• ११ असोज २०८२, शनिबार

भ्रमपूर्ण सूचनाका दुष्प्रभाव गम्भीर

blog

काठमाडौँ, असोज १० गते  । जेनजी समूहले भदौ २३ र २४ गते शान्तिपूर्ण रूपमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा पहिलो दिन १९ जना युवाको मृत्यु भएको थियो । 

आन्दोलनकै क्रममा सामाजिक सञ्जालमा चर्चित केही पात्रले गोली लागेर धेरै युवाको शव संसद् भवनभित्र नै गायव पारिएको भ्रामक सन्देश प्रवाह गरे । त्यसपछि भड्किएको हिंसाका कारण ७४ जनाको मृत्यु भयो, दुई सय जनाभन्दा बढी घाइते भए ।

मुलुकमा व्यप्त भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित जेनजी समूहले गरेको आन्दोलनले सत्ता परिवर्तन ग¥यो । आन्दोलनको वेगले प्रतिनिधि सभा नै विघटन भई मुलुक निर्वाचनको सँघारमा पुगेको छ ।

नवयुवाको बलिदान र मुलुकले भोगेको क्षति अकल्पनीय छ । यस्तो विषम परिस्थितिमा परिवर्तनलाई नै ओझेलमा पार्ने र परिस्थितिलाई समाल्नभन्दा झन् बिगार्न उद्यत भएर सामाजिक सञ्जालमा पुनः भ्रमपूर्ण अभिव्यक्तिसँगै अपुष्ट खबरहरूको प्रवाह जारी छ ।

सामाजिक सञ्जालमा प्रवाह भइरहेका भ्रामक कुरा र अभिव्यक्तिले मुलुकमा अराजकता मौलाउने र सामाजिक सद्भावमै गम्भीर असर पर्नेतर्फ चिन्ता व्यक्त हुन थालेको छ । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्यले आन्दोलनलाई नै बदनाम गर्ने गरी आइरहेका विषयवस्तु, अपुष्ट विवरण र भ्रमपूर्ण सूचनाले मुलुक थप अन्योल र जटिलतातर्फ जाने त हैन भन्ने चिन्ता बढेको बताउनुहुन्छ । आमनागरिकमा यस्ता अपुष्ट खबरले अन्योल सिर्जना भई थप अराजकता निम्तिनेतर्फ सबै सजग हुनुपर्ने बताउँदै आचार्य भन्नुहुन्छ, “पछिल्लो आन्दोलनसँग विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय जासुसी संस्था, सुरक्षा निकाय, पूर्वराजसंस्था र केही व्यक्तिको भूमिकाबारे आइरहेका विवरण अत्यन्तै गम्भीर छन् । यसबारे सरकार र सम्बन्धित निकायले तुरुन्तै स्पष्ट पार्नु पर्छ ।” उहाँले त्यस्ता विवरण सत्य नै हुन् भने त्यसले मुलुकको सार्वभौमिकतामा नै गम्भीर असर पुग्ने भएकाले राज्यले नै त्यसको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

भ्रामक सूचनाले भयावह क्षति 

“एक गोलीले भन्दा एउटा मात्र गलत सूचनाले पु-याउने क्षति कैयौँ गुणा बढी हुन्छ,” भन्ने भनाइको पुष्टि आन्दोलनका व्रmममा जलाएर ध्वस्त पारिएको काठमाडौँको नक्सालस्थित पाँचतारे होटल हिल्टनलाई नै हेरे हुन्छ ।

विश्व चर्चित अन्तर्राष्ट्रिय चेन पाँचतारे होटल हिल्टन जल्नुको मुख्य कारण पूर्वप्रधानमन्त्रीका छोराको लगानी भनी आएको अपुष्ट सामग्री बन्यो । नेपालको होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने अपेक्षा गरिएको यो होटलमा पुगेको क्षतिको असर अन्तर्राष्ट्रिय लगानीमै पर्ने चिन्ता व्यक्त भइरहेको छ । हिल्टनसँगै पाँचतारे होटल हायत, भाटभटेनी सुपर मार्केट, चन्द्रागिरि हिल्स, चौधरी ग्रुपको आइटी पार्क जस्ता निजी व्यवसाय र उनीहरूका निजी घरमासमेत आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षतिले निजी क्षेत्रलाई झस्काएको छ । 

अपुष्ट समाचार कति दुःखद र पीडादायी हुन्छ भन्ने अर्को उदाहरण २०५७ पुस ११ गते बलिउड अभिनेता ऋतिक रोशन काण्ड छ ।

टेलिभिजन च्यानल ‘स्टार प्लस’ अन्तर्वार्तामा ऋतिकले ‘सबैभन्दा मन नपर्ने देश नेपाल र नेपाली’ भन्ने गलत खबर बाहिरिएपछि सुरु भएको आगजनी र तोडफोडका क्रममा सात जनाको मृत्यु भएको थियो । विभिन्न विद्यार्थी सङ्गठन र प्रहरीबिच भिडन्तमा १६ जना नेपाली युवा गम्भीर घाइते भएका थिए । ठुलो तोडफोड भयो तर ऋतिकले आफूले त्यस्तो कुनै अभिव्यक्ति नदिएको भन्दै नेपालको घटनाबारे दुःख व्यक्त गर्नुभयो ।

यतिबेला आन्दोलनसँग विदेशी कूटनीतिक नियोग, विदेशी जासुसी तथा सहयोगी संस्थाहरूको भूमिकालाई जोडेर विभिन्न दाबी प्रस्तुत भइरहेका छन् । कतिसम्म भने आन्दोलन नै विदेशीको प्रत्यक्ष योजनामा भएको र नेपालका कतिपय सुरक्षा निकाय र स्थानीय तहका प्रमुख नै त्यसमा संलग्न भएको जस्ता कुप्रचार भइरहेका छन् । अर्कोतिर अझै पनि नेता वा विभिन्न व्यक्तिप्रति घृणाजन्य अभिव्यक्ति र भ्रम छर्ने व्रmम पनि यथावत छ ।

कारबाही हुन्छ 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अपुष्ट, भ्रामक र तथ्यहीन विवरण प्रकाशन र प्रसारण गरे कानुनबमोजिम कारबाही हुने बताउनुहुन्छ ।

उहाँले भ्रामक विषय प्रकाशन वा प्रसारण भएमा त्यसको रेकर्ड मन्त्रालयमा समेत रहने र त्यसविरुद्ध सम्बन्धित निकायबाट अनुसन्धान हुने भएकाले सत्य र तथ्यमा आधारित विषय मात्र प्रकाशन र प्रसारण गर्न आग्रह गर्नुभयो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपक अवस्थीले कसैको चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक वा तथ्यहीन विवरण प्रकाशन गर्नेविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने बताउनुहुन्छ । अवस्थीले विद्युतीय सञ्चार माध्यममा राष्ट्रियता, धर्म, संस्कृति, सार्वजनिक तथा नैतिक शिष्टाचारविरुद्धको सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउन नहुने उल्लेख छ ।