रानी समाचारदाता, कात्तिक २५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४०औं जन्मजयन्तीका अवसरमा महागुरुका सत्य, अहिंसा र नारी सम्मानका शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले महागुरु फाल्गुनन्दलाई श्रद्धा अर्पण गर्दै भन्नुभयो, “महागुरुको जीवनशैलीले सहिष्णुता, एकता र सद्भावको बाटो देखाएको छ । अब ती मूल्यलाई प्रदेश सरकारको नीति र कार्यान्वयनमा उतार्ने हाम्रो लक्ष्य हो ।”
उहाँका अनुसार फाल्गुनन्दले प्रचार गरेको ‘सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने’ सन्देश आजको समाजका लागि अझ सान्दर्भिक बनेको छ । “समाज सुधारमा बाल्यकालदेखि सक्रिय रहनुभएका महागुरुको जीवन नेपाली समाजका लागि स्थायी प्रेरणा बनेको छ,” उहाँले थप्नुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सबै जात, भाषा र संस्कृतिको संरक्षणमा गम्भीर रहेको जनाउँदै भन्नुभएको छ, “हामी संविधानअनुसार प्रदेशका भाषालाई सरकारी प्रयोजनमा प्रयोगमा ल्याउने तयारीमा छौं । भाषा र संस्कृति राज्यको पहिचान हुन्, त्यसको संरक्षण हाम्रो दायित्व हो ।”
महागुरु फाल्गुनन्दको शिक्षाबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो ।