नवीनराज कुइँकेल
लमजुङ, वैशाख २४ गते । बेँसीसहर नगरपालिका–१, उदीपुरमा पाँच वर्षअघि गएको पहिरो नियन्त्रण भएपछि यातायात आवागमनमा सहज भएको छ । सङ्घीय सरकारको बजेटमा उदीपुर देउराली डाँडाको पहिरो रोकथाम गरिएको हो ।
डुम्रे–बेँसीसहर सडक खण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१ उदीपुरको पहिरो रोकथाम कार्य ९८ प्रतिशत सकिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सतिस सुवेदीका अनुसार पहिरो रोकथामको काममध्ये चार सय मिटर जति नालीको लागि पाइप बिछ्याउने कार्यमध्ये डेढसय जति मात्र काम बाँकी रहेको र अन्य सबै काम सम्पन्न भएको छ । टेवा पर्खाल, ग्याबिन जाली लगाउने लगायतका निर्माण कार्य सम्पन्न भएको छ ।
त्यस्तै, पहिरो रोकथामका लागि मर्स्याङ्दी नदी किनारमा पर्खाल निर्माण, सो स्थानबाट ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । त्यस्तै, करिब तीन सय मिटर सडक कालोपत्रे र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गरिएको छ ।
कार्यालयका अनुसार सङ्घीय सरकारको ११ करोड १९ लाख बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले निर्माण गरेको हो । यस कम्पनीले वि.सं. २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना वि.सं. २०८१ पुस महिना पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता म्याद थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै वि.सं. २०८२ असोज महिनासम्म थप गरेकोमा ताकिएको अवधिमा काम सम्पन्न नभएपछि पछिल्लो अन्तिम पटक म्याद वैशाख महिनासम्म राखिएको छ । तोकिएको समयमा काम सम्पन्न हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
कार्यालयका सूचना अधिकारी नवीन विष्टले पहिरोमाथि रहेको स्थानीय सडक भासिएर ढुङ्गा, माटो, गेगर झरेर काम गर्न समस्या, मर्स्याङ्दी नदीमा पानीको बहावलगायत विविध कारणले गर्दा निर्माण कार्य लम्बिएको बताउनुभयो । यस स्थानमा वि.सं. २०७८ असार १ गते र वि.सं. २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो ।
सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालनमा ल्याइएको थियो ।
तनहुँको डुम्रे बजारबाट लमजुङ सदरमुकाम बेँसीसहरसम्म ४२ किलोमिटर रहेको यो सडक निर्माण वि.सं. २०२९ सालबाट सुरु भएर वि.सं. २०५२ मा सिङ्गल लेनको कालोपत्रे भएको थियो । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रु यात्रा गर्ने गर्दछन् ।