गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २१ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाल छाडेर कहीँ नभाग्ने बरु मर्नुपरे देशका लागि यही मर्ने बताउनुभएको छ ।
एमाले केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहिले सुकरात त कठिन परिस्थितिमा भागेर नगएको उदाहरण दिनुहुँदै भन्नुभयो, “देश बनाउन राजनीतिमा आएको हुँ, देश छाडेर कहीँ भाग्दैन ।”

देशको ठुलो पार्टीका नेताहरुलाई काठमाडौं उपत्यका छाड्न नदिने अनि निर्वाचन गराउँछु भन्ने कुरामा तालमेल नमिलेको उहाँले टिप्पणी गर्नुभयो । एमाले कुनै शक्तिसँग नझुकेको शक्ति भएकाले देश र जनताको पक्षमा निरन्तर लागिरहने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले लोकतन्त्रमा संविधानको सही अभ्यासको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलन राम्रो मागको लागि सुरु भएको थियो तर त्यसमा चलखेल भएर विध्वंसात्मक भयो र अहिलेको अवस्थामा पुग्यो । संविधान विपरित काम गर्न कसैलाई छुट हुनुहुँदैन ।”

प्रतिनिधिसभा विघटन गरिएकाले यसको पुनस्र्थापना गरी मुलुकलाई निकास दिनुको विकल्प नरहेको उहाँले दोहोर्याउनुभयो । कार्यक्रम नेता रघुजी पन्तको अध्यक्षतामा भएको थियो ।