नेपाल भौगोलिक र उत्पादनमा विविधता भएको देश हो । हिमाल, पहाड र तराई/मधेशमा बेग्लाबेग्लै उत्पादन गरेर आयआर्जन र रोजगारी बढाउन सकिन्छ । हिमाली क्षेत्र पर्यटन तथा पदयात्राका लागि उपयुक्त छ । त्यहाँ पशुपालन, स्याउ, जडीबुटी, फलफूल, राडीपाखी उत्पादन गरेर स्थानीय व्यापार चलायमान बनाउन सकिन्छ । पहाडी क्षेत्रमा कृषि र पशुपालनलाई जोड दिनु पर्छ । ग्रामीण उत्पादनलाई सङ्घीय राजधानीलगायत सहरबजारमा पु¥याउन सडक सञ्जालको विकास भएको छ । नेपाली उत्पादन बिक्रीका लागि भारत र चीनको तिब्बत उपयुक्त थलो हो । हिमाली क्षेत्रका बासिन्दालाई पर्यटन र स्थानीय उत्पादनले आत्मनिर्भर र उद्यमी बनाउन सकिन्छ । हिमाल र पहाडका दुर्गम गाउँबस्तीमा ठुला उत्पादन गर्न सकिँदैन । त्यहाँ जमिनको उपयोग, पानी र वनसँग जोडिएको उत्पादन, बाँझो र सार्वजनिक जग्गा उपयोग, जडीबुटी उत्पादन र प्रशोधनले साना र मझौला खालका उद्यमशीलता विकास गर्न सकिन्छ । स्वदेशी तथा विदेशी पर्यटक पर्यटक भित्र्याउन स्थानीयसँग सहकार्य गरेर योजना बनाउने, ज्ञान, सिप र स्थानीय प्रविधि प्रयोग गरी उत्पादन बढाउने पर्याप्त आधार छन् । तुलनात्मक लाभका क्षेत्र पहिचान गर्ने, मूल्य शृङ्खलाका वस्तु उत्पादन तथा जग्गाको छनोट गर्ने र उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने हो भने स्थानीय तहमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । दुर्भाग्य रोजगारीका लागि गाउँबाट सहर र राजधानी पस्ने अनि विदेश जाने प्रवृत्तिले आज गाउँ रित्तिएका छन् ।
गाउँघरमा जनशक्तिको अभाव भएको छ । गाउँघरको उत्पादनलाई व्यवस्थापन गर्न पनि सकिएको छैन । गाउँका जमिन र जङ्गलको उपयोगितामा कमी आएको छ । कृषिप्रधान देश भएर पनि उत्पादनको मोडेल बनाउन नसक्दा कृषि तथा पशुपालनमा आत्मनिर्भर बन्न सकिएन । तराई मधेश अन्नको भण्डार हो । राम्ररी व्यवस्थापन गर्न नसक्दा मुलुक अन्नमा समेत आत्मनिर्भर छैन । गाउँघरका मानिस गाउँमै रमाउने, सहर र विदेश गएका मानिस पनि गाउँ फर्कने योजनासहितको वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो । हामीले आफैँ उत्पादन गर्ने, खपत गर्ने र बढी उत्पादन गरी बिक्री गर्ने योजना बनाउनु पर्छ । गाउँको उत्पादन मोडेल बनाउने हो भने सहर पसेका मानिस गाउँ फर्किन तयार हुने छन् । सहर पसेका मानिस पुख्र्यौली गाउँ फर्कन थाले भने गाउँघरको मुहार फेरिने छ । पछिल्लो दशकमा स्थानीय उत्पादन ह्वात्तै घटेको छ । मानिस खेतीपाती गर्न छोडेर सहर र विदेश पलायन भएका छन् । धेरै गाउँघर युवाविहीन छन् । गाउँघरबाट सहर पसेका युवा पनि विदेश पलायन हुँदा गाउँघरको अवस्था दयनीय बनेको हो । कृषि यस्तो क्षेत्र हो, जसले स्वरोजगारी मात्र होइन बहुरोजगारीसमेत सिर्जना गर्न सक्छ । हामीले माल पाएर पनि चाल पाउन सकेनौँ । नेपालमा ठुला कृषि फार्मको अवधारणा आएकै छैनन् । खण्डीकरणले भूमिको उत्पादकत्व घट्दै गएको छ ।
विदेशमा गएर कृषिकर्म गरेर फर्केका कतिपय युवाले केही समययता काठमाडौँ वरपर भाडामा जग्गा लिएर गरिएको च्याउ, गोलभेँडा र अन्य मौसमी तरकारी खेती गर्न थालेका छन् । केही युवा आफ्नै गाउँघर फर्केर कृषि, पशुपालन र फलफूल खेती गरी आयआर्जन गरेका छन् । लमजुङ र तनहुँको सीमाक्षेत्र भानु नगरपालिका अन्तर्गतको चितीखोलामा स्थापना गरिएको ग्रिन हिमालय फार्मस्टे अनुकरणीय बनेको छ । डुम्रे–बेँसीसहर सडकमा पर्ने अर्चलेबाट एक किलोमिटरको बाटो तय गरेपछि त्यहाँ पुगिन्छ । काठमाडौँमा भएको सुविधासम्पन्न घर बेचेर गीता अधिकारी पाण्डेले त्यहाँ फार्मस्टे सञ्चालन गर्नुभएको छ । यो विषय धेरैलाई अपत्यारिलो लाग्न सक्छ तर उहाँले काठमाडौँको घर बेचेर हिम्मतका साथ गाउँ फर्केर फार्मस्टे सुरु गर्नुभएको हो । फार्मस्टेमा आधुनिकदेखि परम्परागत खालका बस्ने ठाउँ बनाइएको छ । ‘अर्गानिक’ खानपानको व्यवस्था गरिएको छ । बर्सौं छाडेको पुरानो घरलाई नै मर्मत गरी सञ्चालनमा ल्याइएको छ । दुई करोड रुपियाँभन्दा बढी लगानी गरी पाण्डेले पुख्र्यौली जग्गा ७५ रोपनी क्षेत्रफलमा आफैँले खेती गरी पर्यटकलाई अर्गानिक खाना खुवाउने व्यवस्था गर्नुभएको छ । घर बेचेको पैसा र बैङ्कबाट ऋण लिएर बर्साैं बाँझिएको जमिन र छाडेको घर हराभरा भएको छ । पाण्डेको यो सक्रियता, सोच र हिम्मतलाई अरूले पनि आत्मसात् गर्न सके रोजगारी र आयआर्जन गर्न बिदेसिनु पर्दैन । आफ्नो गाउँघरलाई हराभरा बनाउँदै उद्यमशीलताको विकास गर्न सकिन्छ । नेपालको समग्र भूमिको उत्पादन विशेषता अनुसार खेतीपाती र पशुपालनलाई बढावा दिने हो भने रोजगारीका लागि बिदेसिनुपर्ने अवस्था आउँदैन ।