• १६ वैशाख २०८१, आइतबार

बढ्यो विशिष्ट कक्षको दुरुपयोग

blog

दुई विवादास्पद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोगका लागि माग गरिएको र त्यसैमा स्वीकृति प्रदान गरिएका दुई पत्र ।

काठमाडौँ, भदौ १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् । यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ ।   

शुक्रबारमात्र उक्त विशिष्ट कक्ष प्रयोग गरी एक अभियुक्त फरार भए । फरार गराउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको सार्वजनिक भएको छ ।संयुक्त अरब इमिरेट्स (यूएई) अरब संसद्का उपाध्यक्ष अरब मोहम्मद अहमद मोहम्मद अहमद अल यामाहीसहित तीनजना संसद्को टोली शुक्रबार नेपाल भ्रमणमा आएको थियो । मुस्लिम आयोगको निमन्त्रणमा आएको टोलीमा सुनसरीका रिजवान आलमले विशिष्ट कक्ष प्रयोग गरेको पुष्टि भएको छ । 

त्यसक्रममा आलमको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक–जाँच गर्दा फरार अभियुक्त खुलेपछि भीआईपी कक्षबाट बाहिरिन नागरिक उड्डयन कार्यालयले रोक लगाएको थियो । तर त्यसअघि नै अध्यक्ष अन्सारीको गाडीमा बसेर आलम फरार भइसकेको प्रहरीले जनाएको छ ।  दाउद हुसेनको मुद्दामा फरार रहेका आलमलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिससमेत जारी भएको थियो । दाउद हुसेनका छोरालाई डाक्टर पढाउने भन्दै एक करोड ६८ लाख ठगेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । 

विशिष्ट कक्षबाट भागेका उनलाई प्रहरीले नक्सालस्थित होटल मेरियटबाट शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विमानस्थलबाट फरार आरोपीलाई पक्राउ गरिएको बताउनुभयो ।  अरबबाट आएको सांसद टोलीसहित विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिनेक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले टोलीको सदस्य बनाएर आरोपी आलमलाई आफ्नो गाडीमा राखेर बाहिरिनुभएको थियो ।  

नागरिक उड्डयन कार्यालयको अनुमतिबिना फरार आलमलाई आफ्नो गाडीमा राखेर भगाएको आरोप आयोगका अध्यक्ष अन्सारीमाथि लागेको छ । उहाँले भगाएको नभई, आफ्नो गाडीमा राखेर होटलसम्म ल्याएको स्वीकार्नुभएको छ । 

यसअघि गत जेठ ३१ गते यूएईका राजपरिवार सदस्य शेख मोहम्मद मोक्तोम जुमा अल्मक्तौमले नेपाल आउँदा पनि विशिष्ट कक्ष दुरुपयोग गर्नुभएको थियो ।

व्यवसायी दुर्गा प्रसार्इंको निमन्त्रणामा आउनुभएका जुमाले विशिष्ट कक्ष प्रयोग गरी झापा पुगेर प्रसाईंलाई सुनजस्तै देखिने लौरो उपहार दिनुभएको थियो । विमानस्थलको जानकारीबिना नै बाहिरिएको लौरोको वास्तविकता खुल्न सकेको छैन । प्रसाईं र जुमाबीचको भेटघाट रिजवान आलमले नै मिलाउनुभएको थियो । 

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय विशिष्ट कक्ष दुरुपयोग गरी अभियुक्त फरार भएकोमा गल्ती स्वीकार गरेको छ । कार्यालयका निर्देशक तथा प्रवक्ता टेकनाथ विशिष्ट व्यक्तिले नै अभियुक्तलाई सँगै लिएर आएका कारण गल्ती भएको बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रमा व्यक्तिको विवरण खुलाउनुपर्नेमा त्यसो नगरी सङ्ख्यामात्र तोकेर पठाउने गरेका कारण पनि कतिपय अवस्थामा विशिष्ट कक्ष दुरुपयोग हुने गरेको गुनासो गर्नुभयो ।

नागरिक उड्डयन कार्यालयले विशिष्ट र अतिविशिष्ट कक्ष प्रयोग गर्न दिने व्यवस्था परराष्ट्र मन्त्रालयको पत्रका आधारमा गर्ने गरेको छ । विभिन्न राजदूतावासले पठाएको पत्रलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण नगरी सिधै विमानस्थल पठाउने गरेका कारण पनि विशिष्ट कक्षको दुरुपयोग हुने गरेको गुनासो नागरिक उड्डयन कार्यालयको छ ।

परराष्ट्र मन्त्रालयले विशिष्ट कक्ष प्रयोगका लागि अनुरोध गरिएको पत्रमै एकनासको व्यहोरा उल्लेख नगरी पठाउने गरेको पाइएको छ । दुर्गा प्रसाईंको निमन्त्रणामा जेठ ३१ को घटनामा युनाइटेड अरब इमिरेट्स दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा परराष्ट्रले छापमात्र लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाइदिएको पाइएको छ ।  

शुक्रबारको घटनामा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी रुम प्रयोग गर्ने अनुमतिका लागि अनुरोध ‘पत्रमा अनुरोध भएबमोजिम विशिष्ट कक्ष प्रवेश पास उपलब्ध गराई दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ’ भन्ने टिप्पणीसहित छाप लगाइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले विशिष्ट कक्षबाट अभियुक्त भागेको र दुरुपयोग भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो । यसबारे आफूले बुझेरमात्र जवाफ दिन सक्ने उहाँले बताउनुभयो । 

विमानस्थलको सुरक्षा विषयलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको छ । नागरिक उड्डयन कार्यालय, भन्सार कार्यालय र अध्यागमन विभागले विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीबीच समन्वय र सहकार्य नहुँदा यस्ता समस्या पटक–पटक दोहोरिने गरेका छन् ।  

छानबिन समिति गठन  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फरार आरोपी भगाइएको बारे सत्यतथ्य पत्ता लगाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

कार्यालयका निर्देशक टेकनाथ निरौला संयोजक रहेको समितिमा नागरिक उड्डयन कार्यालय हवाई सुरक्षा महाशाखाका प्रमुख बच्चुराम श्रेष्ठ, टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख विजय ढुङ्गाना, विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश दुबे र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारी रहनुभएको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउनेगरी जिम्मेवारी तोकिएको छ ।  

विशिष्ट कक्ष दुरुपयोग बढेपछि यसलाई रोक्न नागरिक उड्डयन कार्यालय परराष्ट्र मन्त्रालयबाट विवरण खुलाइएको पत्र अनिवार्य गर्ने र विशिष्ट व्यक्तिको पहिचान खुलेपछि मात्र प्रयोग दिने गरी कडाइ गर्ने जनाइएको छ ।