• २० असोज २०८२, सोमबार

बाढीपहिरोमा छयालिस जनाको मृत्यु

blog

काठमाडौँ, असोज २० गते । अविरल वर्षासँगै बाढी, पहिरो र डुबानमा परी पछिल्ला दुई दिनमा देशभर ४६ जनाको मृत्यु भएको छ । साथै छ जना बेपत्ता रहेका र २६ जना घाइतेको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दिनुभएको जानकारी अनुसार बाढीपहिरोबाट सबैभन्दा ठुलो मानवीय क्षति इलाममा भएको छ । त्यहाँ ३७ जनाको मत्यु भएको र थप एक जना बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो ।

उदयपुरको बेलका–४ मा एक र त्रियुगामा एक गरी दुई जनाको मृत्यु भएको छ । खोटाङमा दुई जनाको मृत्यु भएको छ । त्यसै गरी पाँचथरको फाल्गुनन्द र तुम्बेवामा दुई जना र रौतहटमा तीन जनाको मृत्यु भएको छ । 

प्रवक्ता घिमिरेका अनुसार मृतक ४६ जनामध्ये ४१ जनाको पहिरोले पुरिएर, दुई जनाको बाढीले बगाएर र तीन जनाको चट्याङमा परी मृत्यु भएको हो । मृतकमध्ये १६ जना पुरुष, १७ जना महिला, पाँच जना बालक र आठ जना बालिका रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी बेपत्ता छ जनामध्ये चार जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ । त्यसै गरी घाइते २६ मध्ये १४ जना पुरुष, छ जना महिला, पाँच बालक र दुई बालिकाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार यस पटक सबैभन्दा बढी रौतहटमा र यसपछि इलाममा धेरै वर्षा भएको छ । रौतहटको महेशपुरमा असोज १८ गते बिहान ८ बजेदेखि असोज १९ गते बिहान ८ बजेसम्म ३३८.६ मिलिमिटर वर्षा मापन गरिएको छ । इलामको हिमाली केन्द्रमा सोही अवधिमा ३३४.२ मिलिमिटर वर्षा मापन भएको छ । बर्सातको तुलनामा बढी मानवीय क्षति पनि इलाममै भएको छ । भीषण वर्षासँगैको पहिरोले मानव बस्तीमा क्षति पु¥याउँदा इलाममा ठुलो मानवीय क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

यसै गरी शनिबार पाँचथरको कुम्मायकस्थित कात्तिकेडाँडामा बलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी तमोर कोरिडोरमा दुर्घटना भई सडकबाट झन्डै ३०० मिटर तल खसेर भएको दुर्घटनमा घाइते छ जनाको नेपाली सेनाले उद्धार गरी अस्पताल पु¥याएको थियो ।  

बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत स्थानीय निरन्तर खटिएको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी अस्पतालसम्म पु¥याइएको छ । प्रहरीका प्रवक्ता घिमिरेका अनुसार बाढी, पहिरो र डुबानबाट देशभर ७९९ वटा घर क्षतिग्रस्त हुँदा दुई हजार ३३ जना विस्थापित भएका छन् । बाढीले १९१ वटा घर डुबानमा परेका छन् । 

बाढीपहिरोग्रस्त क्षेत्रमा फसेका ८२८ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । त्यसै गरी २२ वटा गोठमा क्षति पुग्दा १९ वटा पशुचौपाया मरेका छन् । अविरल वर्षासँगै आएको पहिरोमा परी रसुवामा चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङमा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ । 

सेवा सुचारु गर्न निर्देशन 

गृह मन्त्रालयले जलप्रकोपबाट क्षति नभएका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न/गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गर्दै बाढीपहिरो र डुबानबाट असर नपुगेको सबै जिल्लामा सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिइएको हो । सरकारले विपत्को सम्भावित जोखिमका कारण आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयको परिपत्रमा भनिएको छ, “प्रस्तुत विषयमा विपत् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाले सार्वजनिक सेवा सुचारु गर्नु/गराउनुहुन निर्णय अनुसार अनुरोध गरिएको छ ।”