• २१ कात्तिक २०८२, शुक्रबार

अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

blog

उट्घाटन खेलमा प्रतिस्पर्धा गर्दै रामपुर आवासीय र गंगा माविका विद्यार्थी । तस्बिरः इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), कात्तिक २१ गते । रामपुर नगरपालिकामा अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ प्रतिभाको पहिचानसँगै ग्रासरुटका बाल खेलाडीलाई अवसर प्रदान गर्न रामपुर फुटबल एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको हो । 

‘अब पालो विद्यार्थीको, खोजी प्रतिभाको’ भन्ने नारासाथ शुक्रबारदेखि रामपुर –७, स्थित किसानबारी खेलमैदानमा सुरु भएको प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका रहेको छ । प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले विद्यालय तहको प्रतियोगिता सामान्य देखिए पनि खेलाडी उत्पादनका लागि भविष्यमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । 

तल्लो तहबाटै प्रशिक्षण र अवसर प्रदान गर्न सकेमा खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउन सकिने बताउनुभयो । रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीले बालबालिकालाई अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभाको खोजीका लागि अन्तर विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो मूख्य उद्देश्य ग्रासरुट लेभलमा रहेका बाल खेलाडीलाई प्लेटफर्म दिनु हो । साथै बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने सोँचका साथ पहिलो पटक प्रतियोगिता सञ्चालन गरेका छौं ।” 

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई मात्र सहभागी गराइएको छ । प्रतियोगितामा कालीगण्डकी वेशी क्षेत्रका १७ विद्यालयको सहभागीता रहेको खेल संयोजक केशवराज श्रेष्ठले जानकारी दिनुभयो । रामपुर नगरपालिका, पाल्पाका १२ र चापाकोट नगरपालिकाका पाँच माध्यमिक विद्यालयको सहभागीता रहेको श्रेष्ठले बताउनुभयो । 

कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद ३० हजार र उपविजेताले नगद १० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र प्रेरणादायी पुस्तक प्राप्त गर्नेछ । साथै सेफिाइनलिष्टले नगद ८–८ हजार प्राप्त गर्नेछन् । साथै विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

उट्घाटन खेलमा गंगा माविलाई ३–० गोलले पराजित गर्दै रामपुर अंग्रेजी आवासिय मावि विजयी भएको छ । रामपुर फुटबल एकेडेमीले ग्रासरुटका बाल खेलाडीलाई प्रशिक्षण दिँदैआएको छ ।