भक्तपुर, असोज ३० गते । भक्तपुरस्थित पोटरी स्क्वायर ‘कुमाले टोल’ मा तिहारका लागि माटाका पाला सुकाउनमा व्यस्त हुनुहुन्थ्यो १७ वर्षीय सन्जु प्रजापति । बोल्नसमेत फुर्सद हुँदैन प्रजापति भन्नुहहुन्छ, “कात्तिक १ गतेसम्म ५०/६० हजार माटाका पालाको अर्डर छ ।” सन्जु मात्र होइन उहाँका भाइ, बुवा, हजुरआमा माटाका पाला र अन्य भाँडा बनाउने काममा व्यस्त हुनुहुन्छ । तिहारले गर्दा पालाको माग दोब्बर बढेको छ । बोल्नसमेत फुर्सद छैन । उहाँहरूलाई माग अनुसार माटाका भाँडा पु¥याउन नसकेर तनाव छ ।
भर्खर १२ कक्षाको परीक्षा दिएका सन्जुको यो पुख्र्यौली काम हो । सन्जु बिहान उठेदेखि साँझसम्म माटोको दियो बनाउन व्यस्त रहनुहुन्छ । उहाँले दसैँसकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्नुभएको हो । उहाँ भन्नुहुन्छ, “पहिले जस्तो दियो बनाउन गाह्रो भने छैन, अहिले बिजुलीबाट चक्र घुमाइने भएकाले सजिलो छ, दैनिक एक हजारदेखि १५ सयभन्दा बढी दियो बनाउन सकिन्छ । माटाका भाँडा या दियोमा राम्रै आम्दानी पनि हुन्छ ।” उहाँले खुद्रामा दर्जनको ४० रुपियाँमा बिक्री गर्ने बताउनुभयो । हजारौँ लिनेलाई भने अलि सस्तो हुन्छ ।
७४ वर्षीय कृष्णलक्ष्मी प्रजापति भने माटोको कलश बनाउन व्यस्त हुनुहुन्थ्यो । लक्ष्मीपूजामा कलश स्थापना गर्नुपर्ने भएकाले माटाका पालाको साथमा कलश बनाएको बताउनुभयो । उहाँले दैनिक १५० वटासम्म कलश बनाउन सक्ने र सबै सामान काठमाडौँको जनबहालका व्यापारीले लिन आउने जानकारी दिनुभयो । कृष्णलक्ष्मी भन्नुहुन्छ, “यही बेला हो माग बढ्ने । त्यसैले धेरै खट्नु पर्छ । अरू बेला त आरामले गर्दा नि हुन्छ ।” उहाँका अनुसार बस्ती बाक्लिएका कारण माटो सजिलै नपाइने भएकाले माटाका भाँडा बनाउने काम सजिलो भने छैन ।
यसै गरी न्हुच्छेबहादुर प्रजापतिले विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै गरेका उहाँले भन्नुभयो, “यो बेला त परिवारका सबै खट्नु पर्छ ।” विगत सम्झँदै प्रजापतिले थप्नुभयो, “विगतमा दुई हजारदेखि २५ सय पाला बनाउने गर्थें तर अहिले हजारभन्दा बढी बनाउन सक्दिनँ । माटोको काममा परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छाड्न सकिन्नँ ।” न्हुच्छेबहादुरको परिवारका सबैले यही काम गर्छन् । परिवार नै नलागी पाला बनाउन सम्भव पनि छैन, न्हुच्छेबहादुर भन्नुहुन्छ, “परिवारका चारै जना सदस्य यही काममा व्यस्त छौँ ।” उहाँका अनुसार पहिलेको जस्तो यसको माग भने छैन । पहिला माटाको गाग्रो, घ्याम्पालगायतका ठुला साइजका भाँडा किन्ने मान्छे आउँथे अचेल आउँदैनन् । प्लास्टिकका भाँडाले त्यसलाई विस्थापित गरिसक्यो, न्हुच्छेबहादुरको गुनासो छ ।
विगत १५ वर्षदेखि माटाका भाँडा बनाउने पेसामा लाग्नुभएका रञ्जित प्रजापतिले तिहारका लागि दुई महिनाअघिदेखि नै दियो बनाउन सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोराछोरी सबै जना दसैँअघिदेखि नै दियो बनाउने काममा व्यस्त छन् । दियो जति बनाए पनि बिक्री गर्न समस्या छैन ।” उहाँका अनुसार बिजुलीको झिलिमिलीले पनि यसलाई विस्थापित गर्न सकेको छैन ।” रञ्जित भन्नुहुन्छ, “अहिले झिलिमिली बत्तीका साथै माटोको दियो पनि त्यत्तिकै प्रयोग हुन्छ ।”