• २६ मङ्सिर २०८२, शुक्रबार

साफ महिला क्लब च्याम्पियनसिप

इस्ट बङ्गाल शीर्षमा एपिएफ रोकियो

blog

काठमाडौँ, मङ्सिर २६ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले गोलरहित बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि ‘डेडलक’ तोड्न भने सकेनन् । एपिएफले लगातार दबाब बनाए पनि फाइनल थर्डमा कमजोर बन्यो । उता ट्रान्सपोर्टले काउन्टर आक्रमणमा तर्साए पनि गोल गर्न सकेन । खेलको ३० औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतको फ्रिकिक क्रसबारमा लागेर फर्किनु पनि नेपालका लागि दुर्भाग्य बन्यो । 

एपिएफले मध्यान्तरपछि अझ बढी दबाब दिएको थियो तर भुटानी क्लबको डिफेन्सल लाइन र गोलकिपर सङ्गीता मोङ्गेरले हरेक पटक एपिएफलाई निराश बनाए । खेलको ६२ औँ मिनेटमा मीना देउवा र त्यसको चार मिनेटपछि रश्मिकुमारी घिसिङ गोलको नजिक पुगेर पनि सफल हुन सक्नुभएन ।

खेलको ८६ औँ मिनेटमा मिडफिल्डर सरु लिम्बूले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार ट्रान्सपोर्टकी गोलकिपर सङ्गीता मोङ्गेरले उत्कृष्ट बचाउले गोल हुन सकेन । एपिएफका मुख्य प्रशिक्षक जिवेशकुमार पाण्डेले पहिलो हाफमा योजना अनुसार खेल्न नसकेको र दोस्रो हाफमा अत्यधिक दबाब बनाएर पनि गोल गर्न नसकेकोमा निराशा व्यक्त गर्नुभयो । उहाँले आजको खेलमा बराबरीमा रोके पनि लक्ष्य उपाधि जित हो भन्नुभयो । 

ट्रान्सपोर्टको मुख्य प्रशिक्षक यसही वाङचुकले आफ्नो टिमले बलियो नेपालविरुद्ध उत्कृष्ट खेल खेलेको बताउनुभयो । उहाँले आफ्नी गोलकिपर सङ्गीताको प्रशंसा पनि गर्नुभयो । एपिएफ फुटबल क्लबले बङ्गलादेशको नासरिन स्पोटर्स क्लबविरुद्ध ४–० को फराकिलो जित हासिल गरेको थियो । ट्रान्सपोर्टले पहिलो खेलमा कराँचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बङ्गालसँग  ४–० को हार बेहोरेको हो ।

बिहीबार भएको अर्को खेलमा भारतीय क्लब इस्ट बङ्गाल एफसीले साफ क्लब महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । 

इस्ट बङ्गालले पाकिस्तानी क्लब कराँची सिटी एफसीविरुद्ध २–० को सहज जित निकालेको हो । यसअघि इस्ट बङ्गालले भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीविरुद्ध ४–० ले हराएको थियो । इस्ट बङ्गालको जितमा सुलन्जना राउल र रेस्टी नानजिरीले गोल गर्नुभयो । भारतीय टिमले खेलको पाँचौँ मिनेटमा राउलले अग्रता बनायो । दोस्रो हाफमा इस्ट बङ्गालले एक गोल थप्यो । खेलको  ४७ औँ मिनेटमा नानजिरीले अग्रतालाई दोब्बर बनाउनुभयो । 

यो जितसँगै इस्ट बङ्गाल चार अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारतीय क्लब इस्ट बङ्गाल एफसीका मुख्य प्रशक्षिक एन्सटोनी एन्ड्रुजले अब बङ्गलादेशको नानजिरी क्ल्बसँग खेल्ने तयार भएको बताउनुभयो । पाकिस्तानी क्लब कराँची सिटी एफसीका मुख्य प्रशिक्षक आदिल रिज्कीले केही गल्तीका कारण भारतीय क्लब इस्ट बङ्गाल एफसीविरुद्ध हार बेहोरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “खेल प्रतिस्पर्धात्मक थियो तर आफ्नै गल्तीले हारेको हो, युवा टिम भएकाले अनुभवको कमी छ ।”

कराँची पहिलो हार बेहोरेसँगै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । कराँचीले हालसम्म तीन खेल खेल्दा दुई बराबरी र एक हारसहित तीन अङ्क जोडेको छ । कराँचीले यसअघि सम्पन्न पहिलो र दोस्रो खेलमा भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एएफसी र बङ्गलादेशी क्लब नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी गरेको थियो । अब कराँचीले अन्तिम खेलमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबसँग खेल्ने तालिका छ ।  

   

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।