• ९ कात्तिक २०८२, आइतबार

सामाजिक एकताको प्रतीकका रुपमा गाईघाटमा छठपूजा गरिँदै

blog

छठ पूजाका लागि उदयपुरको गाईघाटस्थित त्रियुगा नदीको किनारामा निर्माण गरिएको घाट । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक ९ गते ।
सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।    

त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि निःशुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताउनुभयो ।     

विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आएका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य र जल अर्पण गरी सुरु गरिने छठ पूजा हेर्न नदी किनारामा मुस्लिम समुदायका मानिसहरुको समेत बाक्लो उपस्थिति रहने गरेको छ । उदयपुरको गाईघाटमा छठपर्व कुनै एक जात जाती, भाषाभाषी, कुनै धर्म विशेषको मात्र नभई समग्र सामाजिक एकताको प्रतीकका रुपमा विकसित हुँदै गएको अध्यक्ष साह बताउनुहुन्छ ।

छठ पूजाका लागि त्रियुगा नगरपालिकाले गाईघाट बजार नजिक भएर बहने त्रियुगा नदीकोे किनारमा घाट निर्माणका लागि आवश्यक सहयोग जुटाएको र यो घाट सम्भवतः कोशी प्रदेशकै उत्कृष्ट स्थलका रुपमा रहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो ।

विष्णु पुराणमा उल्लेख भए अनुसार उदयपुरको त्रियुगा नदी धार्मिक महत्त्वको दृष्टिमा आफैँमा एक उत्कृष्ट नदी मानिन्छ । पश्चिमबाट पूर्वतर्फ सङ्लो सफा र प्रसस्त पानी बगिरहेको त्रियुगा नदी किनारमा गएर व्रत बस्न चाहनेले आफ्नाे घाट सुरक्षित गर्न पूजा आयोजक समितिलाई तोकिए अनुसारको रकम तिरेपछि मात्रै घाट उपलब्ध गराइएको समितिका सचिव ललित नायकले बताउनुभयो ।