काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै आशिफ शेखले ३७, भिम सार्कीले २० र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा अमेरिकाका हर्मित सिंह एक्लैले ६ विकेट लिनुभयो । शुभम् रन्जनेले दुई तथा रसिल उर्गकरले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।
अमेरिकाका लागि स्मित पटेल र मिलन्दु कुमारले शानदार अर्धशतक बनाउनुभयो । पट्टेलले सय बलको सामना गर्दा नौ चौकाको मद्दतमा ७५ रन बनाएर अमेरिकी इनिङ् उकास्नुभयो भने मिलन्दुले ५० बलको सामना गर्दा नटआउट ७० रन बनाउनुभएको हो ।
सुरुको १० ओभर कसिलो बलिङ गरेको नेपालले त्यसपछि अमेरिकालाई रन दिएको हो । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी एकएक विकेट हात पार्नुभयो ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १७ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कका साथ रन रेटका आधारमा शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा कूल ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।