प्रवीण कुमार शर्मा
रौतहट, कात्तिक २१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाहरुमा अनुभवी शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाउने तयारी गरेको छ । मन्त्रालयले पालिकाहरुमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाए पनि कर्मचारी स्थानीय तहमा जान नमानेपछि अहिले कतिपय पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माले नगरपालिकामा उपसचिवको दरबन्दी रहे पनि हाललाई १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई खटाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।
पालिकामा समायोजन भएका कर्मचारीलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नदिएर अनुभवी शाखा अधिकृतलाई पठाउने तयारीमा मन्त्रालय जुटेको उहाँको भनाइ छ । यसका लागि मन्त्रालयका कर्मचारी दिन रात काम गरि रहेको उहाँको दाबी रहेको छ ।
गएको भदौ १२ गतेका दिन भएको सरुवा अनुसारका पालिकामा नगएर अर्को पालिकामा जान इच्छुक उपसचिवको सरुवा समेत संशोधन भइरहेको बताउनुहुँदै सहसचिव शर्माले मन्त्रालय एकलै चाहेर निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन पालिकाको परिकल्पना सम्भव नरहेको बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायत सबैको सहयोग भए मात्र मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर भएर काम गर्न सक्ने उहाँको भनाइ रहेको छ । रौतहटका १६ वटा नगरपालिकामध्ये चन्द्रपुर, गरुडा र गुजरा नगरपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
मन्त्रालयले बिहीबार वृन्दावन नगरपालिकामा खटिएका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफालाई देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा खटिएका प्रमुख प्रशासकीय अधिकृत बिकाउ कुमार यादवलाई राजदेवी नगरपालिकामा सरुवा गरेको छ ।
गएको कात्तिक १७ गतेका दिन गढिमाइ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा साविककै निमित प्रमुख प्रशासकीय अधिकृतलाई कात्तिक मसान्त सम्मको लागि मन्त्रालयले निरन्तरता दिएको छ ।
अहिले पनि रौतहटमा गौर नगरपालिका, इशनाथ नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, कटहरिया नगगरपालिका र वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ ।
वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद राउत कुर्मीका अनुसार आफ्नो कार्यकालमा शिक्षाका उपसचिव खिमबहादुर भुजेल नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनुपर्ने अडानमा हुनु हुन्छ ।
मन्त्रालयले बारम्बार शिक्षाका उप सचिव भुजेलको सरुवा गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।
विभिन्न दबाबका कारण मन्त्रालयले कर्मचारी सरुवा गर्ने गरेका कारण समेत मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म बारम्बार विवादमा आउने गरेका छन् । मन्त्रालयका एक सुब्बा कर्मचारीको भनसुनमा मोरंगको कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवलाई मन्त्रालयमा सरुवा गरेपछि मन्त्रालयको नियतमाथि नै प्रश्न चिन्ह खडा भएको छ । दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत भएको अवस्थामा सरुवाको कुनै औचित्य नरहेको कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले गुनासो पोख्नु भएको छ । मन्त्रालय भनसुनको आधारमा नभएर सिस्टममा चल्नु पर्नेमा उहाँले जोड दिनु भएको छ ।
दुई वर्ष कार्यकाल पुगेकाले सरुवा गरेको मन्त्रालयको भनाइ रहेकामा यो नियम सबैका लागि लागू हुनुपर्ने उहाँले बताउनुभयो । कतै एक महिना मै सरुवा, कतै चार वर्ष पुगे पनि सरुवा नहुने र कतै दुई वर्ष पुगेको भनेर मन्त्रालयको बरण्डामा पुर्याइ दिने कुरामा मन्त्रालय सचेत हुनहु पर्ने उहाँले बताउनुभयोे ।