• ९ कात्तिक २०८२, आइतबार

प्रियासनको उपन्यास ‘कालो मन’ सार्वजनिक

blog

उपन्यासकार सविन प्रियासन आफ्नी आमासँग हालै प्रकाशित उपन्यास ‘कालो मन’ सार्वजनिक गर्दै । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ,  कात्तिक ९ गते । पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२ औं कृति  ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।

उपन्यासकार प्रियासनले यसअघि गत वैशाख महिनामा  ‘कडी’ उपन्यास प्रकाशित गर्नुभएको थियो । ६ महिनाको अन्तरालमा नयाँ उपन्यास पाठक माझ ल्याउनुभएका उहाँको नयाँ कृति  ‘कालो मन’ २०८ पृष्ठको छ ।

प्रियासनका अनुसार उपन्यास कृषिमा आधारित उद्यमशीलतामा सफल एक युवा र संघर्ष गरेर चिकित्साशास्त्र अध्ययन गरेकी युवतीबिचको प्रेमकथामा केन्द्रित छ। साथै समाजमा सन्देश दिने किसिमका थुप्रै उपकथाहरू पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो ।  ‘कालो मन’ शीर्षकमार्फत नकारात्मक सोचप्रति टिप्पणी गर्दै, नकारात्मक विचारमाथि विजय प्राप्त गरी हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिने सन्देश उपन्यासले दिन खोजेको लेखक प्रियासनको भनाइ छ ।

प्रियासनको यसअघि रोदनपछिको, भुमरी, पुनारागमन, पल्लवी, सहनशीला, सेल्फी, लक्कीचार्म, ब्रेकअप डायरी, लकडाउन लभ, एयरहोस्टेस र कडी उपन्यास प्रकाशित भएका छन् । त्यस्तै, उहाँले उपन्याससँगै एक कथा–सङ्ग्रह र एक सम्पादकीय–सङ्ग्रह पनि हालै प्रकाशित गर्नुभएको छ ।

हाल प्रियासन घोराहीबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुका साथै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवको जिम्मेवारीमा हुनुहुन्छ । यसअघि उहाँ राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिवको रूपमा पनि काम गरिसक्नुभएको छ। साहित्य, पत्रकारिता र सामाजिक सेवामा निरन्तर सक्रिय प्रियासनले नेपाल सरकारबाट  ‘विभूषण सम्मान’ समेत प्राप्त गर्नुभएको छ । जिल्लादेखि राष्ट्रिय स्तरसम्मका दर्जनौं सम्मान र पुरस्कारहरू उहाँले पाउनुभएको छ ।