• १६ साउन २०८२, शुक्रबार

यु–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाइ

blog

काठमाडौँ, साउन १५ गते । नौ दिनअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टिम अर्को अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आफूलाई साबित गर्न तयार बनेको छ । नेपाली महिला यु–२० फुटबल टिमले भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोट खेल्न बिहीबार भुटान जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सो टिमलाई बिदाइ ग¥यो । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फा महासचिव किरण राईलगायतले बिदाइ कार्यक्रममा महिला यु–२० फुटबल टिमलाई सफलता प्राप्त गर्न शुभकामना दिनुभयो ।

एएफसी यु–२० महिला एसियन कप छनोट साउन २१ देखि २६ गतेसम्म हुँदै छ । नेपालको समूह ‘ए’ मा बलियो उत्तर कोरियासँगै आयोजक भुटान र साउदी अरब छन् । सो समूहमा रहेको मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । नेपालको पहिलो खेल आयोजक भुटानविरुद्ध छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।

 साफमा भएका कमजोरी नदोहोरिने

नेपाली टिमका प्रमुख प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगितामा सफलता प्राप्त गर्ने प्रतिबद्धताका साथ तयारी गरेको बताउनुभयो । साफ च्याम्पियनसिपमा गरेको गल्तीलाई सुधार गरेर राम्रो प्रदर्शन गर्ने छौँ । “बङ्गलादेशमा खेलाडीको थकान फाइनलमा हारको कारण बन्यो । त्यो मेरा लागि शिक्षा हो । खेलाडीको आरामलाई पनि ध्यानमा राखेर खेलाडी परिवर्तन गर्ने छौँ,” उहाँले भन्नुभयो । साफ च्याम्पियनसिपको अन्तिम खेलअघि नेपालले सानदार प्रदर्शन गरेको थियो । घरेलु टिम बङ्गलादेशसँगको अन्तिम भिडन्तमा नेपाल ४–० ले हारेको थियो । अन्तिम खेलमा प्रायः खेलाडी दुरुस्त नभएको जानकारी प्रशिक्षक गुरुङले दिनुभएको थियो । प्रशिक्षक गुरुङले एसियन कप छनोटको तयारीमा डिफेन्समा पनि बढी केन्द्रित भएको जानकारी दिनुभयो । डिफेन्स बलियो भयो भने विपक्षी जतिसुकै राम्रो भए पनि फरक पर्ने छैन, प्रशिक्षक गुरुङ भन्नुहुन्छ ।

कप्तान बिर्सना चौधरीले प्रशिक्षण राम्रो भएको बताउनुभयो । “यस पटक उत्कृष्ट प्रदर्शन गर्ने छौँ । हामी हार्न सक्छौँ भन्ने डरमा खेल्ने छैनौँ, कसरी जित्ने भन्ने मानसिकताका साथ खेल्ने छौँ । यस प्रतियोगितामा नेपाली टोलीले दुई सय प्रतिशत दिएर खेल्ने छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले साफ महिला यु–२० मा नेपालले उत्कृष्ट गरेको भन्नुहुँदै राष्ट्रिय महिला टोलीको भविष्य राम्रो भएको महसुस आफूलाई भएको बताउनुभयो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले नेपाली महिलाको फुटबल वर्तमान र भविष्यको आशा र विश्वास हो, त्यसैले एकजुट भएर खेल्न आग्रह गर्नुभयो । सानो गल्तीले खेल परिवर्तन हुने हुँदा एक एक सेकेन्ड चनाखो भएर खेल्ने सुझाव पनि उहाँले दिनुभयो । यस्तै एन्फाका महासचिव किरण राईले जितको सपना लिएर जाने हो, त्यो पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय महिला फुटबल टोलीलाई ‘गोल्डेन जेनेरस’ भन्ने गरेकाले युवा टोली पनि सोही बाटोमा हिँड्न पर्छ भन्नुभयो ।

 नेपालको टोली

गोलकिपर : लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ ।

डिफेन्डर : सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया ।

मिडफिल्डर : कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार ।

फर्वाड : कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर ।

प्रशिक्षक : यामप्रसाद गुरुङ ।

  

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।