काठमाडौँ, भदौ २७ गते । इन्द्रजात्रा (येँया) को अन्तिम दिन महिलाहरूले जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा गरी जात्रा सम्पन्न गरिने चलन छ तर जेन जीको आन्दोलनका कारण देशको परिस्थिति अनुकूल नभएकाले श्री कुमारी, श्री भैरव र श्री गणेशको साधारण पूजा गरी बिहीबार योसी (लिङ्गो) ढालेर सम्पन्न गरिने भएको छ ।
गुठी संस्थानका काठमाडौँ शाखा प्रमुख लछुना शर्मा काफ्लेले रथयात्रा नहुने भएपछि क्षमापूजा गरिसकेको जानकारी दिनुभयो । “यो वर्ष देशमा सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण अन्तिम दिन रथयात्रा हुन सकेन । अर्को वर्ष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइने छ,” उहाँले भन्नुभयो । बिहीबार १० बजेपछि योसी (लिङ्गो) ढाल्ने साइत छ तर ७ बजेपछि कफ्र्यु भएको हुनाले यसअघि नै लिङ्गो ढालेर टेकु दोभानमा विसर्जन गरिएको जानकारी पनि प्रमुख शर्माले दिनुभयो ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले देशको परिस्थितिले अन्तिम दिन जात्रा नगर्ने निर्णय भएको बताउनुभयो । उहाँले पनि साधारण पूजा गरी बेलुका योसी ढालेर इन्द्रजात्रा सम्पन्न गरिए छ भन्नुभयो । शाक्यले शुक्रबार बिहान तीन देवीदेवताको रथलाई भित्र्याएर अर्को वर्ष मात्र निकाल्ने बताउनुभयो ।
इन्द्रजात्राको अन्तिम दिनलाई नानिःचा भनिन्छ । विगतमा पुरुषले मात्र तानिने रथजात्रा विसं २०६९ देखि नानिचाःमा महिलाले मात्र रथ तान्ने परम्परा सुरु गरिएको हो । यो नेपालको सांस्कृतिक इतिहासकै युगान्तकारी परिवर्तन थियो । सामुदायिक रूपमा लामो छलफलपछि मात्र महिलाले रथ तान्ने अवसर पाएका थिए ।
अन्तिम दिन वसन्तपुरदेखि प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोकाबाट रथ पुनः वसन्तपुर ल्याइन्थ्यो । रथयात्रापछि राष्ट्रप्रमुखलाई श्री कुमारी, श्री गणेश र श्री भैरवले टीका प्रसाद दिने चलन थियो । त्यसपछि इन्द्रध्वज फहराइएको लिङ्गो ढालेर टेकु दोभानमा सेलाएपछि सप्ताहव्यापी येँया (इन्द्रजात्रा) को समापन हुन्छ ।
संस्कृति अभियन्ता राजन महर्जनले श्री भैरव, श्री गणेशलाई बाजाका साथमा कुमारी घरमा विराजमान गराई पूजा गरिने जानकारी दिनुभयो ।
इन्द्रजात्रा कहिले भएन
विसं १९२५ भाद्र शुक्ल चतुर्दशी आइतबार राति जात्रा चलिरहेकै बेला पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गर्नुभएको थियो । गोर्खाली सेना नगर प्रवेश गर्दा श्री कुमारीको रथयात्रा नगरको तल्लो क्षेत्र (क्वःने) को जैसीदेवल पुगिसकेको थियो । पृथ्वीनारायण शाह पनि श्री कुमारीको खुट्टा ढोगी दरबार प्रवेश गर्नुभयो । यसरी देशमा शाहवंशीय राजतन्त्र सुरु भएको वर्ष इन्द्रजात्रा बिथोलिन पुगेको थियो ।
त्यसपछि शाहवंशीय राजतन्त्र अन्त्य भएको वर्ष पनि इन्द्रजात्रा सामान्य बिथोलिन गएको थियो । २०६५ सालको भदौमा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिका रूपमा डा. रामवरण यादवले पहिलो पटक इन्द्रजात्रामा सहभागिता जनाउनुभएको थियो । सो वर्ष इन्द्रजात्राको अन्तिम दिन संस्कृति मन्त्रालयबाट राज्य कोषबाट कुनै पनि धार्मिक कार्यमा बलि दिन रोकिएको भन्ने पत्रसँगै जात्रा बिथोलिएको थियो । त्यसबेला रथ तान्ने कि नतान्ने भन्नेमै विवाद उत्पन्न भएको थियो । अन्ततः नाराबाजी, प्रहरी हस्तक्षेप र अन्योलपूर्ण उल्लासमा श्री कुमारीको रथयात्रा अघि बढ्यो तर गन्तव्यसम्म भने पुग्न सकेन । राति अबेरसम्म पनि रथ अघि बढ्न नसकेपछि जीवित देवी एवं देवताहरू श्री कुमारी, श्री गणेश र श्री भैरवलाई बिचबाटोबाटै रथबाट निकाली आआफ्नो निवास फर्काउनु परेको थियो । विसं १९९० को महाभूकम्पमा भने इन्द्रजात्रा चलाउन सकिएको थिएन । यसै गरी दुई वर्षअघि कोरोना महामारीले पूर्ण रूपमै जात्रा बिथोलिएको थियो ।