्रमा नेपाललाई दक्षिण एसियाकै ‘स्पोर्ट्स हब’ का रूपमा स्थापित गरिने पनि उल्लेख छ ।
यसै गरी नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा वैज्ञानिक तथा आधुनिक खेलकुद प्रशिक्षणः खेलकुद प्रशिक्षण प्रणालीलाई वैज्ञानिक, प्राविधिक तथा परिणाममुखी बनाइने बुँदा छन् । सो घोषणापत्रमा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक, स्पोटर्स साइन्स, पोषण तथा मनोविज्ञान विशेषज्ञहरूको संलग्नतामा नेपाली खेलाडीलाई विश्वस्तरीय बनाइने भनिएको छ । यसै गरी प्रतिभा पहिचान तथा निःशुल्क एकेडेमी छनोट प्रणाली लागु गरिने बुँदा पनि छ । छनोट भएका प्रतिभाशाली खेलाडीलाई केन्द्रीय तथा प्रदेशस्तरीय निःशुल्क खेलकुद एकेडेमीमार्फत शिक्षा, आवास, प्रशिक्षण तथा जीवन निर्वाह सुविधा प्रदान गरिने पनि उल्लेख गरिएको छ । एक वडा एक खेल मैदान, एक प्रदेश एक एकेडेमीको अवधारणा पनि छ ।
विद्यालयदेखि ओलम्पिकसम्म खेलाडी विकास राष्ट्रपति रनिङ सिल्डलाई वैज्ञानिक तथा परिणाममुखी बनाई विद्यालय तहदेखि राष्ट्रिय टोली तथा ओलम्पिकसम्म खेलाडी उत्पादन गर्ने दीर्घकालीन प्रणाली लागु गरिने छ । सो घोषणापत्रमा क्रिकेटको विकासका बुँदा पनि छन् ।
यसै गरी उज्यालो पार्टीले पदक प्राप्त राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई ६० हजार पेन्सन दिने व्यवस्था मिलाउने घोषणासहित घोषणापत्र जारी गरेको छ ।