भवानीदत्त भट्ट
कञ्चनपुर, कात्तिक २९ गते । नेकपा (एमाले) कञ्चनपुरले महेन्द्रनगरमा जनजागरण सभा आयोजना गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आज जागरणसभा आयोजना गरेको एमाले नेताहरुको भनाइ छ ।
महेन्द्रनगरस्थित पार्टी कार्यालयबाट निकालिएको जनजागरण ¥यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले महेन्द्रनगर बजारको परिक्रमा गरेका थिए । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नारासाथ निकालिएको जनजागरण ¥यालीमा नेकपा एमालेका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कोणसभामा बोल्नुहुँदै नेकपा (एमाले) कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रतिनिधि सभा विघटनविरुद्ध एमाले निरन्तर आन्दोलनमा रहने बताउनुभयो । अध्यक्ष बुढाले संविधानमा टेकेर सरकार बनाउनु पर्ने र संविधान बाहिर बनेको जोसुकै सरकार मान्य नहुने बताउनुभयो ।
जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालले जेनजीका नाममा राष्ट्रिय सम्पत्ति जलाउने, घर भत्काउने कार्य निन्दनीय रहेको बताउनुभयो ।
जागरण सभामा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावल, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट लगायतले बोल्नुभएको थियो ।