भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक २१ गते । उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते हुनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका वडा ९ कालिखोलास्थित मदन भण्डारी राजमार्गमा गाइघाटबाट चुहाडेतर्फ जाँदै गरेको स ५ प ४०४१ नं.स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०१९ प १५३७ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइते भएका मोटरसाइकल चालक रौतामाई गाउँपालिका वडा नं. ७ मुर्कुची बस्ने बर्ष २२ को सुरेन्द्र पुलामी मगर, मोटरसाईकलमै सवार निजकै आमा बर्ष ४३ की दिलकुमारी मगर र स्कुटर चालक त्रियुगा नपा वडा नं १२ शनि मन्दिर बस्ने वर्ष ६ को ईमन कार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगरस्थित अस्पतालमा थप उपचारको लागि रेफर गरिएको छ ।
त्यसैगरी रौतामाई गाउँपालिका ७ घट्टाबाट मुर्कुचीतर्फ जाँदै गरेको बा ४० प ८२५२ नं को मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने वर्ष ८२ को नारायणबहादुर कार्कीलाई ठक्कर दिई घाइते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा थप उपचारको लागि पठाइएको उहाँले बताउनुभयो ।
त्यसैगरी त्रियुगा नपा १० आँखा अस्पतालनजिक मदन भण्डारी लोकमार्गमा मुर्कुचीबाट बोक्से तर्फ आउँदैगरेको नेपाली सेना (पशुपति प्रसाद गण बोक्से उदयपुर) को टु–टन गाडी र विपरीत दिशाबाट जाँदैगरेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला झापा कमल गापावडा नं ५ बस्ने वर्ष ३७ को गोपालबहादुर सार्की घाइते भइ जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित आर्या न्यूरो अस्पताल रेफर गरिएको छ ।
त्यस्तै, त्रियुगा नपा १० बोक्से चोक नजिक करमगछीबाट गाईघाटतर्फ जाँदैगरेको मोटरसाइकलले बाटो क्रस गर्दैगरेका पैदलयात्री जिल्ला खोटाङ दिप्रुङ चिइचुम्मा गापा वडा ७ टेम्मा घर भइ हाल त्रियुगा नपा १० बोक्से बस्ने रत्नबहादुर राईको छोरा वर्ष १६ को सुमन राईलाई ठक्कर दिइ घाइते हुनुभएको छ ।
जिल्ला अस्पताल उदयपुरमा उपचार पश्चात डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न मोटरसाइकल र चालक तत्काल फरार रहेकोले खोजतलासको कार्य भइरहेको प्रनाउ दोङले बताउनुभयो ।