• १० मंसिर २०८१, सोमबार

स्वदेशमै मल कारखाना

blog

विगतदेखि नै नेपालमा खेतीपातीका बेला रासायनिक मलको अभाव नियमित आकस्मिकताका रूपमा रहिआएको पाइन्छ। कृषिप्रधान मुलुकमा बर्सेनिजसो लगभग त्यही समयमा रासायनिक मलको अभावले कृषकको भइरहेको हुन्छ। यो पटक मल अभाव हुँदैछ भन्ने सरकार तथा सरोकार निकायका प्रतिबद्धता भए पनि किसानका लागि ती प्रतिबद्धता काम लाग्दैनन्। यो नियतिको क्रमभङ्गता हुन सकेको छैन। समस्याको दिगो समाधान गर्न हालसम्म कुनै ठोस नीति, नियम कार्यान्वयन हुन सकेको छैन। मलका नाममा झेल र भ्रष्टाचार हुने गरेको नौलो होइन।

आयात प्रतिस्थापन गर्न सक्ने महत्वपूर्ण क्षेत्र हो कृषि। कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइ योगदान रहेको छ। कृषिमा देशको अझै पनि दुईतिहाइ जनसङ्ख्या निर्भर छ। हालसम्मको वस्तुस्थितिको अध्ययन विश्लेषण गरिँदा रासायनिक मल आयातका तुलनामा स्वदेशमा नै उत्पादन यो समस्याको दिगो तथा स्थायी समाधानको राम्रो उपाय भएको सबैले महसुस गरेकै हुन्। बृहत् लगानी तथा अन्य विविध कारणले गर्दा यसतर्फ सकारात्मक पहल अगाडि बढ्न सकेको थिएन। यसैबीच एक अध्ययनबाट रासायनिक मल स्वदेशमै उत्पादन गर्ने सम्बन्धमा केही खुसीसँगै आशाका किरण सार्वजनिक भएको छ। अध्ययनले देखाएको कुरा सम्भव भए कृषि क्षेत्रका लागि कोसेढुङ्गा साबित हुने देखिन्छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हाइड्रोजन र रासायनिक मल उत्पादनका निम्ति तर्जुमा गरिनुपर्ने नीतिगत व्यवस्था सिफारिस गर्न गठित समितिले सोमबार सरकारसमक्ष प्रतिवेदन पेस गरेको छ। प्रतिवेदनले नेपालमा रासायनिक मल उत्पादन सम्भव रहेको निष्कर्ष निकालेको छ। समग्रमा मुलुकको अर्थनीति, कृषक तथा उपभोक्तालाई यो निकै हर्षको विषय भएकोमा दुईमत छैन। सरकारले नीतिगत व्यवस्थापन र अख्तियारी प्रदान गरेमा अबको तीन वर्षभित्र नेपालमा नै हाइड्रोजन र युरिया उत्पादन सम्भव हुने विज्ञहरू सम्मिलित अध्ययन समितिको रहेको छ। यस अध्ययनबाट सरकारले आवश्यक व्यवस्थापन गरिदिए स्वदेशी रासायनिक मल प्रयोग गर्ने नेपाली कृषकको सपना साकार हुन सक्नेछ।

सपना देखेर मात्र हुँदैन, पूरा गर्न अगाडि बढ्नुपर्छ। उपयुक्त नीति तथा वातावरणको निर्माण सरकारबाट भए तीन वर्षभित्रमा ७० अर्ब रुपियाँको लगानीमा स्वदेशमा नै रासायनिक मल उत्पादन हुनेछ। हाल सरकारले औसत सबै किसिमका मलमा प्रति के.जी. झन्डै एक सय रुपियाँ जति कृषकलाई अनुदान दिइरहेको छ। हाल आठ लाख मेट्रिक टन मल नेपालमा खपत भइरहेको छ। यस तथ्याङ्कबाट सरकारले मलमा मात्र बर्सेनि ठूलो धनराशि किसानको अनुदानमा खर्च भइरहेको छ तर समयमा मल नपाउने समस्या कायमै छ। स्वदेशमा नै रासायनिक मल उत्पादन गर्न सकिए यो निश्चित रूपमा लागत प्रभावी हुनेछ। मल कारखानाले रोजगारीसमेत सिर्जना गर्नेछ। समयमै मल पाउने सुनिश्चितासमेत हुनेछ। मलका लागि विदेशिने धनराशि बाहिरिनबाट जोगिनेछ।

रासायनिक मलको उत्पादन मल सहज रूपमा उपलब्ध हुने एवं आर्थिक पाटो मात्र सीमित नभएर वातावरणीय स्वच्छताको पक्षसँग पनि सम्बन्धित रहेको छ। सिमेन्ट तथा फलामे छड उद्योगबाट उत्सर्जित प्रदूषित वायुबाट कार्बनडाइअक्साइड छुट्याएर विभिन्न रासायनिक तत्व मिलाएर बनाइने प्रविधिका कारण वातावरणमा स्वच्छता कायम गर्न सकारात्मक योगदान पु-याउने पनि छ। यस्तै केही वर्षभित्रै नेपालमा स्वदेशी मागभन्दा निकै बढी मात्रामा विद्युत् उत्पादन हुनेछ। विद्युत् उपयोगको प्रभावकारिता बढ्नेछ। 

रासायनिक मलमा हालसम्म परनिर्भरता हाम्रो रहर होइन, बाध्यता नै हो। यसलाई हटाउन सरकारले अग्रसरता लिएको छ र अब काम गर्नुपर्ने बेला आएको छ। स्वदेशमा नै रासायनिक मल कारखाना निर्माणको प्रक्रियालाई अगाडि बढाउन अब ढिला गर्नु हुन्न। अध्ययन समितिले दिएका सुझाव तथा सल्लाहलाई नीतिगत तवरले लागू गर्न सकारात्मक वातावरण सिर्जना गर्नुपर्छ। रासायनिक मल बनाउन कुनै पनि कच्चा पदार्थ आयात गर्नु नपर्ने तथा स्वदेशमा नै उपलब्ध साधन, स्रोतको उपयोग हुने भएकाले पनि यसको निर्माणमा ढिलाइ गरिनु हुँदैन। स्वदेशमै स्थापना हुने मल कारखाना स्वनिर्भर कृषिका निम्ति नयाँ फड्को हो। रासायनिक मलसँगै जैविक कृषिलाई समेत अगाडि बढाउनु आवश्यक छ।