सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), कात्तिक २९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशमा सुरक्षाको प्रत्याभूति नहुँदासम्म निश्पक्ष निर्वाचन हुन नसक्ने भन्दै सरकारलाई सुरक्षाको उचित वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी एमाले धनकुटाले गणतन्त्रको रक्षा र प्रतिनिधी सभा पुनःस्थापनाको माग गर्दै गरेको जनप्रदर्शन पश्चात् आयोजित कोणसभामा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले जेनजी आन्दोलनका क्रममा लुटिएका गोली, हतियारका कारण देशमा सुरक्षा नभएको बताउनुभयो । यस्तै, कैदीबन्दी फरार रहेकै कारण निर्वाचनको वातावरण बन्न नसकेको उहाँको भनाइ छ । सरकारले जेनजी आन्दोलनको सम्बन्धमा निष्पक्ष छानबिन आयोग बनाउनु पर्ने माग गर्नुभयो ।
जनप्रदर्शन सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका कार्कीले विघटित प्रतिनिधी सभा पुनस्र्थापना हुनुपर्ने बताउँदै जेनजीको नाममा भदौ २३ र २४ को विध्वंश गरिएकाले निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गरिनुपर्ने माग गर्नुभयो ।
धनकुटा सदरमुकाममा नेकपा एमालेले प्रतिनिधी सभा पुनस्थापनको माग गर्दै सडकमा प्रदर्शन गरेको छ । धनकुटाको बसपार्कबाट सुरु भएको प्रदर्शन मदन चोक, चुवाको बोट, परिचय मोड, भीमनारायण चोक माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै पुनः बसपार्कमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई एमाले केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राजेन्द्रकुमार राई, एमाले धनकुटा अध्यक्ष शिव आङ्ला लगायतले सम्बोधन गर्नुभएको थियो ।