• ७ साउन २०८२, बुधबार

‘प्रतियोगिताले बलियो टोलीविरुद्ध खेल्न पाठ सिकायो’

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली । तस्बिर : विकास द्वारे

काठमाडौँ, साउन ७ गते  । बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली मङ्गलबार स्वदेश फर्केको छ । नेपाली यु–२० महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य सरिला श्रेष्ठलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो । 

नेपाल सोमबार निर्णायक खेलमा घरेलु टोली बङ्गलादेशसँग ४–० ले पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो । बङ्गलादेशको ढाकास्थित वसुन्धरा किङ्ग्स एरिनामा भएको अन्तिम खेलमा नेपाललाई हराएर बङ्गलादेश च्याम्पियन बनेको थियो । नेपालको यु–२० का मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले समग्रमा प्रतियोगितामा नेपाली टोलीले राम्रो खेलेको प्रतिक्रिया दिनुभयो । बङ्गलादेशसँग पहिलो खेल बराबरीमा सकिनुपर्नेमा हार बेहोर्दा हामीलाई ठुलो घाटा भयो, उहाँले भन्नुभयो, “त्यसपछि सबै खेलमा हामीलाई दबाब भयो । हरेक खेल बढी गोल अन्तरले जित्नुपर्ने स्थिति बन्यो । हामीले धेरै गोल ग¥यौँ पनि तर मैले राम्रा खेलाडीलाई आराम दिन सकिनँ । थकानको समस्या भयो । अझ २४ घण्टाको फरकमा छ खेल खेल्नुपर्दा अन्तिम खेलमा नेपालका केही खेलाडी शतप्रतिशत दुरुस्त थिएनन् ।” 

मुख्य प्रशिक्षक गुरुङका अनुसार बङ्गलादेशको टोलीमा सातदेखि नौ जनासम्म राष्ट्रिय खेलाडी भएकाले पनि जित्न कठिन भएको हो । उहाँ भन्नुहुन्छ, “बङ्गलादेशको अनुभवी टोलीलाई घरेलु दर्शकको साथ पनि थियो तर प्रमुख समस्या थकानकै थियो ।” प्रतियोगिताले हाम्रा खेलाडीलाई बलियो टोलीविरुद्ध उसकै मैदानमा खेल्दा कसरी खेल्नु पर्छ भन्ने पाठ सिकाएको छ । प्रतियोगिताको समापनसँगै प्रशिक्षक गुरुङले पूर्णिमा राई, मीना देउवा, बिर्सना चौधरी, सिमरन राई, सुक्रिया मिया र सेनु परियार जस्ता खेलाडीले छिट्टै राष्ट्रिय टोलीमा स्थान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 प्रतियोगितामा नेपालकी फरवार्ड पूर्णिमाले छ खेलमा सर्वाधिक १० गोल गरेर गोल्डेन बुट जित्नुभयो । यस उमेर समूहमा यो कीर्तिमान गोल सङ्ख्या हो । मीना देउवाले पनि सात गोल गरेर उत्कृष्ट प्रदर्शन गर्नुभयो । पूर्णिमा र मीनाले दुई दुई ह्याट्रिक गर्नुभयो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएकी कुसम खतिवडा तथा समीक्षा मगरले तीन तीन तथा सेनु परियार, सरिता कुमारले दुई दुई गोल गर्नुभयो । अनिशा राई र बिर्सना चौधरीले पनि एक एक गोल गर्नुभयो ।

गोल्डेन बुट जित्ने पूर्णिमाले प्रतियोगिताको यात्रा सम्झनलायक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो प्रदर्शनबाट खुसी छु । अनुभव धेरै भयो । १० गोल गर्छु भनेर सोचेकै थिइनँ । मैले आफ्नो कर्तव्य निर्वाह गरेँ ।”  फाइनलमा गोल गर्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

पूर्णिमाले नेपाली टोलीलाई थप ‘एक्सपोजर’ र प्रशिक्षणको आवश्यकता रहेको बताउनुयो । “हामीकहाँ प्रतियोगिता हुनुअघि एक महिना र १५ दिनअघि मात्र बन्द शिविर हुन्छ । बङ्गलादेशको टोली वर्षभरि क्याम्पमा व्यस्त हुन्छ । हामीले पनि त्यस्तै अवसर पायौँ भने हामी च्याम्पियन बन्छौँ ।”

पूर्णिमाले आफ्नो कीर्तिमान प्रदर्शनपछि पनि राष्ट्रिय टिममा पर्छु भन्ने ठुलो अपेक्षा भने राख्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “अझै मेहनत गर्नु पर्छ । मेहनत गर्दै गयौँ र प्रदर्शन दिँदै गयौँ भने राष्ट्रिय टिममा अवश्य पर्न सकिन्छ तर मेहनत छोड्नु हुँदैन ।”

नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले कोसिस गर्दागर्दै पनि जित्न नसक्दा दुःखी बनेको बताउनुभयो । प्रतियोगिताले अझ बढी मेहनत र प्रशिक्षणमा ध्यान दिनु पर्छ भन्ने सिकाएको छ । उहाँले बङ्गलादेशसँग हार्नुको कारण मैदानमा ‘कम्युनिकेसन ग्याप’ लाई मान्नुभएको छ । कप्तान भएको नाताले टोलीलाई समाल्न गाह्रो भएको थियो ।

यसै गरी स्ट्राइकर मीनाले पनि अन्तिम खेलमा मैदानमा तालमेलको कमी भएको स्विकार्नुभयो । यद्यपि उहाँले यस प्रतियोगितापछि अब राष्ट्रिय टिमबाट खेल्ने सपना राख्नुभएको छ । चार टिम सम्मिलित प्रतियोगिता डबल लिगका आधारमा भएको थियो । नेपालले छमध्ये चार खेलमा जित हासिल ग¥यो भने दुई खेलमा पराजय बेहो¥यो । नेपालले छ  खेलमा ३० गोल गरे पनि निर्णायक खेलमा गोल गर्न सकेन । 

   

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।