काठमाडौँ, कात्तिक १२ गते । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देशभरका कारागारबाट फरार भएका १४ हजार ५४९ जनामध्ये चार हजार ५९७ जना कैदीबन्दी र करिब दुई सय जना बालबिझ्याइँकर्ता (बालबन्दी) अझैसम्म पक्राउ हुन सकेका छैनन् ।
देशभरका कारागारबाट फरार कैदी नै भदौ २४ गते हिंसात्मक गतिविधिमा संलग्न रहेको र अदालत, प्रहरी कार्यालय र सरकारी भवनमा आगजनी, तोडफोडसँगै सुरक्षा निकायका हतियार नै लुटपाटमा संलग्न रहेको रिपोर्ट सुरक्षा निकायले दिइरहेका छन् ।
फरार कैदीलाई आफैँ कारागार फर्किन गृह मन्त्रालयले गत कात्तिक २० गतेसम्मको समयसीमा तोकेको थियो । समयसीमाभित्र कारागार फिर्ता नहुने कैदी र लुटिएका हतियार नियन्त्रणका लागि विशेष सुरक्षा कारबाही सञ्चालन नहुँदा थप अराजकतासँगै आपराधिक मनोवृत्ति बढ्न सक्ने चिन्ता व्यक्त भइरहेको छ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ हतियारको दुरुपयोगका कारण शान्तिसुरक्षा मात्र नभएर राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्नेतर्फ सबै सजग हुनुपर्ने बताउनुहुन्छ ।
धेरैजसो कैदी आफैँ कारागार फर्किएको र बाँकी नियतवश नै बाहिर लुकेको हुन सक्ने बताउँदै तामाङले भन्नुभयो, “सम्पूर्ण फरार कैदीको विवरणसहित फोटो सार्वजनिक गर्ने र उनीहरूको सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गरेरै भए पनि तत्कालै पक्राउ गर्नु पर्छ ।”
उहाँले सम्पूर्ण सुरक्षा निकाय आआफ्नोतर्फबाट सूचना सङ्कलन गर्ने र आवश्यक परे फरार कैदी र लुटिएका हतियार नियन्त्रणका लागि संयुक्त सुरक्षा कारबाही गर्नु उचित हुने बताउनुहुन्छ । कारागारबाट फरार भएका कतिपय कैदीले बाहिर निस्कनासाथ हत्या अपराधमा संलग्न भएका घटनाले पनि समाजमा भय सिर्जना हुने अवस्था बनेको छ । सुरक्षा स्रोतका अनुसार पाँच हजारभन्दा बढी कैदी र चार सयभन्दा बढी हतियार अझै नियन्त्रण बाहिर छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले फरार कैदी पक्राउ र लुटिएका हतियार नियन्त्रणका लागि नेपाल प्रहरीले आवश्यक सूचना सङ्कलन गर्ने र विभिन्न सर्च अपरेसन सञ्चालन गरिरहेको बताउनुहुन्छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), काठमाडौँ उपत्यका प्रहरी कार्यालय, विशेष ब्युरोलगायत सातै प्रदेश प्रहरी कार्यालयमार्फत विशेष टोली परिचालन गरिएको उहाँको दाबी छ ।
जिल्ला सुरक्षा समितिमार्फत नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायले पनि उनीहरूमाथि निगरानी बढाएको बताउँदै घिमिरे भन्नुहुन्छ, “अधिकांश कैदी फिर्ता र लुटिएका हतियार फिर्ता भए पनि केही बाँकी छन्, तिनलाई पनि यथाशक्य छिटो नियन्त्रणमा लिने प्रयास जारी छ ।” कारागार फर्किन बाँकी १०४ जना तेस्रो मुलुकका र ५३४ जना भारतीय कैदीलाई पक्राउका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको छ । यस्तै कतिपय फरार कैदी हत्या, अपराध, लागुऔषध जस्ता जघन्य अपराधमा संलग्न रहेको पाइएको सुरक्षा स्रोतको दाबी छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार फरार कैदी पक्राउका लागि ७७ वटै जिल्लाका सयहाक प्रमुख जिल्ला अधिकारीको संयजकत्वमा फरार कैदीबन्दी खोजी पक्राउ नियन्त्रण कार्यदल गठन गरिएको छ ।
केन्द्र प्रदेश र स्थानीय तहका सेवाप्रदायक निकायमार्फत आवश्यक सहयोग र सहजीकरणका लागि पत्राचार गरिसकेको बताउँदै महानिर्देशक शर्माले भन्नुभयो, “क्षतिग्रस्त सम्पूर्ण कारागार र कैदीको अभिलेख पुनस्र्थापित भइसकेको छ । अब फरारको पहिचान पनि सहज भएकाले थप कारबाही अघि बढाउँछौँ ।” महानिर्देशक शर्माले फरार सबै कैदीबन्दीलाई कानुन अनुसार नियन्त्रणमै लिइने बताउनुभयो । देशभरका ७४ वटा कारागारमा ३० हजार ६१८ कैदी रहेकामा १५ हजार ५४५ कैदी भने कारागारमै थिए ।